क्रान्ति सुब्बा

हङकङमा कोभिड महामारीको संक्रमण गति पहिलाको तुलनामा कता हो कता सुस्त भएको छ। हङकङ सरकारले अन्ततोगत्वा कोभिडलाई रुघाखोकीको हैसियत दिएपछि नागरिकहरु कोरोनाबाट कम उतर्सिन थालेका छ्न भन्दा फरक नपर्ने स्थिति छ। तरै पनि झन्डै एक हजार दिन अथवा तीन वर्ष अघि अथवा ठ्याक्कै मिति नै तोकेर भन्ने हो भने जुलाई २९, २०२० देखि  अविछिन्न मास्क लाउदा लाउदा भुक्तमान खेपेका नागरिक माथी एउटा अन्तहिन अलोकप्रिय कोभिड नियम अन्तर्गत रहेको मास्क आदेश थोपर्ने काम सरकारले छोडेको थिएन ।
स्मरण रहोस् मास्क नियम उलंघन गर्दा हुने फिक्स्ड पेनाल्टी  हङकङ डलर ५ हजार र केस अदालतसम्म नै पुगे अधिकतम जरिवाना १० हजार सम्म थियो ।

पछिल्ला दिनमा सजीव वातावरणले ओतप्रोत भएको आफ्नो पुरानो छविलाई समान ओजस्वीताका साथ मुर्त्याउन हङकङ उद्वेलित छ तर महामारीको सेंहेँ बोकेको मास्क तगारो भएर हङकङका कुनैबेलाका हठी आन्दोलनकारी झै ठिङ्ग उभिएको थियो । वास्तवमा महामारीको कहर र सकस सम्झाउने मास्क रूपी दुर्ग बर्लिनको पर्खाल गर्ल्याम्म ढलेको हेर्ने चाहना हङकङवासी र विश्वको थियो नै ।

संसार उत्तर कोभिड युगतर्फ प्रस्थान भैसकेको धेरै समय गुज्रीसकेपछि अर्थात २०२२ सालको अन्त्यतिर जनजीवनलाई महामारी पुर्वको अवस्थामा फर्काउने अभियानमा हङकङ कम्मर कसेर लागेको हो। यस दर्वियानमा हङकङले तमाम लौह तुल्य कडा कोभिड नियमलाई अपधस्त गरि सहर सुरक्षित भएको प्रत्याभूति दिन थाल्यो । मुलतः चाइनाले आफ्नो शुन्य कोभिड नितिलाई अकस्मात गलहत्याएपछि हङकङले पनि २०२२ सालको डिसेम्बरबाट प्रायःजसो सबै प्रतिबन्ध  फुकाउदै विश्व संगको सम्बन्धलाई पुनः खोलेको हो । जस अनुरुप अर्थतन्त्र व्युँताउने अनेकौं नुतन अभियानको पहल हाल भैरहेको छ। तथापि चीनले पहिल्यै र मकाउले २०२३ साल फेब्रुअरी २७ तारीख  सोमबार देखि  मास्क लाउने नियम खारेज गरेपछि संसारमा हङकङ मात्र एउटा यस्तो स्थान रहन गएको थियो जहाँ सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउनु पर्थ्यो। यसरी विश्व उत्तर महामारी युगमा प्रवेश भैसक्दा पनि हङकङ यथास्थितिमा रुमल्लिनुलाई उदेकलाग्दो दृष्यको रूपमा हेरिएको थियो ।

खासमा फेब्रुअरी २२ तारीख बुधवार प्रकाशित सरकारी राजपत्रका अनुसार मास्क म्यान्डेट अर्थात मास्क लगाउनुपर्ने नियमको हदम्याद मार्च ८ तारीख सम्मको लागि थप गरिएको थियो । मास्कको लागी समय सिमा तोक्ने दिन आउनु नै वास्तवमा मास्क लाउने कुराको दिन गन्ती शुरु हुनु थियो । र भैदियो पनि त्यस्तै ।

२०२३ साल फेब्रुअरी २८ तारीख बिहान कार्यकारी परिषदको बैठकमा जानू अघि हङकङका कार्यकारी प्रमुख जोन लीले मार्च १ तारीख २०२३ बाट लागु हुने गरि सम्पूर्ण इन्डोर र आउटडोर मास्क आदेश खारेज हुने घोषणा  गरिदिए । मार्च १ तारीख देखि सार्वजनिक यातायातमा चढ्दा पनि मास्क लाउनु  पर्दैन । अर्को पाराले भन्नु पर्दा यत्रतत्र सर्वत्र मास्क लाउने दरकार नपर्ने गरि मास्क आदेश खारेज गरिएको छ। यसको मतलब हो मास्क आदेशको पुर्ण खारेजीसंगै सम्पूर्ण सामाजिक दुरि सम्बन्धि नियमहरुको आधिकारिक अन्त्य भएको छ र हङकङ पुरै नर्मल अवस्थामा फर्किएको छ।

