धरान । स्थानीय निकायकाे चुनावी नतिजा जसरी धरानमा अनपेक्षित निस्किएकाे थियाे यस पटककाे प्रतिनिधि सभाकाे चुनावमा पनि स्वतन्त्र पार्टीलाई अत्यधिक भाेट दिएर धरानेहरूले पुराना दलहरूलाई सवक सिकाउन लागेकाे संकेत मिलेकाे छ । धरानको २० वटा वार्डकाे मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शरिन तामाङले जसपाका हेवि वेट उम्मेद्वार अशाेक राईलाई झिनाे मतले अग्रता दिइरहेकी थिइन।  गणना हुदै गरेका वराहक्षेत्र ,रामधुनी जस्ता ग्रामीण क्षेत्रकाे भाेट निर्णायक  हुने मानिएको छ। अशोक राई र शरिन बीच थोरै थोरै मतले अघि पछि भैरहेको अवस्था छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकि प्रतिनिधि सभा उमेदवार  शरिन तामाङबारे जानकारी मिलोस भनेर उनको चुनावी वक पत्र यहाँ प्रस्तुत छ।

आदरणीय सबैमा मेरो अभिवादन !

म गोमा तामाङ तर मेरो कर्मको नाम शरिन ख्युङ्ग्बा तामाङ  हो। मैले निस्वार्थ कर्म गरेर, दलाल, भ्रष्ट, फटाहहरूसंग दसौं बर्ष लडेर कमाएको नाम हो शरिन। 
शरिन आखिर को हो ? कहाँबाट आइन र किन तपाईहरूको आवाज संसदमा उठाउन प्रतिनिधि सभा सदस्य बन्न चाहन्छिन ? यो कुरा मैले तपाईहरूलाई बुझाउनु पर्छ र तपाईहरूले पनि यो कुरा बुझेर शरिनलाई सहयोग र समर्थन गर्नुपर्छ।

हाम्रो समाजमा हुने गरेको महिला हिँसा, विभेद, अन्यायलाई धेरै नजिकबाट हेरेकी, बुझेकी म शरिन आफुलाइ अन्याय हुँदा आफ्नो स्वतन्त्रताको लागि आफै लड्ने हिम्मतिलो, संघर्षशील , ईमानदार, निस्वार्थ मानवीय भावनाले भरिएकि  एक देशभक्त  श्रमिक हुँ। दुइ छाक राम्ररी खान, बच्चाहरूलाई राम्रो शिक्षा दिन र बच्चाहरूकै भविष्यको लागि म पनि बैदेशिक रोजगारको लागि ईजराईल गएर अरुले झैं दुख गरें ।

राजनैतिक दलका सेटिंगमा संचालित म्यानपावरबाट ठगिएका, अन्यायमा परेका, अलपत्र परेका र बेचिएका नेपाली दाजु, भाई, दिदीबहिनीहरूको बिचल्ली भएको देखेर मैले आफुले कमाएको सबै पैसा ति बिचल्ली भएकाहरूको सहयोग र उद्वारमा  खर्च गरें। इराक, साउदी, मलेसिया, कुवेत,ओमन, सिरियामा बेचिएका, अलपत्र परेका, बिरामी परेका दर्जनौ युवा तथा चेलीहरूलाई नेपाल झिकाइ सकुशल उद्वार गर्दै ठग एजेन्ट म्यानपावरका दलालहरूबाट ठगिएको पैसा असुलउपर गराई कानुनी कार्यवाही गर्न पनि सफल भएँ ।  यी कार्यहरूमा मलाई साथ दिने सबैलाई म हृदय देखिने आभार व्यक्त गर्न चाहान्छु।

नेपालमा बिनासकारी भुकम्प जाँदा,  इराकबाट शव नेपाल झिकाउँदा, बुबाको अपांगताले गर्दा आर्थिक अभावको कारण नर्सिङ पास गरेर पनि  कलेजबाट सर्टिफिकेट नपाउँदा,  छोरिले बुवालाइ कलेजो प्रत्यारोपण  गराउँदा, दलित बिपन्न परिवारहरुको घरहरू निर्माण,खाद्य सामाग्री वितरण गर्दा, स्वर्गवास भएका श्रीमानको काजक्रिया गर्दा लगायत अनगिन्ति सामाजिक कार्यमा आर्थिक संकलन र सहयोग गरेको छु। भुकम्प पछिको जाडो महिनामा चिसोले कठाङ्ग्रीएका जनतालाइ सहयोग गर्नुको सट्टा रास्ट्रपतिद्वारा आफ्नो पहिलो महिनाको तलब पशुपतिनाथको आर्थिक कोषमा जम्मा गरेर दुखि पिडित नेपालीहरूको उपहास गरेको बेला एक प्रबासी श्रमिकको रूपमा रहेको मैले आफ्नो एक महिनाको तलब १,३०,०००/- आर्थिक सहयोग गरेर चिसोले कठाङ्ग्रीएका भुकम्म्प पिडितलाई राहत सहयोग प्रदान गरेको थिएँ।
यहि दसैंमा सबैजना रमाइलो गरिरको बेला मैले २ जना चेलीलाई खाडी मुलुकबाट उद्वार गरि नेपाल झिकाएर सहयोग गरेको थिएँ। यसले शरिन को हो, शरिनले के गर्यो, शरिनले के गर्न सक्छ भन्ने प्रस्ट हुन्छ।

