द पोएट आईडलको प्रतिस्पर्धामा रहनु भएका कवि गगन योक्पाङदेन नेपाली कविता लेखीरहेका पछिल्ला पुस्ताहरुमाँझ प्रवल सम्भावना बोकेका एक शक्तिशाली कवित्वचेत बोकेका कवि हुन् । उनका कविताले रैथाने सुगन्ध बोक्नुका साथै मानवीय संवेदनाहरुलाई मिहिनरुपमा अभिव्यक्त गरेका हुन्छन् । २०७१ मा टाडीँकुन्ज परिवार स्थापना गरि ” जुरुवा” साहित्य पत्रिका निरन्तररुपमा प्रकाशन गरि हाल मिक्लाजुङ साहित्य समाजको अध्यक्षको रुपमा कार्यरत गगन साहित्यलाई आममान्छेको जीवन दर्शनसँग जोडेर हेर्नुपर्छ भन्ने मान्यता राख्छन्। प्रस्तुत छ साताको तीन कविता ।

देश प्रेम

हरेक साँझ बिहान घामजुन फुल्ने आकाश
हरदम हर्रर हर्रर आइरहने माटोकाे सुगन्ध
हरेक दिन मैले दाजिने सगरमाथाकाे उचाइ
आमा ! के याे सधैं मेरो देशको मात्रै रहिरहला ?

हरेक जागर बुवाले बगाउने पसिनाकाे हिमनदि
हरेक उदासी बुवाले सुसेल्ने पकन्दिकाे लय
र, प्रत्येक बर्ष उधाैली र उभाैलीमा पुज्ने आस्थाकाे देउराली
आमा ! के सधैं बुवाले बाँचेकाे देशको मात्रै रहि रहला ?

हरेक दिन तिमीले चुल्ठी बाँध्ने इन्द्रणीकाे लाछा
हरेक शृंगार तिमीले हेर्ने दहकाे ऐना
हरेक थकान तिमी सुस्ताउने चाैतारी
आमा ! के सधैं तिम्रो देशको मात्रै भइ रहला ?

मलाई सारै डर लाग्छ आमा
हाम्रा करङहरुकाे भर्याङ चढेर सत्ताकाे चुलि आराेहण गर्नेहरुसंग
मलाई सारै डर लाग्छ आमा
हाम्रा पसिनाकाे तिर्खा पिएर चुपचाप मराेभुमि ओडेर बास्नेहरुसंग
र मलाई सारै डर लाग्छ आमा
माटाको कसम खादै माटोलाई नै दाउमा लगाउनेहरुसंग

भाेलि यस्तो दिन नआओस ताकी-
यहाँका हिमाल, पहाड ,तराई ,खाेला र झर्नाहरु यहिं रहला
तर हाम्रो नरहला
हामी यहि रहुँला
तर हामीले बाँचेकाे माटो हाम्रो नरहला
त्यसबेला खै कसरी हाँस्न सकिएला र
आफ्नै अपहरित अनुहार हेरेर ?
त्यसबेला खै कसरी बाँच्न सकिएला र
आफ्नै डढेकाे छाति लिएर ?
आमा –
म त मेरो देशको माटोमा माटै भएर बाँच्न चाहान्छु
म त मेरो देशको टाकुराहरुमा हिमाल भएर हाँस्न चाहान्छु
जस्तै अभाव र विपत्तिहरुकाे सामाना गर्दै भए पनि
म त मेरो देशकाे सिमानामा पर्खाल बनेर उभिन चाहान्छु
मत मेरो देशको दसगजामा जङ्गेपिल्लर भएर ठडिन चाहन्छु ।

तस्बिर


इतिहासको एउटा कुरुप क्यानभासमा बनेको
मेराे भरिया बाजेको तस्बिर देखाउँदै बोजुले भनेकी थिइन् 

