एक सशक्त समकालीन भारतीय–नेपाली कवि मनोज बोगटीका ‘विम्बगोष्ठी’, ‘घाउका रङहरू’, ‘पसिनाको छाला’, ‘गीतको रिस’, ‘आँखा बाहिर’ र ‘काफरे अमेरिका’ कविता संग्रहहरू र एउटा कथा संग्रह ‘लाइफ अ बटर बटरफ्राइ ’ प्रकाशित छन् ।

० यो कोभिड महामारीले तपाईंको लेखनमा के कस्तो असर पारेको छ ? हालको विश्व परिस्थिति नै बदलिँदो छ । भारतमा पनि कोभिड–१९ चर्को प्रभाव छ । विभिन्न विरोध–प्रदर्शनहरू लगायत किसानहरूको आन्दोलन जारी नै छ । तपाईंको दार्जिलिङतिर चाहिँ के छ ?

—कोरोना आएपछि जीवन र समाजलाई हेर्ने अघिल्ला दृष्टिकोणहरू खज्मजिए । शुरुमा त यो महामारी नै निक्कै अमुर्त रुपमा आयो । यो आउँदा डर, अन्योलता र अफवाहहरू लिएरै आयो । यसले मानिसको दिमागलाई कब्जा गरयो । सम्बन्धलाई हेर्ने, परिवारलाई हेर्ने, मानिसलाई हेर्ने, प्रकृतिलाई हेर्ने, समाजलाई हेर्ने, धर्म, राजनीति, अर्थनीति, कला वा यस्ता सबै क्षेत्रलाई हेर्ने यावत् दृष्टिकोण फेरबदल गरिदियो । मजस्तो साधारण बबुरो त्योबाट मुक्त कसरी बन्थें र ! शुरुमा मलाई मर्छु कि भन्ने असाध्य डर लाग्यो । यस्तो लाग्यो, मृत्यु मेरै वरिपरि अदृश्य रुपले घुमिहिँड्दैछ । मलाई मार्न दुश्मन बौलाही बनेको छ । दुश्मन जो छ, त्यो नदेखिनेछ । यसैले म हरसम्भव त्यो दुश्मनदेखि बच्ने लेफ्टराइट बाटोको खोजमा छु । मलाई लाग्यो, मैले बाँच्नपर्छ । मेरो परिवार बाँच्नपर्छ । यो यस्तो महामारी थियो, जसले हरेकलाई ‘व्यक्तिगत’ बनाइरहेको थियो । महामारी अघिका सबै दर्शन, विचार, थ्योरी, सिद्धान्तहरू ‘समष्टि’ केन्द्रित थियो। महामारीले यही चेतनामा कायापलट गरयो । समष्टीलाई बचाउन हरेकलाई ‘इन्डिभिजुवल’ बन्न बाध्य पार्ने यो महामारीले सोझै विवेक र मनमा आक्रमण गरयो । यो महामारी बारे सोच्दा म अमिर खानको फिल्म ‘पिके’ सम्झिन्छु । कि कसरी फरक ग्रहको एलियन पृथ्वीमा झर्दा पृथ्वीमा चलखेल हुने सारा दृष्टिकोणहरू दुर्घटनामा पर्छन् । एउटा महामारीले सबै मौजुदा डिस्कोर्स कायापलट होला भन्ने मैले सोचेको थिइनँ । जब मैले यो कुरा बुझेँ, मैले कान्तिपुरमा एउटा लेख लेखेँ, ‘कोरोना आउनअघि दार्जिलिङ’ शीर्षकमा । महामारी आइसकेर, यतिका दिन बितिसक्दा फेरि लागेको छ, म ‘कोरोना आइसकेर दार्जिलिङ’ पनि लेख्नेछु । यसको अर्थ, दिमागी रुपमा धेरै डिस्टर्ब भए पनि मानिसले सोच्न नछोड्दा रहेछन् । मैले किताबै त लेखिनँ तर, दार्जिलिङ र इतरक्षेत्रका सामाजिक, राजनैतिक, सांस्कृतिक सवालका केही प्रश्नहरू लेखेरै उठाइबसेँ । पछि–पछि लेखेर मात्र नपुग्दोरहेछ भनेर बोलेरै पनि ती सवालहरू समाजमा राखिबसेँ । कोरोना शुरु भएदेखि यता आजसम्म म २००७ देखिको दार्जिलिङें राजनीतिलाई भित्रबाट अध्ययन गरिरहेको छु । यतिखेर पनि कोरोना छँदैछ, तर अहिले यो एउटा सामान्य ‘भाइरल रोग’ जस्तो बनिसकेको छ । मानिसहरू व्यष्टिदेखि समष्टितिर फर्किसकेका छन् । फेरि पनि महामारीअघिकै जीवनतिर मानिसहरू फर्किसकेका छन् । तर त्यो फर्काइ असाध्यै चोटसहितको छ । कोही आर्थिक रुपले भत्किएका छन्, कोही सामाजिक, कोही राजनैतिक, कोही मानसिक रुपले या अनेक भत्काईका चोटसहित । यो चोटले जुन निकास खोज्ला, त्यसको प्रभाव र परिभाषा थेग्ने ‘इम्युनिटी’ समाजले विकास गर्ला नगर्ला भन्ने लागिबसेको छ । भयानक दुष्परिणामसहित अबको समाजले उभिन पर्ला । त्यसले हरेक मूल्यको क्षेत्रमा चोट पार्ला । दार्जिलिङ पनि स्वाभाविक जीवनमा त फर्किएको छ तर यो फर्काइमा भोलिको ‘दार्जिलिङ’ कति सुरक्षित छ, त्यो अनुमान गर्न गाह्रो छ । किनभने कोरोना सामान्य भइसक्ता नसक्तै फेरि सत्ताले डिजाइन गरेको ‘न्यारेटिभ’ बोकेर राजनीति गर्ने कठपुतलीहरूले दार्जिलिङलाई काँधमा हालेको छ । महामारीले आर्थिक मेरुदण्ड भाँचेको छ, त्यही मेरुदन्डमा उभेका छन्, सत्ताका ती कठपुतलीहरू । अहिले ती नै कठपुतलीहरूले बजाएको गीतमा छमछमी नाचिरहेछ दार्जिलिङ ।

