क्रान्ति सुब्बा

हङकङ ।  हङकङका स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ–माउले अप्रिल २९ तारिख शनिबार आइकेबल टिभीमा अन्तर्वार्ता दिने क्रममा शहरमा कोभिड–१९ का केसहरु पुनः बढेर जाने संकेत देखिएको बताएका छ्न। विभिन्न कोभिड–१९ सर्भिलेन्स इन्डिकेटरका अनुसार पछिल्लो  साताहरुमा केसको वृद्धि ३० देखि ५० प्रतिशत सम्म रहेको छ। जसको अर्थ हो पोजिटिभ परीक्षण दर चार गुणाले बढेको छ । यी आँकडाका आधारमा मुल्यांकन गर्दा हालको दैनिक संक्रमण पुष्टि भएको केस संख्या सरदर १०,००० रहेकोे अनुमान गरिएको छ । तर धेरैजसो केस पुरानै भाइरसको स्ट्रेनबाट आएको छ भने नयाँ आर्कटुरस भेरिएन्टबाट संक्रमित हुनेको संख्या कम नै रहेको छ।


हङकङका ९५ प्रतिशत नागरिक पहिले नै कोभिड–१९ बाट संक्रमित भैसकेका वा ९५ प्रतिशत नागरिकले खोप लगाइसकेकाले संक्रमित हुनेको संख्यामा वृद्धि आए पनि अनिवार्य मास्क लाउनुपर्ने नियम वा सामाजिक दूरी सम्बन्धि  कोभिड–१९ विरुद्धका नियमहरू पुनः लागु गर्ने कुनै  योजना सरकारको नरहेको मन्त्री माउले स्पष्ट पारे।

प्रोफेसर लोले २०२३ साल जनवरीमा सर्वप्रथम पत्ता लागेको ओमिक्रोनको नयाँ भेरिएन्ट आर्कटुरस जसलाई एक्सबीबी.१.१६ पनि भनिन्छ – को संक्रमण दर बढ्दो क्रममा रहेता पनि यसलाई त्यति उच्च अझै मानिएको छैन र अधिकारीहरूले केसको स्थितिलाई नजिकबाट निगरानी गर्ने बताएका छन्।
भवनका ढलमा नयाँ भेरिएन्ट अक्टुरसको केवल तीन प्रतिशत नमुना भेटिएको उनले उल्लेख गरे। त्यसो त महामारीको प्रकोपलाई सामना गर्ने हङकङको क्षमतामा उल्लेखनीय सुधार आएको पनि उनले जनाएका छ्न। र नागरिक आफै पनि वसन्त र गर्मी याममा उत्कर्षमा पुग्ने संक्रमणको यो चपेटालाई सामना गर्न सक्षम छ्न उनले भने ।
हङकङमा अहिलेको फ्लु सिजन यहि अप्रिल महिनाबाट शुरु भएकाले यो अझै टुप्पोमा पुगिसकेको छैन । यो फ्लु मत्थर हुन प्रायः १२ देखि १६ हप्ता लाग्ने र भर्खरै हामी तेस्रो हप्तामा रहेको  उनले बताए ।

युनिभर्सिटी अफ हङकङको मेडिसिन डिपार्टमेन्टका संक्रामक रोग महाशाखाका प्रमुख डा. इभान हुङले पनि अहिलेको अवस्थाबारे टिप्पणी गरेका छन् । उनले इन्फ्लुएन्जा र कोभिड–१९ को संक्रमण अझै चरम विन्दुमा नपुगेको र अरु एकदेखि दुई हप्तामा फ्लु चरम विन्दुमा पुग्ने र सातदेखि आठ हप्तापछि अहिलेको कोभिड–१९ को सङ्क्रमण पनि पिकमा पुग्ने  विश्वास व्यक्त गरेका छ्न । यो नयाँ भेरिएन्ट बिए.२ स्ट्रीमबाट नै छुट्टीएको एउटा हाँगा भएकोले र हङकङका नागरिकहरु बिए.२ बाट पहिला नै संक्रमित भैसकेकाले खासै नआत्तिए हुन्छ उनले भनेका छ्न। आर्कटुरस सबभेरिएन्ट प्राणघातक छैन र इम्युन सिस्टमले यसलाई व्यवस्थापन गर्न सक्छ उनले थपे।