न्याय मरेको यो देशमा आवाज बिहिनहरूको आवाज हो शरिन। तमाम किसिमका अन्याय अत्याचार, बेथिति विसंगति, ठग दलाल भ्रष्टहरूसंग लड्न मलाई  ससक्त ठाउँ चाहिएको छ, जनताको म्यान्डेट चाहिएको छ, अधिकार सम्पन्न हात चाहिएको छ,  जसको लागि म प्रतिनिधिसभा सदस्य पदको लागि लड्दै छु। म र म जस्ता हिम्मतिलो, संघर्षशील, इमान्दार , निस्वार्थ, मानवीय भावनाले भरिएका देशभक्त सांसदहरूसंग सहकार्य गर्दै आगामी पाँच बर्षमा राजनैतिक दलको आडमा सेटिंग मिलाउदै देश  लुट्न पल्केका जो कोहीलाई पनि नग्याउने छु। देस लुटुवाहरूलाई पाता फर्काएर जनता सामु ल्याउने छु। राजनैतिक कार्यकर्ताहरूको भर्तीकेन्द्र बनाएको सरकारी शिक्षा, स्वास्थ्य र सरकारी कार्यालयहरूलाई राजनीति मुक्त बनाउने कठोर कानून नबने सम्म र त्यसलाई कार्यान्वयन   नगरेसम्म म चुप लाग्ने छैन। गुणस्तरीय सर्वशुलभ शिक्षा र स्वास्थ्यको प्रत्याभूति गराई सर्वसाधारण जनतालाई महँगो प्राईभेट स्कूलमा बच्चा पढाउन र प्राईभेट अस्पतालमा उपचार गराउन बाध्य बनाउने सबै संरचनाहरू तोड्ने छु।  बच्चाको भविष्य र परिवारको सुखको लागि बिदेशीन बाध्य हुने स्थिति फर्काउन स्वदेशमै रोजगारको वातावरण नबने सम्म राजनीतिक दलका दलाल मार्फत खोलिएका म्यानपावरहरूबाट ठगिएका, अलपत्र पारिएका, बेचिएका  सबैलाई राज्यबाटै उद्वार  गरि पिडितलाई सम्मानजनक क्षतिपूर्ति दिलाएर त्यस्ता म्यानपावरहरूलाई जेलमा कोच्न हर सम्भव प्रयास गर्ने छु।

२०४६ सालदेखि अहिलेसम्म सबै नेता, तिनका आसेपासेका देश बिदेशमा रहेको श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरि तिनीहरू सबैलाई जेल कोच्न, राष्ट्रघाती असमान संधीहरू पुनारालोकलन गरि देशको सम्मान र सार्वभौमिकताको रक्षा गर्न, नेपालीहरूलाई संसारै भरि स-सम्मान बस्न सक्ने वातावरण बनाउन नसुती नसुती काम गर्ने छु, आफु पनि चुप लाग्ने छुइन र जनतालाई पनि चुप लाग्न दिने छुइन।

पत्रकार आनन्द श्रेष्ठ र शरिन तामाङ

अन्त्यमा व्याक्तिगत रूपमा गरेको कामलाई नीतिगत रूपमा प्रभावकारी बनाउदै देशका सबै ठग र दलालहरूको पत्तासाफ गर्न सांसद भएर सर्वशुलभ गुणस्तरीय शिक्षा, स्वास्थ्य, स्वदेशमै रोजगारीको वातावरण बनाउन, बैदेसिक रोजगारलाई सुरक्षित र सम्मानजनक बनाउन, बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई राजनीति र भ्रस्टाचार मुक्त बनाउन, सुनसरी क्षेत्र १ लाई शैक्षिक, धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न, युवाहरूलाई लागु पदार्थको कुलतबाट जोगाउन, देशलाई दिर्घकालिन असर पार्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दा लगायत समाजमा देखिएका बेथिति, विसंगति, लैंगिक असमानता, विभेद र यौन हिँसा विरुद्ध आवाज बुलन्द गर्न म शरिनलाई एक पटक मौका दिएर हेर्नु हुनेछ भन्ने विश्वास लिएकी छु। पुराना पार्टीका पुराना अनुहारलाई पटक पटक जिताएर पटक पटक  धोका पाई सकेका सुनसरी १ का जनताले यस पटक काम गरेर प्रमाणित भई सकेका नयाँ विचार र नयाँ अनुहारलाई जिताउनु हुनेछ भन्ने आशाका साथ सबैले भनौ मंसिर चार ठग-दलालहरूको हार ! देशप्रेमी स्वतन्त्र पार्टीको सरकार !!  मंगसिर ४ गते प्रत्यक्ष र समानुपातिकमा चुनाव चिन्ह घन्टीमा भोट हाली म शरिन तामाङ  र राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराई देशका भ्रष्टाचारीहरूको टाउकोमा घन्टी बजाउँ।
जय देश जय स्वाभिमान !

शरिन तामाङ र पत्रकार आनन्द श्रेष्ठ संगको कुराकानी हेर्न तलको भिडियो क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया