आर.बी. हिमाली

१. झालर

“मारी काइको छिन–छिन ऐइडीका टोल
भदौ १५ गते लौडी पाइत साप्यो
साङी पाइत साप्यो
ऐइडी गादो पाड्यो
मार्काइ घाँणो लायो”

भदौ पन्ध्र गते नदीको खुट्टा भाँचिएर अब नउर्लने भएको थियो । बिस्तारै–बिस्तारै नदीको बहाव पनि घट्दै थियो । वनजंगल डाँडा काँडा सुख्खा हुन थाल्यो । शिकारीलाई शिकार खेल्ने सही समय आयो । शिकारी बिहानै नजिकैको वनमा गई रुइसको काँचो लौरौ काटेर आगोमा बेस्सरी पिरोल्यो र दरो लौरी बनायो । त्यसपछि त्यसमा साङो हाल्यो र आगोमा तताई बेस्सरी तिखो बनायो । शिकार खेल्न जाँदा पहाड हिमाल छिचोल्नु पथ्र्याे । जाडो धेरै हुन्थ्यो । त्यसैले उनको आमाले गादो तयार पारिदियो । त्यसपछि मार्कु कुकुरलाई घाँणो लगाएर अर्काे दिन शिकारको खोजीमा निस्क्यो ।

“झान मारीका खान तितरीको खोज
तितरीको खोज खेत हरायो ।
झान मारीका खान कुखुराइको खोज
कुखुराइको खोज खेत हरायो ।
झान मारीका खान काँकडैका खोज
काँकडैका खोज तिउडा हरायो ।
घोडरैका खोज चाँच हरायो ।
थारैका खोज डौणी हरायो ।
सुगरैका खोज बैलड्यान हरायो ।”

मार्कु कुकुरलाई तितरीको पछाडि लगायो । तितरीको खोज खेतमा हरायो । काँकडको खोज तिउडा हरायो । घोडरको चाँच, थारको डौँणी र सुंगुरको खोज बैतड्यान हरायो ।
यसरी दिनभरि डुल्दा पनि एउटा शिकार पनि हात नपरेकोले शिकारी निरास भयो । घरबाट पोको पारी ल्याएको सातु सामल खायो । त्यसपछि मार्कु कुकुर अगाडि आफू पछाडि–पछाडि ‘राउलेको’ (झालर) खोजमा निस्क्यो । हिँड्दा–हिँड्दा राउलेको स्वास्नी पानी खान नवाली (मुल) मा आएको थियो । दुवैको जम्काभेट भयो । यस्तो शिकारीले साङी हान्नै लागेको थियो । राउलेको स्वास्नीले भन्योः

“पुग्यो मारीका खान नालीको पानी
राउलेको स्वास्नी नवालीको पानी
मै जन मारै ऐडीया चेला (शिकारी)
झान मारीकाको खान, शिखरै पो झान
ठुलो ठामरो छ मेरो राउले गाणो
रूपसे ठुमरे छ मेरो राउले गाणो
शिखरै पो रन्छ, बुक्यालु चरन्छ ।”

हेर (ऐडीया) शिकारी चेला, मलाई मारेर तिमीहरूलाई कुनै फाइदा छैन । म त एकदम दुब्लो छु । पातलो छु । मेरो शरीरमा हड्डी–हड्डी बाहेक अरू केही छैन । बरु मलाई मार्नुभन्दा मेरो लोग्नेलाई मार । ऊ म भन्दा धेरै मोटो छ । मभन्दा राम्रो छ । शिखरमा गएर बुक्याल चर्छ । शिखरै बस्छ । एकदम बलियो छ । राउलेको स्वास्नीको यस्तो कुरा सुनेपछि ऐडीमा चेला राउलेको खोजीमा शिखरतिर हिँड्छन् ।

त्यसै बेला अर्थात् शिकारीहरू आएको एक दिन अघि राउेलेको आमालाई सपना भएछ । सपनामा राउले रगतै रगतले पोतिएको हुन्छ । राउलेको जाबरमा साङ्की गाभिएको हुन्छ । यस्तो सपना देखेपछि राउलेको आमाले भन्छः

“राउलीको जिया सपनु भैछ ,
राउलेको रन ठौर रकतको कुन्न ।
राउलेको जागर साङी झलके ।
आजको दिन घरै बसीयान ।”

