काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फूल’ विमोचन भएको छ। मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गर्नुभएको हो। उहाँले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताउनुभयो।

उहाँले भन्नुभयो, “संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने। हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो। त्यही बेला लेखेको गीत हो यो, अहिले पदीय जिम्मेवारीमा रहँदा विमोचन गर्ने अवसर मिल्यो।”

विमोचन कार्यक्रमका अवसरमा उहाँले आइतबार सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा शहीदको योगदानको स्मरणसमेत गर्नुभयो।

“आजकै दिन काभ्रेको अनेकोटमा च्याङ्बा लामासहित चारजना कलाकारले सहादत प्राप्त गर्नुभएको थियो। उहाँहरुको सम्झना र सम्मानमा यो गीत सार्वजनिक गरिएको हो,” उहाँले भन्नुभयो।

‘पहराकी फूल’ गीतको सङ्गीतकार शान्तिराम राई, गायक रुपकुमार राई र निर्देशन किरण चाम्लिङको रहेका छन।

तपाईको प्रतिक्रिया