० लेखकहरूको विगत–वर्तमान सम्बन्ध नेपाल वारि र नेपाल पारि कस्तो पाउनु/पाइरहनु भएको छ ? कविको लागि राज्य–सीमानाको दुःख के हो ? संसारका दशगजाहरूलाई के भन्ने, कसरी हेर्ने ?

—लेखकहरूको निम्ति सिमाना हुँदैन भन्ने सुनेको छु । तर सिमाना त छ । नेपालको फिनिक्स बुक्सले मेरो कविता सङ्ग्रह ‘काफरे अमेरिका’ प्रकाशित गरयो । त्यो किताब म कविलाई काँकरभिट्टाबाट दार्जिलिङ छिराउन जति गाह्रो परयो, त्यसलाई हेर्दा लेखकहरूको सिमाना हुन्न भन्ने भावुकता निक्कै पङ्गु लाग्यो । किताब बोकेर दार्जिलिङ छिर्दा आफू कुनै अपराधी घर फर्किरहेको छु कि जस्तो मनोदशामा थिएँ । नाकामा आफूलाई कवि हुँ भनेर सावित गर्न धेरै समय लाग्यो । किताब पनि देखाएँ, किताबमा छापिएको मेरो नक्सा पनि देखाएँ, तरै पनि हजारौं प्रश्नहरू उठ्यो । किताबको नाममा ‘अमेरिका’ देख्नासाथ यस्ता प्रश्नहरू गरियो कि मलाई कविताले बोकेको मेटाफर बुझाउनै हम्मेहम्मे परयो । नेपालबाट त छिरियो फेरि त्यही झमेला भारतले पनि गरयो । म कविलाई दुःख दिन यो सिमाना खडा छ । यसलाई कविताले भत्काउन नसक्दोरहेछ । साहित्यले भत्काउन नसक्दो रहेछ । सक्छ कि कतै, मलाई थाहा छैन । नेपाल पुग्दा मैले नेपाली साहित्य लेख्ने भएकोले असाध्यै माया गरिन्छ । त्यो मैले बोल्ने भाषा र त्यो भाषीले बोक्ने संस्कृतिको कारण पनि हो । किनभने भारतीय गोर्खाहरूको नेपालसित भाषिक र सांस्कृतिक सम्बन्ध गहिरो छ । यस हिसाबले वारिपारिको सम्बन्ध पनि उस्तै प्रगाढ छ । दार्जिलिङलाई चोट पर्दा नेपाललाई दुख्छ । नेपाललाई चोट पर्दा दार्जिलिङलाई पनि दुख्छ । त्यो दुखाइको पाश्र्वमा त्यही सांस्कृतिक र भाषिक प्रगाढता छ, इतिहास छ । नेपालकै भूमिमा थियौँ हामी तर त्यो भूमि अहिले भारतमा छ । त्यो कसरी छ, किन छ, त्यसबारेको इतिहास छँदैछ । त्यो इतिहास बारे भारतलाई पनि थाहा छ, नेपाललाई पनि थाहा छ । हामी त जमिनसितै भारतमा छौँ । त्यसैले हामी भारतीय भयौँ । भारतीय नेपाली भाषी गोर्खा जाति र नेपालको नेपाली जाति जोडिने भनेकै भाषा र संस्कृतिको कारण भइगयो । यसैले त्यो दुखाइ स्वतःस्फुर्त हुने भयो । स्वाभाविक हुने भयो । तर यदि त्यो दुखाइ भौगोलिक र राजनैतिक सम्बन्धबाट भइदियो भने नेपाललाई त साह्रोगाह्रो नहोला तर दार्जिलिङलाई सधैं हुन्छ । भारतका गोर्खाहरू भारतीय नागरिक हुँदाहुँदै पनि नजिकमा हामीजस्तै भाषा बोल्ने, हाम्रै