त्यसैले आज छोरा त घरै बस । शिखरतिर चर्न नजा । तर राउलले आमाको भनेको कुरा टेर्दैन । अनि बिहानै शिखरतिर चर्न जान्छ । त्यसै बेला ऐडीया अर्थात् शिकारीहरू मार्नु कुकुरको घाणोको छिन–छिन–छिन आवाज सँगै शिखरमा पुुग्छन् । राउलेलाई साङी हानी मारिदिन्छन् । छोरा मारेको खबर राउलेको आमाले सुन्छ । धुरुधुरु रुन्छ । अनि शिकारीहरूलाई केही कुरा भन्छः

“नित्तै मेर राउले आफ्नू ठौर
आज मेर राउले बाउरंगे पाँण
शिखरैपो रन्थ्यो, बुक्यालु चरन्थ्यो
ओत न ओलानुले सुदै मारी दियो ।
घोडर, काँकडले त सोरु खाइको नाँस
मेर राउले पातलैको टुसा खान्थ्यो
नुवालीको पानी
ओत न ओलानुले खसदै भारी दियो ।”

राउलेको आमाले— ‘‘मेरा छोरा राउले सधैँ आफ्नो घरमा रहन्थ्यो । शिखरमा गएर चथ्र्याे । बुक्यालको बाक्लो घाँस खान्थ्यो । न कसैको विकान गथ्र्याे । न कसैको बारी खान्थ्यो । विनासिती तिमी ऐइडीयाहरूले मेरो छोरालाई मारिदियौ । तिमीहरू पापी हौ । घोडर, काँकडले त तिमीहरूको खेतो पातो (सोरु) बारी खान्थ्यो । तिनीहरूलाई मार्नु नि ! आज तिमीहरूले बिनालित्ती मेरी छोरा मारेर त्यसको मासु खाँदै छौ । तिमीहरू पापी हौ’’ यसो भनिदिइन् ।

कथार्थ ः आमा सबैभन्दा माथि हुन्छ । उसले आफ्नो सन्तानको कहिले पनि कुभलो चिताउँदैन । त्यसैले आमाको कुरालाई कहिले पनि नटेर्नु हुँदैन । अथवा आमाको कुरा काटेर कहिले पनि आफ्नो खुसी गर्नु हुँदैन । यदि राउलेले आमाको भनेको कुरा मानेको भए शिकारीको फन्दामा पर्दैनथ्यो, मर्दैनथ्यो तर उसले आमाको कुरा नमानेर ज्यान गुमाउनु प¥यो ।

२. कैलाबिर र झलुवाबिर

दार्चुलाको अपि हिमाल फेदीतिर लोकप्रचलित कथा ।

उहिलेको समयमा कुनै एउटा ओडारमा दाडेबिर (सुंगुर) दम्पति बस्थे । उनीहरुको बिचमा असाध्यै प्रेम थियो । दुवै हाँसीखुसी जीवन गुजारा गरिरहेका थिए ।

एक दिन दाडेबिरकी स्वानी गर्भवती भइन् । त्यसैले बइक (लोग्ने) आप्mनो स्वानी (स्वास्नी) को लागि मिठो मसिनो खानेकुरा खोज्न जङ्गलतिर लागे । साँझ अलिकति खानेकुरा बोकेर घरतिर फर्किन लागेको थियो । त्यसै बेला सिकारको खोजीमा भौतारिँदै गरेको झलुवाबिर (बाघ) सँग उसको जम्काभेट भयो । लगत्तै दुवैको बिचमा घमसान युद्ध भयो । झलुवाबिरले दाडेबिरलाई मारिहाल्यो ।

उता दाडेबिरकी स्वानी आफ्नो बइकको बाटो कुरिबसेकी थिइन् । राती अबेरसम्म पनि नफर्केपछि स्वानी बइकको खोजीमा निस्किइन् । अलि पर पुगेपछि उसले आफ्नो बइकको मृत्यु भएको सुइँको पाइन् र ह्वोक (शोक) मा डुब्दै घर फर्किन् ।

समय बित्दै गयो ।

एक दिन दाडेबिरकी स्वानीले एक चेलो (छोरो) र छ वटी टचेली (छोरी) लाई जन्म दिइन् । र आफ्नो एक थुनमा एक्लो चेलोलाई र बाँकी थुनको दूध चाहिँ छ वटी चेलीलाई पिलाउन थालिन् । यसरी एउटा थुनको दूध एक्लै खान पाएपछि त्यो चेलो एक दिनमा दोब्बरले हुर्कन लाग्यो । पाँच महिना पालेपछि दस महिनाको हुन लाग्यो । हुँदाहुँदा दस वर्ष दूध खुवाएपछि बीस वर्ष जत्तिको पो देखिन थाल्यो । एकदमै तागतिलो र साहसिलो भएपछि आमाले त्यसको नाम कैलाबिर राखीदिइन् ।

एक दिन घरमै भएको बेला कैलाबिरले आमालाई सोध्यो ः आमा, सबैका बुवाहरु छन्, तर मेरो बुवा चाहिँ खोइ ? मेरो बुवा को हो र कहाँ छन् ?