-एक छाक खानकै लागि

-एक सराे लगाउन लागि

– र परिवार धान्नकै लागि


त्यसबेला पनि तेरा बाजे , शासन र रासनको बोझ 
थाप्लाे र पिठ्युँमा बोकेर हिँड्नु हुन्थ्यो ।
आमाले फेरि मलाई –
इतिहासको एउटा अर्को क्यानभास देखाइन् 
जहाँ मेरो बाजेकाे तस्बिरकाे ठाउँमा मेरो बुवाको तस्बिर थियो ।
छाेरा –
अब म तिमीलाई कसरी उही क्यानभास र उही तस्बिरमा मेरो अनुहार देखाउँ ?
‘परिवर्तन विनाशले मात्रै सम्भव छ’ सोचिएकै बेला
 छाेरा म तिमीलाई युद्ध र विध्वंसका गाथा सुनाएर 
उद्देलित बनाउन चाहान्न
म तिमीलाई मेरो थाप्लोको नाम्लो  र पिठ्युँको  भारी पनि दिन्न
बरु सट्टामा म तिमीलाई कापि कलम र इरेजर दिनेछु
ताकि तिमीले हाम्रा भाग्यमा कोरिएका
करिङमिरिङ किरिङमिरिङ धमिला धर्साहरु मेटाएर 
कर्मको मसीले उज्यालो भविष्य लेख्न सक
ता कि, भोलि तिमीले यो देशको सुन्दर तस्बिर फेर्न सक।
त्यो तस्बिरमा 
ढाकरमा देश बोकेर उभो लागि रहेका 
भरिया सपनाहरुको देशप्रेम झल्कियोस्
आफ्नो काँधमा सिङ्गै सगरमाथामा उचालेर 
बाँचिरहेका लाक्पा र दोर्जेहरुको समर्पण देखियोस्
जिवनका रङहरुले इन्द्रेणी पोतिरहेका 
हाङदिङमा र डोल्माहरुको हार्दिकता अङ्कित होस् 
र त्यो तस्बिरमा –
सद्भावको धागोले राष्ट्रिय झण्डा सिलाइरहेका
माइला दर्जीहरुको अनुहार देखियोस्
त्यो तस्बिरमा 
आफ्ना फाँटिला छातीभरि लहलह बाली झुलाएर 
हाँसिरहेकी थरुनी दिदीको हाँसो पोतिएको होस्
त्यो तस्बिरमा –
एक हातमा यो देशको माटो मुठ्याएर 
अर्को हातले जङ्गे पिल्लर समातेर देशको स्वाभीमान चिच्याइ रहेको
यादव भैयाको देशप्रेम खुलेको होस्
र त्याे तस्बिरमा-
बिचारको धनुष काँड लिएर  युद्ध लडि रहेकोे काङसोरेको तस्बिर पनि देखियाेस
यो धर्तीको क्यानभासमा देशको तस्बिर कोर्न 
हरियो रंग नपुगे तिम्रो उत्साहको रंग खन्याएर पोतिदिनु
यो देशको तस्बिर कोर्न खैरो रङ नपुगे
तिम्रा पसिनाहरु निचोरेर पोतिदिनु
र यो देशको तस्बिरमा देशप्रेम कोर्न
रातो रङ नपुगे आफ्नै मुटुको रगत झिकेर पोतिदिनु 
यति गर्दा पनि देशको तस्बिर धमिलो देखिए
आफ्नै आँखाको उज्यालो टिपेर टाँसिदिनु ।

‘परिवर्तन विनाशले मात्रै परिवर्तन सम्भव छ’
सोचिएकै बेला-
छोरा म तिमीलाई 
युद्ध र विध्वंसका गाथा सुनाएर उद्देलित बनाउन चाहान्न 
म तिमीलाई मेरो थाप्लोको नाम्लो र पिठ्युँको भारी पनि दिन्न
बरु सट्टामा म तिमीलाई कापि कलम र इरेजर दिने छु ।
ता कि-
तिमीले हाम्रो भाग्यमा कोरिएका
किरिङमिरिङ किरिङमिरिङ धमिला धर्साहरु मेटेर
कर्मकाे मसिले उज्यालो भविष्य लेख्न सक
ता कि , भोलि तिमीले याे
देशको धुमिल धुमिल तस्बिर मेटाएर
देशको उज्यालो तस्बिर फेर्न सक ।

हिजाेका नानीहरू / आजका नानीहरू

उन्छेन उन्छेन हामी नानीहरू
तल सिमसारको एक चिमटी माटो लुछेर
हत्केलामा खुसीको मट्याङ्गा बाँड्थ्यौँ
उन्छेन उन्छेन हामी नानीहरू
दत्रुङ्गो र असारेका हाँगाहरुमा उमङ्गको डण्डिबियो खिप्थ्यौँ
र –
उन्छेन उन्छेन हामी नानीहरू
बाटोको शरीरमा खोपेर गुच्चा र खोपिमा रमाउँथ्यौँ ।

उन्छेन उन्छेन हामी नानीहरू
ताप्रेफुलको माला उनेर आनन्दको हार पहिरिन्थ्यौँ
उन्छेन उन्छेन हामी नानीहरू पुतलीको बेहुला बेहुली खेल्दै
माटोको भत्तेर खान्थ्यौँ
उन्छेन उन्छेन हामी नानीहरू हरेक दिपावलीमा सङ्गीहरु सङ्ग
भाइचाराको देउसी खेल्थ्यौँ
र –
यसरी उन्छेन उन्छेन हामी नानीहरू खुसीको लय बुन्थ्यौँ ।

लाग्छ आजका नानीहरू दुरदृष्टिका रोगी हुन्छन्
नत्र किन देख्दैनन् –
माथिबाट बग्दै आएको खहरे
उनीहरुकै प्रतिक्षामा तल पोखरी जमेको ?
नत्र किन देख्दैनन् –
उनीहरुकै लागि वन भरी रानी कुसुम र अङ्गेरी फुलेको ?

कति कति खोलाहरु-
उदास उदास सुकसुकाउँदै बगे होलान्
कति कति सुनाखरी र लालुपातेहरु एक्लै फुल्दै मुर्झाए हाेलान।

ओ लाहुरे !
फर्क हौ अब त पब्जीको रणमैदानबाट
बरु जाऊ माथि वनमा तामेढुकुरको धान नाच हेर्न
ओ कलाकार !
निष्क हौ अब त टिकटको रङ्गमन्चबाट
बरु जाऊ माथि गाउँमा जातो र ढिकीको हाक्पारे सुन्न
ओ परदेशी !
फर्क हौ अब त फेसबुकको परदेशबाट
बरु जाऊ खोरिया फाँडेर पाखाभरि सपना रोप्न
माथि रमिते डाँडाकाे चाैतारीमा बसेर
जीवनकाे एक हरफ हुर्रर लै पकन्दि गाउँ
उन्छेन उन्छेन हामी नानीहरू प्रकृतिको काखमा लुटपुटिँदै खुसीको ईश्वर बाँच्थ्यौँ ।

तपाईको प्रतिक्रिया