–अभय श्रेष्ठ


अँध्यारो सडकमा एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी लर्बरिँदै उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट दस, बाह्र सट फोटो खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो ।
महानुभावहरू, म थिएँ लोपोन्मुख जङ्गली जनावरको श्रेणीमा पर्ने अनौठो पत्रकार जसलाई समयले सके दुनियाँकै विरक्त पात्र साबित गरिदिएको थियो । खगेन्द्र थापामगरको नाम संसारकै होचो मान्छेका रूपमा गिनिज बुकमा लेखाउने प्रयास हुँदै थियो । संसारकै सबैभन्दा विरक्त मान्छेका रूपमा मेरो नाम लेखिन सक्छ कि सक्दैन ? प्रश्नको सिरुपाते खुकुरी बारम्बार मनको गमलामा उम्रिरहन्थ्यो ।
समाचारको खडेरी लागेको कति दिन भइसकेको थियो । सम्पादक बारम्बार चेतावनी दिइरहेको हुन्थ्यो, एट लिस्ट डेली एउटा न्युज, विक्ली स्कुप न्युज ।
खासमा मलाई बिट नै यस्तो दिइएको थियो जसमा नियमित समाचार आउन सम्भव थिएन । अलि दुःखी मनको दोधारकै पनि खेल होला, कैयन् हप्तादेखि म समाचार भन्नलायक समाचार दिन असफल भइरहेको थिएँ ।
‘किरण कपाली, के छ आज तिम्रो न्युज ?’ सम्पादकले सोध्यो ।
‘सर आज एउटा साहित्यिक कार्यक्रमको न्युजमात्र छ । त्यसैलाई इलाबोरेट गरेर लेखूँ कि ?’ भित्रभित्र काम्दै, बाहिर नरम हुँदै मैले भने ।
‘वाहियात! त्यस्तो न्युज लेखेर के हुन्छ ? कसले पढ्छ ?’
‘सर……..’
‘मिस्टर, पत्रकार बन्न त्यति सजिलो ठान्या छौ ? घरै बस्ने मन छ कि क्या हो ?’
‘सर….’
‘तिम्रो लेखाइ पनि एकदमै ‘पुअर’ छ, अलि मिहिनेत गर है, नत्र गाह्रो पर्छ’, सहायक सम्पादक सुशान्त शर्माले भन्यो । यो सुशान्त मभन्दा जुनियर भएर पनि हात मलेको भरमा बढुवा भएर मेरो हाकिम भइसकेको थियो । अब म यसलाई के गरौँ ?
‘लिभ, लिभ राइट नाउ । जागिर खानु छ भने भोलिसम्म मलाई एउटा घच्चीको न्युज चाहिन्छ । अन्डरस्ट्यान्ड ?’ सम्पादकले भन्यो ।
‘येस सर ।’
‘येस’ त भनिदिएँ । यस्तो प्रश्नको निर्विकल्प जवाफ सायद त्यही हुन्थ्यो । तर, त्यस्तो कुनै समाचार दिमागमा आइरहेको थिएन । म उठेँ । उठ्नैप¥यो युद्धमा उत्रनु छ भने । लगत्तै इन्टरटेनमेन्ट रिपोर्टर कुमारी उपाध्याय भित्र पसी । सम्पादक मुसुक्क हाँस्यो । कुमारी ‘द भर्जिन’ले मुसुक्क विनिमय गरी । देख्छु, सम्पादक निकै उत्साहित छ ‘भर्जिन’प्रति ।
–लुकिङ स्मार्ट । के छ आज ?