जस्तो संस्कृति भएको तपाईँको नेपाल देश छ । जुन राज्यमा छौँ, त्यो राज्यसित न त भाषा मिल्छ न त संस्कृति । त्यसैले भारतमा गोर्खाको अलग पहिचानको निम्ति सङ्घर्षरत बन्छौँ । यसो गर्दा हामीलाई नेपालबाट छिरेको विदेशी भनेर लाञ्छना लगाइन्छ । हामीलाई थाहा छ, त्यो लाञ्छनाको कुनै अर्थ छैन । तर त्यही लाञ्छनाको भरमा राज्यले प्रदान गर्ने सबै सहुलियतहरूबाट किनारीकृत गर्दा, प्रशासनिक निकायमा हामीलाई तल्लो दर्जाका भारहरूमा सिमित गर्दा, बाँडफाँडहरूबाट बञ्चित गर्दा, नेपाली भाषा बोलेकै कारण विदेशी भनिँदा, मूलधारको राजनीतितिर लम्कने बाटो सबै बन्द गर्दा, क्षेत्रीय एस्पिरेसन र मुद्दाहरू नष्ट गर्न सरकारी चलखेलहरू निरन्तर भइदिँदा, आफ्नै देशमा दोस्रो दर्जाको नागरिक हुनुपर्दा त्यसबाट मुक्तिको सपना देख्ने दार्जिलिङ सधैँ जस्तो आन्दोलित भइबस्छ । नेपालसित सम्बन्ध सुमधुर हुँदाहुँदै पनि जब हामी राजनैतिक रुपले पहिचानको लडाईँ भारतीय गोर्खाहरूको राजनैतिक लडाईँको सवालमा नेपालसितको हाम्रो कतिपय प्रेम र सम्बन्ध नै कठघरामा परिदिन्छ । हो, यतिबेला साह्रै नराम्रो लाग्दोरहेछ । सायद, नेपाल र दार्जिलिङबीच अथवा नेपाल र भारतीय गोर्खाहरूबीचको जुन सिमाना छ, त्यसबारे साहित्यिक समाजलाई प्रबुद्ध बनाउन हामी चुकेका छौं कि ? वारि र पारि सिमाना त छ, तर त्यो भाषिक टेकोमा उभिएको, सांस्कृतिक टेकोमा उभिएको असाध्यै भावुकतासित पो छ कि ? नेपाल हाम्रै पुर्खाको हड्डी मक्किएको ठाउँ हो । यसैले वारि–पारिको नाता असाध्यै प्रगाढ छ । अब त्यो प्रगाढताले मात्र पुग्दैन कि ? आफूले जिम्मेवार कवि भएर हेर्दा त वारि र पारिबीच उभिएको सिमानामाथि दुवै देशबीच राजनैतिक सङ्कथन हुनुपर्ने देख्छु । नेपाली भाषालाई भारतीय संविधानले सरकारी रुपले मान्यता दिएको छ, तर त्यही भाषा बोल्नेमाथि भने राज्यको सन्देह छ । यो मान्यता र सन्देहबीच के छ ? त्यो वारिकाले मात्र केलाउनुपर्ने हो कि पारिकाले पनि केलाउनु पर्ने हो । यो कवि बढो अप्ठेरो छ, उसले सोझो भन्छ, साहित्यिक सिमाना त कतै हुँदैन, तर राजनैतिक र भौगोलिक सिमाना जुन हुन्छ, त्यसले प्रदान गर्ने मनोविज्ञानलाई कविले असाध्यै नमिठो गरी बोकिहिँड्छ । संसारभरकै दसगजाहरूले यस्तै अनेकौँ पीडाहरू बोकेका होलान्, साहित्यले त्यसलाई बडो मनोयोगसित, जतनसित, जटिलतासहित सम्बोधन गर्नु पर्छ भन्ने लाग्छ ।

