क्रान्ति सुब्बा

हङकङमा लागु अवस्थामा रहेका केहि रहलपहल महामारी सम्बन्धि अन्तिम  प्रतिबन्धहरु जस्तै मास्क अनिवार्य लाउनुपर्ने लगायतका केहि नियम यही वर्षभित्र अर्थात २०२३ साल लागेको ३ महिनाभित्र हटाइने प्रण हङकङका लिडर जोन लीले अभिव्यक्त गरेपछि हङकङको जनजीवनमा नयाँ रौनक छाएको बुझ्न सकिन्छ।

हङकङमा महामारी नियन्त्रण मापदण्ड अन्तर्गतका केवल दुइ वटा खम्बा मात्र सक्रिय रहेको छ अहिले । ती हुन  मास्क आदेश र संक्रमितले क्वारेन्टाइन अर्थात आइसोलेशनमा जानुपर्ने आदेश । यी दुइ मध्ये अनिवार्य क्वारेन्टाइन अर्डरको हदम्याद जनवरी ३० तारीख समाप्त हुने भएको छ।
जनवरी १९ तारीख हङकङका कार्यकारी प्रमुख जोन लीले यही जनवरी ३० तारीख देखि लागु हुने गरि संक्रमित रोगीले अनिवार्य आइसोलेसन अर्थात क्वारेन्टाइन  बस्नुपर्ने नियम खारेज हुने बताएका हुन।
यसको अर्थ हो संक्रमित केसमाथि लागु भएको आइसोलेसन अर्डरको औपचारिक अन्त भएको सो दिन उप्रान्त पिसिआर वा एन्टिजेन पद्धतिबाट जोकोही संक्रमित ठहरिए पनि उनीहरुले  कम्युनिटी आइसोलेसन सेन्टर वा घरमा आइसोलेसन बस्नु पर्दैन ।

जनवरी १९ तारीख संसदलाई सम्बोधन गर्दै जोन ली।

तीन वर्षको महामारीग्रस्त अवधिमा  हङकङले बलियो साझा रोग प्रतिरोधात्मक क्षमता हासिल गरिसकेको र हेल्थ केयर सिस्टममा आएको स्तरोन्नतिका कारण कोभिडको जोखिम पनि न्यूनीकरण भएकोले यस्तो निर्णय गरिएको लीले स्पष्ट पारेका थिए ।

कोभिडलाई व्यवस्थापन गर्ने मामिलामा जनसमुदाय पनि  चनाखो भैसकेको र नागरिक आफैले पनि जिम्मेवारी वहन गर्न सिकिसकेका कारण सरकार सर्व कोणबाट उत्तरदायी हेर्नुपर्ने पर्ने अवस्था नरहेको   अर्को महत्त्वपूर्ण कारण रहेको उनले बताए ।

संसदीय बैठकको प्रश्नोत्तर सेसनमा बोल्ने क्रममा लीले हङकङ चीनको सिमाना पुन खोलिएको १० दिन बितिसक्दा कुनै त्यस्तो असामान्य गतिविधि नभएको र दैनिक संक्रमितको संख्या पनि ३० हजारबाट घटेर सरदर ३ हजारमा झरेकोले जनजीवनलाई यथाशीघ्र सामान्य अवस्थामा लैजान मुनासिव रहेको बताएका थिए ।

चीनले भाइरस नियन्त्रण संबंधी अपनाएको कडा रवैयालाई जब २०२२ सालको डिसेम्बरमा हठात तिलान्जली दियो तब हङकङले पनि प्रायःजसो सबै प्रतिबन्धलाई परित्याग गर्ने दृढता जाहेर गरि अगाडि बढी रहेकोे छ।
यसैको एउटा कडि स्वरुप तीन वर्षको अन्तराल पश्चात् मुल भुमि चीनसँगको सिमाना प्रथम पटक हङकङले खुला गरेको हो ।

स्मरण रहोस् जुलाई २०२० देखि कार्यान्वयनमा रहेको कोभिड  सम्बन्धि नियम उलंघन कर्तालाई हङकङ डलर ५,०००  (US$640) जरिवानाको राखिएको छ।   

त्यसो त मास्क आदेशलाई सरकारले सबैभन्दा अन्तमा हटाउने घोषणा कार्यकारी प्रमुख जोन लीले डिसेम्बर महिनामा गरेका थिए । कोविड र अन्य श्वासप्रश्वास रोगहरू विरुद्ध मास्कको प्रयोग प्रभावकारी रहेका कारण सरकारले मास्क लाउने नियमलाई अन्तिममा उन्मुलन गर्ने भनेको हो। सोही अनुरुप यही मार्च अन्यथा  अप्रिल महिनाभित्र अनिवार्य मास्क लाउनुपर्ने नियम हटाइने समयसीमा सरकारले निर्धारण गरिसकेको छ।

“जनजीवनलाई पुर्णरूपमा सामान्य अवस्थामा फर्काउने एकमात्र लक्ष्य मेरो रहेको छ,” लीले एउटा अखबारलाई भनेका थिए । “निस्सन्देह निकट भविष्यमा मास्क आदेश सहितका सम्पूर्ण कोभिड प्रतिबन्धहरु अस्तित्वमा रहने छैनन् भन्ने कुरामा  म आशावादी छु ।” उनले भनेका थिए ।