मार्च महिनामा नै यी परिवर्तन किन ल्याउनु पर्यो भन्ने जायज उत्सुकता अंकुरण हुनु अन्यथा होओइन। वास्तवमा मार्च महिनामा नै हङकङले विश्वव्यापी स्तरको विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ । विगत तीन वर्षको तुलनामा यो महिना सबैभन्दा बढी व्यस्त महिना हुने भविष्यवाणी गरिएको छ। जस्तै ‘हेलो हङकङ’ अभियान अन्तर्गत पर्यटकहरूलाई हङकङले पाँच लाख अर्थात आधा मिलियन भन्दा बढी एयरलाइन टिकटहरू यहि महिनाबाट फ्रीमा प्रदान गरिरहेको छ। तर मास्क आदेशलाई समयमै हटाइएन भने टुरिष्टहरु भनेजस्तो गरि नआउने सुनिश्चित जस्तै थियो । त्यसमाथि अझ सरकारले मास्क नियमको हदम्यादलाई थप्दै लगेमा हङकङ ग्लोबल फाइनेन्सियल सेन्टरको बगालबाट एक्लिन सक्ने संभावना बढेर जाने निश्चित थियो साथै  पूर्ण आर्थिक पुनरुत्थान हुने आशा माथि पनि तुषारापात हुने संभावना बढेर जान्थ्यो नै। यी तमाम पक्षलाई अध्ययन गरेर नै सायद सरकारले झटपट मास्क हटाउने निर्णय गर्‍यो ।

स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ माउको ठहरमा मास्क अर्डर खारेज हुनुपर्ने तीन कारण थिए १. निर्दिष्ट जनसमुहलाई संक्रमित हुने संभावना टर्नु २.भाइरसको म्युटेसन क्रम त्यति खतरापूर्ण नहुनु ३.स्वासप्रस्वास सम्बन्धि रोगको सिजन अन्त्य हुदै जानु । यसका अलावा साझा सामुहिक रोग प्रतिरोधात्मक क्षमताको विकासमा सरकारको ध्यान केन्द्रित थियो जसको विकास जनसंख्यामा अपेक्षाकृत संतोषजनक रूपमा भैसकेको छ।
तर अस्पताल तथा नर्सिङ होम जस्ता उच्च जोखिम युक्त स्वास्थ्य क्षेत्रमा भने सरकारले जनस्वास्थ्य सुरक्षाको लागि छुट्टै मापदण्ड  तय गर्ने भएको छ। र नर्सिङ होममा काम गर्ने स्टाफ र त्यहाँ भिजिटमा जाने महानुभावलाई मास्क लाउन सरकारले विशेष अनुरोध गरेको छ।

भेन्टिलेसन सिस्टम दरिद्र भएको स्थान तिर जादा दीर्घ रोगी वा इम्युन सिस्टम कमजोर भएका व्यक्तिले मास्क लाउने सल्लाह मन्त्रीले दिएका छन।
स्मरण रहोस्  मार्च १ तारीख बुधबारबाट माध्यमिक तहका विद्यार्थीले स्कुल पस्नु पुर्व डेलि रयापिड टेस्ट गर्नु पर्दैन तर प्राइमरी र किन्डरगार्टनका छात्रछात्राले भने मार्च १५ तारीख सम्म एन्टिजेन टेस्ट डेलि गर्नुपर्ने छ।
मार्चै १ बाट पब्लिक हस्पिटल र नर्सिङ होममा काम गर्ने स्टाफ र त्यहाँ जाने भिजिटरले पिसिआर को सट्टा एन्टिजेन गरे हुन्छ ।

जेहोस, साच्चै संसारबाट सदाकालागि कोरोना भाइरसको प्रकोप निस्तेज भएको संदेश दिनेगरी हङकङले विश्वमै  सबैभन्दा अन्तमा मास्क नियमलाई हटाएको छ। यस मानेमा कोरोना भाइरसको विरुद्धमा लडिएको तीन वर्षे लामो यस विश्व युद्धमा मानिसको जीत भएको छ। कोरोना भाइरसको अन्तिम किल्ला  हङकङलाई मानिसले फेब्रुअरी २८ तारीख हराएपछि यो जीतको विगुल फुकिएको हो।  

तपाईको प्रतिक्रिया