नरेन्द्र गुरुङ (अरेन्द्र)


ङ्हि ह्युलरि मुबा…. आगुई ह्युलरि मुवा तमु मै तानलाई हयुई ल्हो ल्होसारै आँसिमाला….

गुरुङ जातिहरुको महान पर्व नयाँ वर्ष ल्हो फेरिने दिनलाई ल्होसार / ल्होछार भनेर मनाउने गरिन्छ । यो पर्वलाई गुरुङ समुदायले बिभाजित भएर आ-आफ्नै तरिकाले मनाएता पनि पुष पन्ध्रलाई विशेष रुपमा हेरिने गरिन्छ।


परदेशी भुमिमा समय,छुट्टी र स्थानको कारण पुष १५ मै मनाउन नसके पनि यसको अगाडि पछाडि गरेर कार्यक्रम आयोजना गर्ने गरेको पाइन्छ । यो साल गुरुङ (तमु) जातिको क्यालेन्डर अनुसार २६०७ औं बिरालो बर्ग (ह्युई ल्हो) मनाइदैछ। हङकङमा बसोबास गर्ने नेपालीहरु मध्ये करिब एक तिहाई जनसंख्या गुरुङ जातिले ओगटेको छ । हङकङमा करिब दुई दर्जन जति गुरुङ संस्थाहरु अस्तित्वमा छन् जसमा ठुला गुरुङ संस्था देखि गाउँ टोल,धार्मिक तथा दाजुभाइ खलकका संस्थाहरु रहेका छन् ।


धेरै साल देखि गुरुङ जातिले हङकङमा संयुक्त रूपमा  ल्होसार/ल्होछार मनाउने पहल धेरै पटक गरेको हो तर सफल नभई रहेको अवस्था छ। कोभिड १९ को कारण केहि साल यतादेखि ल्होसार स्वतन्त्र ढंगले  मनाउने वातावरण बनेको थिएन तर यस पटक हङकङ सरकारले कोभिड १९ संबंधी जारी कडा नियमलाई  केहि खुकुलो पारिएका कारण बिरालो बर्ग, हि ल्होसार / ल्होछार पर्व आ-आफ्नै तरिकाले धुमधाम मनाउने वातावरण बनेको छ । प्रायः सबै संस्थाले आफ्नो कार्यक्रमको घोषणा गरिसकेको छ ।
यहि डिसेम्बर महिनाको २५ तारिख आइतबारदेखि जनवरी महिनाभरी हङकङमा रहेका सबै नेपाली रेस्टुरेन्टहरु पुर्ण रूपमा बुकिङ भैसकेका छ्न ।



डिसेम्बर २५ तारिख आइतबार  तमु समाज हङकङले लामागुरु,चिवा पच्यु र घ्याब्रीहरुको पुजा तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित दिनको १ बजे देखि ईन्डिया क्लब जोर्डनमा ल्होसारको शुरूवात गरेको थियो । कतिपय ठुला बिबिक्यु स्पोटहरु बन्द भएपनि बिबिक्यु समेत खान मिल्ने विभिन्न रमाइलो  खेलकुद अनि निशुल्क  स्वास्थ्य चेकप कार्यक्रम पनि सोही स्थानमा तमु समाजले राखेको थियो । सोही दिन अपरान्ह ३ बजे मंकिहिलमा छेलो प्रतियोगिता गरेर साँझ ईन्डिया क्लबमा एक समारोह बिच प्रतियोगितमा बिजय भएकाहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो  ।


  पुर्वीय भेगबाट आएर हङकङ बसोबास गरेका गुरुङहरुको संस्था प्रदेश १ गुरुङ समाज हङकङले पनि ३१ डिसेम्बर शनिबार  ब्लु ओसेन रेस्टुरेन्टमा साँझ ५ बजेदेखी ल्होसार कार्यक्रम तथा भेटघाट साथै न्यु इयर इभ कार्यक्रम सहित मनाउदैछ भने गुरुङहरुको पुरानो संस्था तमु ट्यो हुलले पनि बिशेष कार्यक्रमहरु सहित  ब्लु ओसेन रेस्टुरेन्ट मै १ जनवरी २०२३ का दिन साँझ ४ बजे देखि ल्होछार कार्यक्रमको आयोजना गर्दैछ।


यसैगरी गुरुङहरुकै धार्मिक संस्था तमु प्येल्हु संघले पनि २०२३ जनवरी १ तारिख  बिहान १० बजे देखी बेलुका १० बजेसम्म जोर्डन स्थित इण्डिया क्लबमा  बिहान खेगीहरु पच्यु चिवा क्ल्हेप्री ज्युहरु बाट छ्योपा त्हे र थासो त्हे गर्ने र दिनको ११:३० बजे देखी रुपा लगाउने कार्यक्रम सहित मनाउदै छ । त्यस्तै दाजुभाइ खलक ,गाउँ तथा जिल्ला स्तरीय संस्थाहरुले पनि आ-आफ्नो कार्यक्रम चेलीबेटी खुवाउने जनवरी महिना भरिनै राखेका छन । सदा मंकिहिलको डाडामा मनाउदा, हुनेले दिल खोलेर खर्च गर्ने, नहुनेले सहभागी जनाउदा पनि हुने स्थिति थियो तर यसपटक  कोरोनाका कारण  रेस्टुरेन्ट जस्तो सानो ठाउँमा खुम्चिन पुग्दा मान्छेको टाउको गनेर पैसा लिने हुदा त्यति भव्य जनसहभागिता नहोला भन्ने अनुमान गरिएको थियो । तर त्यसको बिपरित तमु समाज हङकङलाई  ल्होसारको लागि भनेर शुभ चिन्तक ज्युहरुले २ लाख हङकङ डलर सहयोग गरेको देख्दा यसपटकको पर्वहरु बृहत होला भन्ने लागेको छ ।

त्यसैले ब्यक्तिगत रीसइबी तथा ब्यापारिक झगडालाई थाति राखेर आउने दिनहरुमा गुरुङ जातिको उत्थानमा गुरुङहरुको हकहितमा भावी पिढिलाइ राम्रो शिक्षा र  हौसला दिन, गुरुङको भाषा, धर्म, रितितिथि, संस्कार, पुर्खौली पहिचानको लागि गुरुङ्गहरु सबै जुटेर तमु प्रतिष्ठान भवन बनाउन अभिप्रेरित यो खि ल्होसारले सतबुद्धी प्रदान गरोस भनी कुलदेउता सिमिभुमी,सिल्दो नाल्दो,नाग देउता, जलदेवी, कालीदेवी,देवी देउरालीले दियोस भनि सबैको कार्यक्रम सफलताको कामना सहितका  तमुहरुको महान पर्व (हि ल्हो ) बिरालो बर्ग ल्होसार तथा नयाँ बर्ष सन २०२३ सालको उपलक्ष्यमा समस्त आफन्त जन चिरपरिचित मित्रहरु सबैमा सुस्वास्थ, दिर्घायु र समुन्नतीको हार्दिक मंगलमय शुभकामना टक्र्याउन चाहन्छु ।  छ्याजलो तानलाई
खसिइ मुब हिल्होसारै अशिमलाँ मु जय तमु एकता जय तमु समाजहरु !

तपाईको प्रतिक्रिया