सिमाना पार गर्नु अघि गरिने पिसिआरको खारेजी

स्रोतले जनाए अनुसार हङकङ र चीन बीच यात्रा गर्दा पीसीआर परिक्षणको नतिजा पेश गर्नुपर्ने जुन नियम छ त्यो चीनिया नयाँ वर्ष अगावै हटाइने हल्ला चलेता पनि तत्कालको लागि नहटेको अवस्था छ।

हालमा मुल भूमि चीन र हङकङ बीच आवतजावत गर्ने  यात्रुले सीमा पार गर्नु अघि  ४८ घण्टाभित्रको नेगेटिभ पीसीआर नतिजा पेश गर्नु पर्दछ ।

लोक मा चाउ नाकामा यात्रुहरु

त्यसो त भर्खरै हङकङका सांसदहरूले एक बैठकमा मुख्य प्रशासन सचिव एरिक चान क्वोक-की समक्ष चीनमा रहेका हङकङवासीहरूलाई हङकङ फर्कनु कठिन भइरहेको बारे जानकारी गराएका थिए ।  पीसीआर परीक्षण गर्न नपाएर उनीहरुले यस्तो कठिनाइ सामना गर्नु परेको हो। चीनले अकस्मात कोभिड नितिमा युटर्न लिएपछि धेरै परीक्षण साइटहरू बन्द भएका थिए र खुला भएका परिक्षण सेन्टरहरु पनि निश्चित समयमा बन्द हुन थालेका थिए ।
बैठकमा उपस्थित  स्रोतले जनाए अनुसार हङकङ सरकारले पिसिआर परिक्षण गर्ने सिस्टमलाई नै खारेज कुरा माथि विचार गरि रहेकोे छ।

मास्क खोल्न छुट

हङकङ  सरकारले जनवरी २० तारिख केही विशेष स्थान र अवस्थामा मास्क खोल्न पाइने घोषणा गरेको थियो ।  निजि स्तरका कार्यक्रम हुने केहि निर्दिष्ट  स्थलहरूको परिचालनलाई थप सहज तुल्याउन जनवरी २६ तारीख यो मास्क छुट सम्बन्धि नियम लागु हुनेछ । मास्क छुट हुने स्थान र अवस्था यस प्रकार छ्न


१)  धार्मिक स्थलहरुका वक्ता वा उदघोषकले बोलेको बेला मास्क लाउनु पर्दैन,
२) सार्वजनिक मनोरञ्जन स्थल वा कार्यक्रम स्थलमा आयोजित फुड एन्ड बेभरेज सम्बन्धि भएको प्रदर्शनी स्थलमा रहेको बुथमा रहेका टेबल वा बुथमा मास्क नलाइ खान पिउन पाइनेछ।
३) र क्याटरिङ क्षेत्र वा कुनै पनि अनुसूचित परिसरमा आयोजित कार्यक्रमको स्टेजमा पेय पदार्थ टोस्ट गर्ने व्यक्तिहरूले मास्क नलाइ चियर्स गर्न सक्नेछन् ।

टिचिङ स्टाफ,स्कुलका बस चालक लगायतले एन्टिजेन टेस्ट गर्नु नपर्ने

सरकारले क्वारेन्टाइन आदेश खारेज गरे पछि शिक्षा ब्यूरोले पनि जनवरी २० तारिख नवीनतम व्यवस्था जारी गरेको थियो। यस महिनाको ३० तारिखदेखि सबै टिचिङ स्टाफ ,स्कूल बसका चालक र बच्चा हेर्ने घरेलु कामदार बोक्ने बस ड्राइभर र उनीहरूसँग आएका व्यक्तिहरूले हरेक दिन स्कूल प्रवेश गर्नु अघि र्यापिड एन्टिजेन परीक्षण गर्नु पर्दैन। कोभिड–१९ पोजेटिभ  भएका तर कुनै लक्षण नदेखिएका व्यक्तिहरू बाहिर जान वा काममा जान स्वतन्त्र छन्।


यदि प्राथमिक र माध्यमिक विद्यालय, किन्डरगार्टेन र विशेष विद्यालयका शिक्षक र गैर-शैक्षिक कर्मचारीहरूमा संक्रमण पुष्ठि भएमा र उनिहरुमा स्पष्ट लक्षणहरू जस्तै  ज्वरो, खोकी, सास फेर्न गाह्रो, बान्ता र झाडापखाला लगायतका लक्षण देखिएमा तुरुन्त विद्यालयमा जानकारी गराउनुपर्छ र स्वास्थ्य उपचार गराउनुपर्छ र ड्युटीमा जानु हुन्न ।

यसको विपरित, यदि उनीहरुकोमा कुनै स्पष्ट लक्षणहरू छैनन् भने, उनीहरू बाहिर जान वा काममा जान स्वतन्त्र छन्।  यसका अलावा सरकारले  आइसोलेसन आदेश खारेज गरिसकेपछिको अवस्थामा, स्कूलका संक्रमित स्टाफहरूले दर्ता भएका डाक्टरहरूबाट चिकित्सा सल्लाह लिनु पर्छ साथै मान्यता प्राप्त सीक लिभ सर्टिफिकेट लिनु आवश्यक छ।

  संक्रमित विद्यार्थीहरूको हकमा, र्‍यापिड एन्टिजेन परीक्षणको नतिजा नेगेटिभ नआएसम्म उनीहरूलाई विद्यालय जान  प्रतिबन्ध लगाइनेछ। 

तपाईको प्रतिक्रिया