–झरना थापाको हट इन्टरभ्यू, सर ।
कुमारीले प्रिन्टकपी सम्पादकसामु राखिदिई । सम्पादक मुसुमुसु हाँस्दै पढ्न थाल्यो । अन्तर्वार्तामा एउटा प्रश्न पहिलो सेक्स अनुभवबारे थियो । झरनाले निकै उत्तेजक जबाफ दिएकी थिइन् । सम्पादकले कुमारीतिर मोहित मुस्कान फ्याँक्यो । कुमारी स्मित मुस्कानसहित अगाडि उभिएकी थिई । सम्पादकले ‘एक्सिलेन्ट’ भन्दै कुमारीसित हात मिलायो । दुवै खित्खिताएर हाँस्न थाले । सुनेर दुवैको एकपल्ट हत्यै गरेर हिँडिदिऊँजस्तो घृणाको गोली मनको बन्दुकमा भरिएर आयो ।
म त्यहाँबाट निस्किएँ । हराएको सामानजस्तै समाचार खोज्न निस्किएँ भन्नुपर्ला । भोलिसम्म सम्पादकलाई एउटा ‘सेलेबल न्युज’ बुझाउनु छ । छैटौँ महिनामा मुस्किलले तलब पाइन्छ तैपनि जागिर हातको माछाजस्तै चिप्लेला भन्ने डर छ । प्रकाशकको दबाबमा सम्पादक रिपोर्टर कटौती गर्न अनेक निहुँ खोजिरहेछ, के गरूँ ? त्यसो त पहिलापहिला मैले ब्रेकिङ न्युज प्रशस्त गरेकै हुँ । तिनको राम्रै चर्चा पनि भएको थियो, मैले भन्नुपर्दा । अरूले नभन्नुमा मेरो दोष छैन । तर, सम्पादकले कहिल्यै मलाई प्रोत्साहन दिएन । उसको ध्यान सदैव पेज थ्री रिपोर्टरहरूले ल्याएको इन्टरटेनमेन्ट न्युज र ग्लेमरस तस्बिरमा मात्र हुन्थ्यो ।
‘सुन त, तिम्रो फुर्सद कहिले छ ? अलि फुर्सद निकालेर सूर्य चुरोटको मालिकसँग अन्तवार्ता गर न ! मैले मान्छे पठाइदिन्छु भनेको छु । सार्वजनिक ठाउँमा धुम्रपानविरुद्ध सरकारले ल्याउन लागेको ऐनबारे उनी बोल्न चाहन्छन्’, सेभ द चिल्ड्रेनमा काम गर्ने दुइटी केटीलाई सुनाएर लिफ्टमा सुशान्त शर्माले आदेश दियो । अब म यसलाई के गरौँ ?
एक मन त लाग्यो, सम्पादक, समाचार संयोजक, सहायक सम्पादक र चिफ रिपोर्टर सबैलाई जनही पन्ध्र लात्ती हानेर हिँडूँ । त्यसो गर्न भोलिदेखि बेरोजगार बन्न तयार हुनुपथ्र्यो । त्यस्तो कल्पनाले मात्र पनि मलाई कहाली लागेर आउँथ्यो । परिवारमा मुटुरोगी आमा र किशोरी बहिनीबाहेक कोही थिएनन् । बीस वर्षअघि एउटा दुर्घटनामा बाको निधन भएको थियो जतिखेर म नाबालक थिएँ । जाती नै भयो । एक दिन मर्नु त छँदै थियो, बाँचेको भए यतिजेन्ल उहाँ सामाजिक यातनाले बारम्बार मर्न बाध्य हुनुहुन्थ्यो । दुःखको कुरो, उहाँसँगै एउटा विद्रोहको पनि मृत्यु भएको थियो । मर्दापर्दा लगाइने सबैखाले जातीय परम्परागत काम विद्रोहस्वरूप बाले त्यागिदिनुभएको थियो । त्यसले गर्दा हाम्रै समुदायमा उहाँ ध्रुवताराजस्तै एक्लो हुनुपरेको थियो । उहाँ सिकर्मी काम गर्नुहुन्थ्यो (होइन, जान्नुमात्र हुन्थ्यो । घरभित्र छिरेर गर्नुपर्ने भएकाले एउटा दलितलाई काम दिन कोही तयार हुन्नथ्यो) । थोरै जमिन पनि तल्सिङ र दलाल मिलेर हामीलाई मोहियानी भागसमेत नदिई बेचिदिएका थिए । बालाई यदाकदा पाखामा ठूल्ठूला रूख चिरानी गर्ने काम दिइन्थ्यो । उहाँ भयङ्कर फाली भएको जङ्गी आरो तान्नुहुन्थ्यो । एक दिन मचान भत्कियो । काठले थिचिएर कति सजिलै उहाँको इहलीला सकिएको थियो !
बाको कुरा एकादेशको कथा भइसक्यो ।


सहर आएपछि मेरा कविता र पाठकपत्र छापिदिने सम्पादकले एक दिन सोध्यो, पत्रकार बन्छौ ? त्यो बेला खुसीका ताराहरू कति उडे, बयान शब्दमा कसरी गरूँ ? अर्को आकाश नै चाहिएलाजस्तो भएको थियो ।
दुर्भाग्य ! चाँडै नै एक दिन सम्पादक निकालियो । चन्द्रमा कसैको पनि सधैँ दाहिना रहँदैन भन्छन् । नयाँ सम्पादकसँग किन हो मेरो ग्रह ठ्याक्कै मिल्दैनथ्यो । समाचार र विचारको ठाउँमा ऊ एडभर्टोरियल छापिदिन्थ्यो जुन प्रकाशकलाई ऋण तिरेबराबर हुन्थ्यो । त्यसै सम्पादक बन्न पाइन्छ ? न्याय, मानवीय मूल्य, संवेदनाजस्ता कुरा कसैले गरे घृणाले त्यसैत्यसै उसको मुख बिग्रन थाल्थ्यो ।
हालसालै मेरा दुई ब्रेकिङ न्युज डम्प गरिएका थिए । एउटामा मन्त्रीकै संस्था बालबालिका बेचबिखनमा संलग्न भएको भण्डाफोर गरिएको थियो । अर्कोमा मन्त्री स्वयम् वेश्यालयबाट भाग्दै गरेको तस्बिरसहित समाचार थियो । सोचेको थिएँ, यी समाचारले मेरो क्यारियरलाई सफलताको सगरमाथा पु¥याउनेछन् । भोलिपल्ट अखबार हेर्छु, समाचार कतै छैन । हिस्स भएँ । सम्पादकले उल्टै थर्कायो, ‘लेख्नुअघि सल्लाह गर्नुपर्दैन ? रिपोर्टर भएर के छापिन्छ, के छापिन्न, बुझ्नुपर्दैन ?’
कस्तो समाचार लेख्नुपर्ने हो ? अब त म दुविधामा पर्न थालिसकेको थिएँ । जागिर कसरी जोगिएला ? म यस्तै सोचेर हिँडिरहेको थिएँ । न्युरोड गेटमा एक नवयुवतीसँग बेस्सरी ठोक्किएँ । मैले सरी भनेँ । त्यसले मलाई ‘इडियट’ भनिदिई । (सम्पादकको आदेशभन्दा बरु अपरिचित केटीकै गाली ठिक छ !) ओभरब्रिजनिर सडकमा थुप्रै किताब बिक्रीमा राखिएका थिए । महँगो भए पनि त्यहाँ मैले निकोलाई गोगोलको ‘ओभरकोट’ किनेँ । झुम्पा लाहिरीले ‘नेमसेक’ मा गरेको चर्चाले लामो समयदेखि म यसको खोजीमा थिएँ ।
सडकमा कपडा, जुत्ता र सबै सामग्री फिँजाइएका थिए । सोचेँ, सडकमै सबै सामग्री पाइन्छन् भन्नेबारे एउटा समाचार बनाऊँँ । त्यसका लागि धेरै दुःख पनि गर्नुपर्दैनथ्यो । त्यसलाई कथा बनाएर रोचक शैलीमा लेखे पुग्थ्यो । त्यसमा म सफलै हुन्थेँ । सोचेँ, डाँका सम्पादकले यस्तो समाचार मेरै अगाडि च्यातेर डस्टबिनमा मिल्काइदिनेछ । यस्तो भयो भने त मर्नु भएन ?
समयचक्र खबरपत्रिकाकी रमला थापा भेटिई । कुनै दिन यसलाई मैले पूरै दुई महिनाको तलब सापटी दिएको थिएँ । किन ढाँट्नु, त्यसमा अलिकति मेरै स्वार्थ थियो । म त्यसका आँखामा मेरी प्रेमिका बन्ने कम्तीमा ९० प्रतिशत सम्भावना देख्थेँ (अँ, यस्तो समाजमा दलित भएर कुलीन अतीत भएकी उच्चजातीय केटीसँग यस्तो सपना देख्ने दुस्साहस मैले कसरी गर्न सकेँ ? प्रस्ट थियो, उसैले बारम्बार प्रेममय एसएमएस पठाएर मलाई यो ढोका खोलिदिएकी थिई ।) सम्भावना त ‘खोलापारि मै माया लाउँदिनँ’ भनेर बिदा भयो, चाँडै नै त्यसले एउटा सुधो केटो फसाई भन्ने घुइरोघुइरो सुनियो, बरु आफ्नै दानीपनाले जिन्दगीमा कत्रो हाहाकार मच्चियो, बयान के गरूँ !
केही दिनमै तिरिदिने वाचा गरेकी थिई । पैसा हात परेपछि पूरै दुई वर्ष बेपत्ता भई । मेरो पाखुरा समाएर त्यसले सोधी, ‘सञ्चै हुनुहुन्छ ?’ सापटी लिएको त तिर्दिन पक्का छ, क्या मीठो बोल्छे भने…, म आफैँलाई भन्न थालेँ, साढे सातको दशा बेलैमा पन्छाइहाल् बाबु ! खल्तीमा तीन सय रुपियाँ बाँकी छ, बैङ्कमा मुस्किलले दुई हजार ब्यालेन्स छ, तलब चार महिनामा एकपल्ट पाइन्छ, अर्को ऋण नपाउन्जेल त्यसैबाट बाँच्नु छ । कसैले केही मागे हार्न नसक्ने बानीले डुबाइरहेको छ । म दिक्दार थिएँ । उसले चिया खाने अफर गरी । वाचा गरेर ऋण नतिरेकोमा जसको कठालो समाउने नैतिक हक मलाई छ, त्यसैसँग म थर्थरी कामिरहेको थिएँ । ऊ भने निर्धक्क छे । कतै मै त यसको ऋणी होइन ? होइन, ऋणी त यही हो ! काम्ने क्रम अझै जारी छ । थुइक्क, कस्तो जिन्दगी पाइएछ !
जरुरी काम छ भनेर म उम्किएँ । उम्किन सकेकामा आफैँलाई बधाई दिएँ ।
रत्नपार्कको एउटा बेन्चमा बसेर सुस्ताउन थालेँ ! नजिकै एक जोडी प्रेम प्रदर्शनमा मस्त थिए । अरू केही राजनीतिक गफ गरिरहेका थिए । एउटी केटी आई । खास राम्री होइन तर आकर्षक । त्यसले भनी, ‘जाने हो दाइ ?’ म अलमल्ल परेँ । केटी मुसुक्क हाँसी । कुरा बुझियो । त्यसो भए यसले किन ‘दाइ’ भनेकी ?
‘कन्सेसन पनि दिन सकिन्छ, विद्यार्थी हो भने’, साउतीको स्वरमा नसालु मुस्कान छर्दै भनी, ‘अचेलको चलन !’
‘म विद्यार्थी थिएँ ।’
‘थिएँ ? त्यसो भए छु भन्ठान्नोस् । सदर गरिदिउँला नि हुन्न ?’