० साहित्यिक आन्दोलन बारे पनि केही त भनिदिनुस् ? तेस्रो आयाम, लीला लेखन, हस्तक्षेप आदि–आदि ।

—संसारभर कहीँ पनि कुनै पनि साहित्यिक आन्दोलन यदि हुन्छ भने त्यो आन्दोलनको भुईँ आफ्नै समाज हुन्छ । अर्थात् साहित्यिक आन्दोलन आफ्नै माटोमा उम्रिनुपर्छ । साहित्यको सोझो सम्बन्ध समाजसित हो । समाजका जटिलता, अन्तर्विरोध, भत्काइहरूबाट समाजलाई नै हेर्ने नयाँ–नयाँ दृष्टिकोणहरू बनिने हो । आन्दोलनको काम यस्तै दृष्टिकोणहरूको खोज गर्नु हो ।
म सम्झन्छु, मेरो समाज (दार्जिलिङ) लाई— साहित्यिक आन्दोलन किन चाहिने ? लाग्छ, जीवन र समाज बुझ्नको लागि उसलाई नयाँ–नयाँ दृष्टिकोण, दर्शन, विचारहरूले प्रबुद्ध बनाउनलाई होला । यदि यस्तो होइन भने मलाई ती आन्दोलनहरू कुनै स्वछन्द अभ्यासहरू मात्र हुन् भन्ने लाग्छ ।
मेरो समाजलाई कुन साहित्यिक आन्दोलनले दोहोरयाइरहेको छ ? खोज्दै जाँदा समाजमा ती आन्दोलनका छाप–प्रभाव कतै भेटिन्न । बरु अगमसिंह गिरी, हरिभक्त कटुवाल, विकास गोतामेहरूको विचारले पो समाज विस्तारै हिँडिरहेको छ । अगमसिंह गिरीले आफ्नो अनुहार खोज्न आग्रह गरेका छन् । अङ्ग्रेजले छोडेर गइसकेपछि देशमा जुन सङ्घीयता आयो, त्यसले तिमीलाई सम्बोधन गरयो कि गरेन भनेर अगमसिंहले प्रश्न गरेका छन् ।
अखिल भारतीय गोर्खा लिग (दार्जिलिङको पुरानो राजनैतिक दल)— ले भारतका गोर्खाहरूलाई गिरीकै दर्शनको टेकोमा आफ्नो अनुहार छाम्न आग्रह गरयो । आजको मितिसम्म भारतका गोर्खाहरू त्यही अनुहारको खोजीमा छन् ।
हाम्रा लोकजीवनलाई कसले कुन स्वार्थमा दबायो ? देशमा हाम्रो सांस्कृतिक उपस्थिति कत्रो छ ? गोर्खाभित्रका हरेक जातगोष्ठीका पहिचान, उसको भाषा, संस्कृति, समाज, साहित्यलाई कसले छोप्यो ? हामीलाई कुनै पनि विषयमाथि विचार गर्न कर लगाउन कसले कस्ता मनोवैज्ञानिक परिस्थितिहरूबीच पारयो ? हाम्रा चेतना निर्माणको आधार के हुन् ? हाम्रो जरा कता छ, हाँगा कता छ ? यी तमाम सङ्कथन बारे प्रबुद्ध बनाउने साहित्यिक आन्दोलनहरू के के हुन् त भनी खोजिल्याउँदा कहिले तेस्रो आयाम पायौँ, कहिले लीला लेखन पायौँ । दुवै आन्दोलन नेपाली साहित्यमा शीर्षस्थानमा छ । त्यो आन्दोलनको हाइरार्की तोड्न कसैले सक्दैनन् । तर ती आन्दोलनबाट मेरो समाजले पाएको त्यो विचार, त्यो दर्शन के हो त ? जसको टेकोमा ऊ हिँडेको होस् । म त केही पनि देख्दिनँ । संसारभरि अनेकौँ न्यारेटिभ्स छन् । हजारौँ दर्शन छन्, विचार छन्, अवधारणा, ज्ञानहरू छन् । ती सबै कहीँ न कहीँ काम लाग्छन् । हाम्रा भुइँमा उम्रिएका तीआन्दोलनहरू चाहिँ हाम्रो जीवनमा कहाँ छ ? हाम्रो समाजमा कहाँ छ ?
यसरी हेर्दा त्यो हाइरार्की नै तोड्नै नसक्ने गरी अग्लोमा बसेको साहित्यिक आन्दोलनप्रति वितृष्णा पैदा भयो । अहिले त थ्री डी, फोरडी अर्थात् डाइमेन्सन्सहरू छिटछिटो सिफ्ट भइरहने समय आयो । संसारका अरु भाषी समाजले तयार गरेका दर्शनहरू दार्जिलिङ आइपुग्दा सबै आइनपुग्दा रहेछन् । दार्जिलिङले त आफूलाई चाहिएको मात्र लिँदोरहेछ । अरु त काम नलाग्दो रहेछ । संसारभरि नै आइडियोलजीहरू त्यसरी नै वितरित हुँदो हो ।
हामीले भन्यौँ, अघिल्ला जेजस्ता साहित्यिक आन्दोलनहरू भए, त्यसलाई केलाऔँ । पुनर्ब्याख्या गरौँ । चाहिएको टिपौँ, नचाहिएको मिल्काऔँ । किनभने इतिहासलाई पूर्ण रुपमा निषेध गर्न सकिन्न । इतिहासबाट नै अरू फाटक खोजिने हो भनेर हस्तक्षेप शुरु गरयौँ र भन्यौँ— आन्दोलन आफ्नै भुइँमा उम्रिएको हुनुपर्छ । त्यहीँको पानीले, त्यहीँको हावाले, त्यहीँको घामले भेटेको । मलाई लाग्छ, सबै आन्दोलनहरूलाई पर राखेर हामीले अगमसिंह गिरीहरूले भनेका ‘अनुहारको खोजी’— लाई नै हस्तक्षेपको प्रस्थान बिन्दु बनायौँ ।
हामीलाई भयानक ठूलो केही गर्नु छैन । आफ्नै अनुहारसित मिल्ने लेखनको बाटो हिँड्नु मात्र छ । कमसेकम हामी अमेरिका नै पुग्यौँ भने पनि आफ्नै अनुहार बोकेर पुगौँ, जापान नै पुग्यौँ भने पनि आफ्नै अनुहार बोकेर पुगौँ ।

० समकालीन भारतीय साहित्यको सापेक्षतामा त्यहाँको नेपाली साहित्यको आयतन र हस्तक्षेप कस्तो छ ?

आयतन भन्ने कुरा आफैँले बनाउने न हो । हामी फैलिएर नेपालको कुना–कुना पुग्यौँ होला । तर भारतमा पश्चिम बङ्गाल काटेर जान सकेका छैनौँ । पूर्वबाट श्रवण मुकारुङले ‘बिसे नगर्ची’ कविता वाचन गर्दा नेपालको कुनाकाप्चा पुग्छ । पुग्छ मात्र होइन, सडक–सडकमा उत्रन्छ । टिसर्टतिर पनि कविताका टुक्रा छापिन्छ । त्यो सजिलो भएको हो भाषाले । मुकारुङले किराँत भाषामा त्यो कविता लेखेको भए त्यो पूर्वतिरै कतै हल्लिबस्थ्यो होला !
कुनै पनि मुद्दालाई बोकेर लैजाने काम त भाषाले नै गर्ने हो । नेपालका कविहरूलाई ‘नेपाली भाषा’— आफ्नो आवाज कुनाकाप्चा पुरयाउने माध्यम छ । हामीलाई त्यो सुविधा छैन । हामीलाई भारतमा फैलनको निम्ति नेपाली भाषा पर्याप्त छैन । जस्तो नेपालका कविहरूलाई नेपालभरि फैलन नेपाली भाषा नै पर्याप्त छ । यसैले हामीलाई फैलनको निम्ति अनुवादको बाटो हिँड्नुपर्ने बाध्यता छ ।
इन्द्रबहादुर राईको कथा र उपन्यास अङ्ग्रेजीमा अनुवाद भयो । हो बाटो त्यही हो, उनका उपन्यास र कथासित हाम्रो कुरा गयो । मलाई थाहा छ, उनका तेस्रो आयाम र लीला लेखन अङ्ग्रेजीमा अनुवाद हुँदा, हाम्रो कुरा जाँदैन । इबराका ‘आज रमिता छ’ उपन्यास र केही सरल र पुराना कथाहरूले हामीलाई जुरुक्कै बोकेका हुन् । त्यसरी नै हामीलाई जुरुक्क बोकेका धेरै कृतिहरू त्यसरी नै अनुवादको बाटो धेरै भाषाको हात समातेर हामीलाई फैलिनु छ ।
हो, त्यही प्रमुख र असली काम भने पटक्कै शुरु हुन सकेकै छैन । नेपालीमा नै पनि हामी भारतभरि पुग्नै सकेका छैनौँ । भारतका पूर्वोत्तर राज्यका नेपाली भाषीहरूसम्म जानै सकेका छैनौँ । देशभरि छरिएका नेपाली भाषीहरूमा पुग्नै सकेका छैनौँ । त्यसरी पुग्न सक्ने माध्यमहरूको खोज नै हुन सकेको छैन । माध्यमहरूको निर्माण नै हुन सकेको छैन । बडो खुम्चिएको छ भारतीय नेपाली साहित्य ।

० साहित्य–लेखनको लागि विचारधारा, वाद या दर्शनमा प्रतिबद्धता किन जरुरी लाग्छ ? वर्ग–समाजमा वर्ग–साहित्य हुन्छ नि ? आम मानिसका माझमा आजका लेखकहरुलाई कसरी चिन्न पर्ला ? लेखक–सत्ता राज्य–सत्ता अघि कहाँ छ र हुनुपर्छ जस्तो लाग्छ ?

—पहिले त विचारधारा हुनु परयो, त्यसपछि मात्र त्योप्रतिको प्रतिबद्धताको सवाल आउँछ । मलाई लेखकहरूको विचार समाजले पछ्याउँछ कि पछ्याउँदैन भन्ने कुरा बडो प्रमुख लाग्छ । वर्गसमाजमा वर्ग साहित्य हुन्छ नै । जस्तो म झारखण्डी कवि निर्मला पुतुल सम्झन्छु । उनी झारखण्डका आदिवासी हुन् । उनका कविताहरू पढ्दा आदिवासी सौन्दर्य, आदिवासी पीडा, आदिवासी सङ्कट अनुभत हुन्छ । भारतमा आदिवासी डिस्कोर्स अहिले त मूलधारमा पसिसक्यो । विश्वमा नै आदिवासी, दलित, महिलाका मुद्दाहरू मूलधारका डिस्कोर्स भएका छन् । ती त्यसै भएका होइनन् । विचारधाराप्रतिको प्रतिबद्धता र त्यो प्रतिबद्धताका लेखनले भएको हो ।
राज्य सत्ताका आफ्ना स्वार्थहरू हुन्छन् । लेखकले त्यो स्वार्थलाई पश्रय दिने विचारधाराप्रति प्रतिबद्ध बन्ने कि वर्गस्वार्थलाई मूलधारमा लैजाने विचारधारामा प्रतिबद्ध बन्ने भन्ने बारे निर्णय गर्नुपर्ने हुन्छ । प्रतिबद्धता छैन भने त्यो ढुलमुले विचारधारा बन्छ । जसले समाजलाई दोहोरयाउन सक्दैन र राज्य सत्ताले उसको विचारधारामार्फत् आफ्ना स्वार्थहरू लागू गर्ने बाटो पाउँछ ।
विचार भन्ने कुरा चिन्न सक्ने लेखक सधैं प्रतिबद्ध हुन्छ । उसको लेखनले आम मानिसबीच कस्तो विचार सम्प्रेषण गर्दैछ, त्यसैको आधारमा लेखकलाई चिन्न जरुरी बन्छ ।

० साहित्यमा आत्मप्रशंसा (नार्सिज्म) र निन्दालाई कसरी बुझ्न सकिएला ?

—आत्मप्रशंसा र निन्दा दुवै चाहिन्छ । उसको आत्मप्रशंसाको पाश्र्वमा लुकेको स्वार्थलाई चिन्नु परयो । उसको आत्मप्रशंसा काम लाग्दो छ छैन हेर्नु परयो । आत्मप्रशंसा भनेको लेखकीय अस्तित्वको सवालसित नजिकसित जोडिएर आउने बानीबेहोरा हो कि जस्तो लाग्छ । आफैँमाथि भरोसा नहुनेले आत्मप्रशंसा धेर गर्ने हो । वा त्यो एउटा रोग हो ।
निन्दाले लेखकलाई सधैं उर्जाशील बनाउँछ । तर निन्दा सिर्जनात्मक हुनुपरयो । साहित्य स्वस्थ बन्नलाई आलोचनात्मक निन्दा सबैभन्दा अनिवार्य ‘इम्युनिटी’ हो । निन्दाको पछिल्तिर प्रश्नहरू हुन्छन् । सन्देहहरू हुन्छन् । त्यो निन्दा विध्वंसक हुन्न । सिर्जनात्मकतामा गरिने निन्दा पनि एउटा रोग हो, जो लागेपछि मार्छ ।

० साहित्य, पत्रकारिता र राजनीतिको त्रिआयामिक सम्बन्ध बारे तपाईंको अनुभव के कसो छ ?

—साहित्य र पत्रकारिता दुवैको मूलभूत कर्म भनेकै राजनीति गर्नु हो । मैले साहित्यमार्फत् गर्न खोजेको काम साहित्यमार्फत् आफूलाई चिन्न, समाजलाई चिन्न्, समयलाई चिन्न, इतिहासलाई चिन्न, अस्तित्वलाई चिन्न आग्रह गर्ने वैचारिकीसित संलग्न छ । समाजको त्यस्तो घटना टिपौँ वा न्यारेटिभ टिपौँ कि त्यो पढेर त्यही समाजले आफ्नो अनुहार छामून्, मेरो लेखनको जम्माजम्मी लक्ष्य यति नै हो । यो मेरो जुन काम छ, त्यो बडो गम्भीरसित गरिएको राजनीति हो ।
आम मानिसबीच उभिएर म उनीहरूकै कथा भनौँ, बाँचेको कथा र लेखेको कथामा आफ्ना अनुहारहरू कति फरक–फरक रहेछन् त ? त्यो फरक छुट्याउने विचार दिन सकूँ, मेरो लक्ष्य मोटामोटी यति नै हो । पत्रकारिताबाट पनि मैले गरेको काम उस्तै हो, तर त्यो फ्याक्ट, डाटा, घटनाहरूमा आधारित हुन्छ । जस्तो, अहिले म दार्जिलिङबाट भइरहने आन्दोलनका असफलताहरू बारे राजनैतिक दलहरूको चरित्रलाई अघि राखेर बताउने कोसिस गरिरहेको छु । सत्ताले दलहरूलाई निरन्तर प्रयोग गर्नुको पछिल्तिर कस्ता कमजोरीहरू छन्, त्यो पत्रकारितामार्फत् देखाउने कोसिस गरिरहेको छु ।
भारतीय नेपाली भाषीहरूको इतिहासलाई मेटेर कस्तो र कसको इतिहास निर्माण गर्ने चलखेल भइरहेको छ, त्यो बताउने कोसिस गरिरहेको छु । जनता, मुद्दा, नेता र सत्ताबीचका सम्बन्धहरू केलाउने कोसिस गरिरहेको छु ।
राजनैतिक दल र सत्ता मेरो साहित्यिक राजनीतिसित उति त्रस्त छैनन् । किनभने त्यो नितान्तै मिहीन र अप्रत्यक्षसित गरिएको राजनीति हो । त्यसले उसलाई खतरा पैदा गरिहालेको अनुभव उसले गरेको छैन । तर समय मौकामा पक्कै पनि गर्ला नै । पत्रकारिताद्वारा गरिएको राजनीतिबारे दल र सत्ता दुवै त्रस्त छन् । यसैले पत्रकारका आवाज दबाउन दल र सत्ताले अनेकौँ उपायहरूको निर्माण गरेका छन् । अनेकौँ औजार माध्यमहरू निर्माण गरेका छन् ।
कुनै पनि राजनैतिक दलले गरेको चुकाइ बारे लेख्ने वित्तिकै पत्रकार वा लेखकलाई समाजबाट अलग्याउने अभ्यास शुरु भइहाल्छ । डरका अनेकौँ भाष्यहरूको निर्माण गरिएको छ । त्यसैले लेखक होस् वा पत्रकार खुलेर बोल्ने संस्कार निर्माण गर्नमा चुकिरहेका छन् ।
अचेल लेखकहरू कसैको मन नदुखाउने बाटो समातेका लेखनहरूमा अभ्यस्त छन् । पत्रकारहरूको चरित्र पनि लगभग उस्तै छ । साहित्य, पत्रकारिता र राजनीतिबीचको यो द्वन्द्वलाई केलाउने पुस्ता जन्मिएकै छैन । दल र सत्ताको दवाबबीच बसेर काम गर्नुको आनन्द एउटै हुँदोरहेछ, त्यो आफूलाई छाम्नु । मैले आफूलाई छाम्दा मान्छे भेट्छु । त्यही ठूलो कुरा हो ।
बीचको बाटो हिँड्नेहरूबाट म अलग्गिसकेको छु ।

० कविता किन लेख्ने ? तपाईंको आफ्नो कविता लेख्ने प्रक्रिया कस्तो छ ? कवि आफै आख्यान–यात्रामा पनि सामेल हुनु भएको छ
आख्यानतर्फ किन ? कविको लागि आख्यान–मैदान सप्ठेरो–अप्ठेरो के छ ? अबको तयारीमा ताजा पुस्तक कुन विधाको हुँदैछ ?

—कविता वैचारिक अभ्यासको सुन्दरतम् माध्यम हो । कविताले ‘तमिज’ सिकाउँछ । म कुनै कुराले छोइएँ भने मलाई छुने त्यो के हो, त्यो खोज्छु । मेरो ज्ञानले, चेतनाले, वैचारिकीले, अध्ययनहरूले मलाई त्यसलाई केलाउन सहयोग गर्छ । त्यसलाई कुन माध्यमले प्रकट गर्दा म लगायत पाठकलाई सहज हुन्छ, म त्यही माध्यम रोज्छु । अकसर त्यो माध्यम कविता नै हुने गरेको छ ।
म आफूलाई कवि भन्न भन्दा पनि कलाकार भन्न रुचाउँछु । मलाई शब्दको जुन शैली, टेक्स्चर, संरचना वा माध्यमबाट मलाई मेरो कुरा भन्न सहज लाग्छ, त्यही माध्यमबाट भन्न रुचाउँछु । कवि होस् वा आख्यानकार, पत्रकार होस् वा चलचित्रकर्मी सबै कलाकार हुन् । त्यसैले म कहिले आख्यानबाट, कहिले कविताबाट, कहिले आलोचनाबाट, कहिले निबन्धबाट आफ्ना कुराहरू राख्ने गर्छु ।
पुराना कविहरूबाट छानेर सजिला र चर्चित कविताहरूको एउटा सङ्ग्रह निकाल्छु भन्ने सोचेको छु । चियाबारीका श्रमिकका सङ्कट र गोर्खाल्याण्ड आन्दोलनलाई केन्द्रमा राखेर उपन्यास लेख्न शुरु गरेको केही वर्ष बित्यो, त्यो सिध्याउँछु भनेर सोचेको छु । दार्जिलिङको राजनीतिमाथिको गैरआख्यान पनि कति भाग लेखिसकिएको छ, त्यो सक्छु सोचेको छु । निबन्धहरू छापिएका नछापिएकाहरु धेरै छन्, त्यसको किताब छापौँला भनेर सोचेको छु । केही राम्रा किताबहरू नेपालीमा अनुवाद थालेको धेरै भयो, सक्छु भनेर सोचेको छु । थाहा छैन कहिले सक्छु ।
जीविकोपार्जनको निम्ति जुन युद्ध लड्न परिरहेको छ, त्यसले काम गर्न फुर्सद दिएको छैन । फुर्सद पाएँ भने म काम सिध्याउँछु, यो पक्का छ ।

० कुन कविता लेखे देखि तपाईंले आफुलाई गम्भीर कविको रुपमा सोच्न थाल्नु भयो ?

—मैले त पहिलो कविता सङ्ग्रह ‘विम्बगोष्ठी’ प्रकाशित गरेदेखि नै आफूलाई गम्भीर हुनुपर्छ भन्ने सोच्न थाले हुँला ।

० लेख्न मन लाग्ने त नहुने कुरै भएन, तर तपाईं कविता या कथामा के लेख्न चाहनु हुन्नँ ?

—जुन विधाबाट मैले मेरो कुरा स्पष्टसित र प्रभावकारी रुपले भन्न सक्छु भन्ने लाग्छ, त्यही मेरो छनोट हुन्छ । यही भन्ने छैन ।

० तपाईंले साहित्य लेखनमा कस्ता खाले गैरआख्यानिक पुस्तकको भूमिका रहेको अनुभव गर्नु भएको छ ? यो समयमा हामीले नपढी नहुने केही गैरआख्यानिक पुस्तकमा कुन–कुन र किन याद गर्न चाहनु हुन्छ ?

—मैले बितेको वर्ष नोम चम्स्कीको हिन्दी अनुवाद ‘जनमाध्यमों का मायालोक’ पढेँ । कसरी जनवादी र लोकतान्त्रिक विचारलाई जनमाध्यमबाट नियन्त्रित गरिन्छ, त्यसबारे बुझ्न नोम चम्स्कीले मलाई धेरै सहयोग गरयो । रवीश कुमारको ‘मुक्त आवाज’ पढें । भारतीय मिडिया, राजनीति र समाजका ‘न्यु–फेस’ निर्माणमा कस्ता विचारधाराहरूको चलखेल छ, त्यो बुझ्न सहयोग गरयो । भर्खरै अरुन्धतिको ‘आजादी’ हिन्दी अनुवाद आइपुगेको छ, केही च्याप्टर पढिसकेँ, पुरै पढ्न बाँकी छ । म पाए जति राम्रा र आफूलाई मनपर्ने विषयका गैरआख्यानका किताब पढ्ने गर्छु । यो रुचीको विषय पनि हो ।
अहिले मलाई रवीश कुमारको ‘मुक्त आवाज’ र अरुन्धति रोयको ‘आजादी’ पढ्नै पर्ने किताब हो भन्ने लाग्छ । किनभने यसले समसामयिक विश्व–राजनीति र यसका अन्तर्विरोध, कर्पोरेटहरूको औंलामा देशको नीति कसरी नाचिरहेको छ, त्यो बुझ्न सहयोग गर्छ भन्ने लाग्छ ।

वार्ताकर्ता : छम गुरुङ

तपाईको प्रतिक्रिया