इलामका युवा कवि हुन् बाबू बलिन्द्र । हाल उनी रोजगारीको सिलसिलामा कोरियामा छन् । नेपाली साहित्यको कविता बिधामा बिशेषरुपमा क्रियाशील साहित्यीक आन्दोलन फरक आयामका एक अभियन्ता हुन् । याक्थुङ लेखक संघ, कोरिया शाखाका महासचिव उनी बिशेष त सिमान्त चेतनामा लेख्न रूचाउँछन् । उनका कविताहरुले पहिचानको आवाजलाई ससक्त रुपमा उठाईरहेको हुन्छ भने सिमान्तकृत समुदायको आवाजहरुलाई मुखरित गरिरहेको हुन्छ प्रस्तुत छ साताको तीन कविता ।
कहिल्यै नहारेको ईतिहास

कर्णाली र भेरीका आदिम जंगलहरुमा
उडिरहने बादलका झुप्पाहरु जस्तै
फिरन्ते जीवन गुजार्दा गुजार्दै
पुर्खाहरुको झरना झैँ विर्य खसेर
आमाको सुन्दर फूलबारीबाट
बिहानीको घाम झैँ जन्मिएको म
राउटे मानबहादुर…
नेपालकै दुर्गम बाटाहरु हुँदै
सरकार !
यहाँ राजधानीसम्म आइपुगेकोछु।

जीवनको मादल लय समाएर
गिठा, भ्याकुरमा
संघर्षको डार्विन अस्तित्व खोज्दै गर्दा
बतासको गुञ्जयमान बाटो हुँदै
सुनेको थिएँ:-
आँगनमा वसन्त भर्न
रोपिएको हो, नेपालको संविधान २०७२ ।

हामी त बनमै रमाउने बनको राजा
हामीलाई त लाग्छ:-
यो जंगलको परिवेश नै हाम्रो संस्कृति हो।
यो जंगल नै हाम्रो घर, समाज र देश हो।
अनि यो जंगलको हामी नागरिक।
जे छ, यो जंगलमा छ।
त्यसैले त
यो जंगल हामीलाई आमा जस्तै लाग्छ।

सोच्दछु !
रामापिथेकस र जाभामेन हुँदै आउँदा
मानव विकासको पहिलो स्वर्णिम पाइलामा
हामीले टेक्ने धरती एउटै छ।
घामजून उहीँ छन्।
तर…
उत्परिवर्तनको बेइमानी जस्तै
एउटै भूगोल बाँचेर पनि हामी अलग छौँ।
मेरो खाम्ची जस्तो तपाईँको भाषा छैन।
तपाईँको पर्वते जस्तो खाम्ची छैन।
तपाईँले बोले जस्तो पर्वते
म बोल्नै सक्दिन।
मैले जस्तो खाम्ची
तपाईं बोल्नै सक्नु हुन्न।
र त हामी
एउटै सिमामा बाँधिएका अनेक हौँ।
जे हौँ।
जो हौँ।
लाग्छ, एकै हौँ।

तर सरकार!
मेरो एउटा प्रश्न छ:-
म तपाईं जस्तै
सगरमाथाको शीर उभिने नेपाली हो भने
हृदयको स्पन्दनमा माटोको ढुकढुकी बोकेर नेपालमा जन्मेका र नेपालमा बस्ने
कानुनको तराजुमा बराबरी
सबै नेपाली नागरिक हुन् भने
हजारौँ वर्ष अघिदेखि
यहीँको जंगललाई जिन्दगीको सहारा दिएर बस्ने
म राउटे मानबहादुर
कसरी नेपालको अनागरिक भएँ ?
किन ? तपाईँको अखबारले
बारम्बार मलाई अनागरिक भनिरहन्छ ?
सरकार !
म यो प्रश्नको जवाफ चाहन्छु।

उनीसँग: एउटा सोच जिन्दगीको

पाइतालाभरी खोपिएको जिन्दगी
कस्तुरी फूलेर बैँस
मायाको पुतली उड्दै उड्दै
यी चक्रहरु मेटिने गरि
तिम्रो आँखाको खुला राजमार्ग हुँदै
ढुकढुकीसम्मको यात्रा गर्न चाहन्छ ।

तिमीलाई भेट्नु अघि
यो मौसम कहाँ यस्तो थियो र?
बसन्त नै मरुभूमि थियो।
बैँसको बगैँचामा
फक्रन नसकेर अम्लारी फुङ
तिम्रै एक मुस्कान घाम पर्खेर
सदियौँ बूढो पहाड जत्तिकै
अनिदो उभेको कत्ति हो कत्ति!

सुन्छु अचेल
तिमीलाई भेटेपछि
तिम्रै आँखाको भाकाले हिप्नोटाइज गरेर
आफैँभित्र कैद
मृगका शावक झैँ निर्दोष
उफ्रिरहेको यो मुटुको संगीत।
धड्कीरहेका हुन्छौ तिमी।
बजिरहेको हुन्छ प्रेमको एउटा अमर गीत।

तिमीलाई भेटेपछि नै त हो
पखेटा फिजाएर
उड्दै गरेको यौवनको जहाज
तिम्रै ओठको पहाडमा ठोक्किएर
खै! कतिखेर खस्यो भर्जिनिटी?

स्मृतिको आदिम गाउँमा
मयूरको चाल जस्तो
च्याब्रुङको तालसँगै
छुइ…..पकन्दी…गर्दा पो झस्किएँ।
अनि पो सम्झेँ
धान नाच्दा नाच्दै
पालामको भाकामा
जून जस्तै सर्माएको
तिम्रो मुहारको श्यामस्वेत बिगत।

आहा!
जिन्दगीको उज्यालो
साँच्चै!
पूर्णिमाको जून हौ तिमी।

अब यही उज्यालो लिएर
अँध्यारोको विरुद्ध अनवरत यात्रा गर्नुछ।
र,
जन्माउनुछ
एउटा
जिन्दगीको स्वर्णिम बिहान।

तपाईको प्रतिक्रिया