एक्कासि मलाई ठूलै कुरा फेला परेझैँ लाग्यो । कृपया मलाई गलत नठान्नुहोला । अखबारका लागि यसैसँग नगरबधू–संवाद गर्ने लोभले मनमा पखेटा फडफडाएको थियो । सम्पादकलाई मनपर्ने कुरा यस्तै थियो त म के गरूँ ? म केटीको पछि लागेँ ।
मैले ऊसँग अखबारका लागि अन्तर्वार्तामात्र गरेको थिएँ । फर्कँदा फी दिन चाहेको थिएँ । उसले मानिन । हामीजस्ताको जिन्दगीमा खल्ती रित्तिनुजस्तो ठूलो दशा अरू केही हुँदैन । धन्यवाद, उसले मलाई त्यस दशाबाट जोगाइदिएकी थिई । खबरदार नैतिकताका ठेकेदारहरू, देशमा इमान पूरै बाँझो पल्टिसकेको छैन । त्यो कम्तीमा एउटी वेश्यासँग चाहिँ छ है !

डेरा आइपुग्नै लाग्दा अँध्यारोमा एउटा दृश्यले म अचम्भित भएँ । एउटी स्कुले किशोरीलाई कारले ठकर दिएको थियो । किशोरी लडी तर ढलपलाउँदै उठी । मैले कारको नम्बर टिपेँ, फ्लास प्रयोग गरेर ठक्कर दिँदै गरेको कार र किशोरीको तस्बिर खिचेँ । सहारा खोज्दै किशोरी मतिर आउँदै थिई । कारले फेरि जोडले ठक्कर दियो र टाप कस्यो । विचरी रगतपच्छे भएर सडकमा छटपटाउन थाली । त्यसलाई अस्पताल पुरयाउनेतर्फ मेरो ध्यानै गएन । घटनाको सुरुवातदेखि पछिसम्म मैले दस, बाह्र सट तस्बिर लिएँ । रगतपच्छे केटी छट्पटाइरहेकी थिई । मान्छे जम्मा भए । प्रहरी आयो । म भने अफिसतिर दौडिएँ । मसँग अब एउटा स्कुप न्युज थियो ।
तस्बिरसहितको विवरण सुनेपछि सम्पादकले भन्यो, ‘गुड न्युज । राइट अ प्लेफुल स्टोरी । फस्ट पेज बक्स एङ्कर ।’
समाचार लेख्न म कम्प्युटरअगाडि बसेँ । मैले केटीको हुलिया लिएको थिइनँ । प्रहरी कार्यालयमा सोध्न फोन डायल गरेँ। एक्कासि प्रहरी कार्यालयबाटै मोबाइलमा फोन आयो । फोन अपराध अनुसन्धान शाखाको डीएसपी मेघराज सिलवालको थियो । खबर पाएर म स्तब्ध भएँ । आफैँले खिचेको तस्बिर गहिरेर हेरेपछि एक्कासि म मूर्तिवत् भएँ । मेरो चेत टक्क कतै अडिएको थियो । डेस्क सम्पादक आफ्नो कक्षबाट समाचार छिटो लेखिसक्न दबाब दिइरहेको थियो ।
बेलैमा अस्पताल पुरयाइएको भए घाइते किशोरी बाँच्न पनि सक्थी । अत्यधिक रक्तस्रावले अस्पताल पुग्नेबित्तिकै उसको मृत्यु भएको थियो । कथाको सुरुवातमा एउटा फोटो पत्रकारको प्रसङ्ग उठेको थियो । महासय, त्यो संवेदनाहीन पात्र (होइन यन्त्र) मै थिएँ । विपत्तिका बेला आफन्तलाई देखेर किशोरी सायद मतिर आएकी थिई । म कसरी यस्तो भएँ ? माफ गर्नुस् ! एक, त्यो बेला अलिअलि अँध्यारो थियो । दुई जागिर जोगाउने धुनमा म पूरै अन्धो भएको थिएँ । तीन, आफैँले खिचेको तस्बिर मैले राम्ररी हेरेको थिइनँ । यस खबरलाई अब म कहर मानूँ कि जहर ठानूँ ?
यी शब्द आँसुले लेख्दै गर्दा मुटुमा गाँठो परेको कुरा अब तपाईँलाई कहन्छु, मारिएकी किशोरी ट्युसनबाट डेरा फर्कँदै गरेकी ……. मेरी बहिनी थिई ।
समाप्त

तपाईको प्रतिक्रिया