कैलाबिरको कुरा सुनेपछि आमाले भनिन् ः चेला, तेरो बाबा नै छैन ! तँ त आकाशबाट झरेको र जङ्गलबाट पलाएको थिस् ।

आमाको यस्तो कुरा सुनेपछि कैलाबिरलाई अचम्म लाग्यो । उसलाई आमाको कुरामा पत्यार लाग्न मुस्किल प¥यो । फेरि आमालाई सोध्यो ः यो कसरी सम्भव छ कि म आकाशबाट झरेको र जङ्गलबाट पलाएको ? यो कदापि सम्भव छैन !

बारम्बार कैलाबिरले आमालाई आफ्नो बाउको बारेमा सोधेपछि आमाले भनिन् ः सबै भन्दा पहिला म तेरो परीक्षा लिन्छु । यदि तँ परीक्षामा सफल भइस् भने म तँलाई तेरो बुवा कहाँ छ भन्नेछु, हैन भने भन्दिनँ ।

आमाको अह्राई कैलाबिरले ‘हुन्छ’ भन्यो ।

कैलाबिरको दुस्साहस देखेपछि आमाले भनिन् ः सबै भन्दा पहिला सल्लेरी पाखामा गएर सल्लाको खोटो शरीरभरि दलेस् । गाड (नदी) मा गएर ज्यानमा बालुवा दलेस् । त्यसपछि निगालो घारिमा गएर निगालो काटी शरीरभरि रोपेस् । अन्तमा आकाशको पानी तेरो शरीरमाथि पाँच थोपा पानी बर्सनु भन्दा पहिले बाइस जोडा देउलो (निगालो) काटेर बस्ने घर बनाई सक्नुपर्छ । त्यति गरिसकेपछि मात्र तेरो बुवाको बारे बताउनेछु ।

भोलिपल्ट आमाले लिएका सबै परीक्षामा कैलाबिर सफल भयो ।

चेलाको यस्तो बहादुरी देखिसकेपछि आमा गदगद भइन् र भनिन् ः तेरो बुवा त गैला पातल (घना जंगल) झलुवाबिरैले खाएको थियो ।

आमाको मुखबाट यस्तो कुरा सुनेपछि कैलाबिर झलुवाको खोजीमा निस्क्यो । केही पर पुगेपछि उसको भेट झलुवाबिरसित भयो । देख्ने बित्तिकै कैलाबिरले झलुवाबिरलाई युद्धको निम्तो दियो । झलुवाबिर तत्काल युद्ध स्विकार ग¥यो । कैलाबिरले पहिलो प्रहार झलुवाबिरलाई गर्न लगायो । तर झलुवाविरले इन्कार्दै ऊ बालक भएकोले पहिलो प्रहार कैलाबिरलाई नै गर्न लगाए । झलुवाबिरको कुरा सुन्ने बित्तिकै कैलाबिरले पहिलो प्रहार गरिदियो । पहिलो प्रहारमै झुलुवाको खुट्टा काटिदियो । दोस्रो प्रहारले उसको घँुडा काटिदियो । तेस्रो प्रहारले कम्बर र चौंथो प्रहारले घाँटी नै छिनाइदियो । अन्तिम प्रहारले आफ्नो बाबाको प्रतिशोध पूरा गरिछाड्यो ।

कथार्थ ः सुंगुरको ‘बाद’ (छाला) बाक्लो हुनु र छालामा सधैँ बालुवा टाँसिनुको कारण कैलाबिरको आमाले लिएको परीक्षाको फल हो भन्ने विश्वास गरिन्छ । अर्को कुरा सुंगुर जुन बाटो आउँछ, त्यही बाटो फर्किन्छ । त्यसैले सुंगुर हिँडेको बाटोमा कदापि पर्नु हुँदैन भनिन्छ । यदि परिहाल्यो भने जसरी बाघलाइ छेदेको थियो, त्यस्तै छेदन गर्छ भन्ने जनविश्वास अपि फेदीका बस्तीहरुमा यद्यपि पाइन्छ ।

—हिमालीको ‘आम्मा’ कवितासंग्रह छापिसकेको छ । उनी कीर्तिपुरस्थित त्रिविमा समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत् छन् ।

तपाईको प्रतिक्रिया