डा. हुङले कोभिड–१९ का बिरामीमा केराटाइटिस र कन्जक्टिभाइटिस भन्ने आँखा सम्बन्धि रोगको लक्षण देखिएको र यो भाइरसको नयाँ भेरिएन्टसँग सम्बन्धित हुन सक्ने पनि उल्लेख गरेका छन् । यदि आँखामा जटिलता अनुभव भएमा त्यस्तो असहजता अन्य ब्याक्टेरियाबाट पनि हुन सक्ने भएकोले संभावित संक्रमण रोक्न जतिसक्दो चाँडो नेत्र रोग विशेषज्ञको सल्लाह लिनु उनले आग्रह गरेका छ्न। यदि आँखाको रोग कोभिड–१९ का कारण भएको हो भने बिरामी कोभिड भाइरसबाट मुक्त भएपछि स्वतः निको हुने स्थिति आउने उनले जनाए ।

सङ्क्रामक रोगका चिकित्सकहरूले आर्कटुरस भेरिएन्ट एक्सबीबी.१.१६ को स्पाइक प्रोटिनमा भएको उत्परिवर्तन( म्युटेसन)का कारण यो भेरिएन्ट अत्यधिक संक्रामक हुन पुगेको बताएका छन्, तर यसले कोभिड-१९ को केसलाई त्यति गम्भीर अवस्थामा पुर्याउदैन। अमेरिकाको भ्यान्डरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरका संक्रामक रोग विशेषज्ञ डा. विलियम शाफनरका अनुसार कोरोना भाइरसविरुद्ध जारी विद्यमान खोप र उपचार नै यसको प्रकोपलाई समन गर्न प्रभावकारी रहेको  देखिएको छ । तथापि अहिलेको आर्कटुरस भेरिएन्ट पहिलेका स्ट्रेनहरु भन्दा कम्तिमा दुई तरिकाले फरक रहेको पाइएको छ।
डा. शाफनरका अनुसार यो भेरिएन्टले पहिले देखिएका अन्य स्ट्रेनको तुलनामा बढी ज्वरो ल्याउँदछ । तर यसको एउटा विशेषता के हो भने यसले विशेष गरी बच्चाहरूमा कन्जक्टिभाइटिस (आँखाको इन्फेक्सन) निम्त्याउने गर्दछ। कन्जक्टिभाइटिस जसलाई सामान्यतया गुलाबी आँखा भनिन्छ र यो आँखामा हुने एक किसिमको संक्रमण हो जुन भाइरस, ब्याक्टेरिया वा एलर्जीको कारण हुन सक्छ। यसले आँखाको पुतली (आइबल) र पलक (ढक्कन) को बाहिरी सतहमा जलन गराउँछ परिणामस्वरूप आँखा रातो हुने,सुन्निने र चिपचिपा स्राव आँखाबाट बग्ने गर्छ।

यसअघिका स्ट्रेनमा आधारित अध्ययनले कोभिड–१९ का १ देखि ३ प्रतिशत बिरामीमा गुलाबी आँखाको लक्षण देखिएको थियो तर आर्कटुरस भेरिएन्टले कति हदसम्मको असर पर्ने गरि कन्जक्टिभाइटिस निम्त्याउँछ भन्ने बारे कुनै तथ्यांक उपलब्ध भैसकेको छैन । आँखा चिकित्सक र संक्रामक रोग विशेषज्ञहरूका अनुसार  बच्चाहरूमा यस्तो लक्षणहरू देखिएका छ्न तर यसबारे कुनै ठोस तथ्यांक प्रकाशमा आइसकेको छैन।

डा. शाफनर भन्छन्, ‘आर्कटुरस भेरिएन्टका कारण हुने गुलाबी आँखाका लक्षणहरू अन्य प्रकारका भाइरल कन्जक्टिभाइटिससँग मिल्दोजुल्दो छन्। यसले एक हप्तासम्म बिरामीलाइ असहज र दयनीय पार्न सक्छ । जस्तै आँखाको नानी सुन्निने,आँखाबाट आशु झर्ने तथा चिलाउने हुनसक्छ । तर नयाँ भेरिएन्टका कारण यस्तो भएको हो भने यसले कुनै पनि दीर्घकालीन प्रभाव नपारी बिरामी निको हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया