नेपाली कविता लेखनको क्षेत्रमा बलशाली रुपमा उदाइरहेका रोल्पाका कवि टंक बहादुर झाँक्री मगर ‘समीप बैरागी ‘आफ्ना पुस्ताहरुमा प्रतिनिधीमुलक रुपमा आईरहेको छन् । उनका कविताहरुले मानवीय सम्वेदनाहरुलाई यति सजीवरुपमा राखेको हुन्छकी पाठकहरुलाई उनका कविताहरुले बिचार अनुभूतिको बेग्लै अवस्थामा पुर्याइदिन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा समेत पुरस्कृत भैसकेका उनी नेपाली साहित्यमा लामो रेसका घोडा हुन् प्रस्तुत छ साताको तीन कविता ।

प्रिय पत्रकार !

प्रिय पत्रकार !
म त सहर भन्दा सुदूर
दुर्गम बस्तीको कवि हुँ ।

शिरमा बाँधेर – हिउँको पगरी
मुस्कान बाँड्ने गाउँको छातीमा
थुप्रै – थुप्रै दर्दहरू छन्
र, छन् –
हरेक कालखण्डका थुप्रै – थुप्रै घटनाहरू ।

कोरेको छु –
जीवनको लय खोज्न
बादलका पहाडहरू चिर्दै – चिर्दै
गाउँ छाडेर
उडि जाने चराहरूको वियोगान्त
र, कोरेको छु –
तुइनमा झुण्डिएर विद्यालय जाने
कलिला मुनाहरूको मीठो सपना ।

कोरेको छु –
काँध माथि बिरामी बोकेर
खाल्टाखुल्टी बाटोमा
मौसमको आँसु पिउँदै हिँड्ने
बहादुर कुर्कुच्चाहरूको गाथा
र, कोरेको छु –
मेरा पुर्खाहरूको कहालिलाग्दो जीवनी ।

प्रिय पत्रकार !
परबाट सुन्नु भन्दा फरक रहेछ भोग्नु
म स्वयंले
सुम्सुम्याइरहेछु दुखका चाङहरूलाई ।

कोरेको छु –
नाङ्गा पैतालाहरूले हरेक भूगोलहरू चुम्दै
नुन बोक्न हिँडेकाहरू
हैंजाले उतै अस्ताएको हृदयविदारक कथा
र, कोरेको छु –
जंगलमा घाँस, दाउरा गर्दागर्दै
बच्चा जन्माउने आमाहरूको प्रसव वेदना ।

कोरेको छु –
समाज र जीवनको प्राण भर्ने – प्रेमिल भाकाहरू
संस्कार, संस्कृति र भेषभूषाहरू
र, कोरेको छु –
भुँइमान्छेहरूको आवाज
दियो कुरि बसेका आँखाहरूको आशा ।

कोरेको छु –
हुरीको आवेगले उजाडिएको झुप्रो भित्र
मुस्कान पर्खिरहेका ओठहरूको माग ।
र, कोरेको छु –
समयको जोखना हेरेर
आकाशे खेती गर्न आउने
दुर्लभ प्राणीहरूको दोहोरो चरित्र ।

प्रिय पत्रकार !
साँच्चै यस्तो कविता
रङ्गिन सहरबाट प्रकाशन हुने
ठूलो अखबारमा छापिन्छ कि छापिदैन ?

आऊन बड्डा !

आऊन बड्डा !
यतै अल्झेको छ –
ऐंसेलु र चुत्राका काँडाहरुमा
सानीमायाको रेसमी केश जस्तो
तिम्रो बख्खुको एक धर्सो ।

तिमी कति अल्झिरहन्छौ
मन पोल्ने बिरानो ठाउँमा ।

एउटा गर्बिलो इतिहास छाडी जाने
हाम्रो कुलको मुल पितर
देखाएर कौडा जस्तो – चम्किलो दाँत
माझमण्डलमा हाँस्दै – बोल्दै
करकरे जस्तो काँपिराख्ने – झाँक्री बाजे
खोला पारिको खुल्खुले डाँडामा
– शिरमा सजिएको डाँफे चरीको प्वाँख
राखेर आफ्नो ढ्याङ्ग्रो माथि
– खोलेर लाबन पेटी र निकालेर पिठ्युँको छेर्ला
एक्लै रोइरहेको देखेँ
आज राति मध्य रातको सपनामा ।

भत्किएछन् –
पितरहरुका प्राचीन गोरहरु र थानहरु ।

आऊन बड्डा !
लिएर मुठ्ठीमा – अलिकति कमेरो
यसपालिको औँशीमा –
– रङ्गाउँला गोरहरु सेतो कमेरोले
– दिऊँला बाह्रबुकीको चोखो गोकुल धुप
– राखौँला अक्षताको नौ रेखा
– चढाउँला पाती मुर्ला र सरी स्याउला
– सजाउँला फाडुलाको हाँगाले गोरहरुको शिर
– फालउँला छेट्टो – तीन पाने रक्सीको
पितरहरुलाई –
हँसाउँला – अँधेरी रातको जुन जस्तै ।

गएकाहरु फर्किने आशामा
हराएकाहरु भेटिने आशामा
बाँधिएका राता, सेता ध्वजाहरु
देउरालीको लाकुरीमा
फहराईरहेछन् बतासको लहरसंगै ।

थाकेका छैनन् –
प्रतीक्षाका आँखाहरु र जिउँदा आशाहरु ।

आऊन बड्डा !
गएकाहरुलाई –
चिठ्ठी लेखिदिउँला -माटोको रङले
उडि जाने चरीको पखेटामा
ओ परदेशीहरु !
तिमीहरु नै हौ –
यो ठाउँको सबैभन्दा पुरानो मान्छे
अब त फर्क –
यतै फुलाऔँला जीवन, भनेर ।

हराएकाहरुलाई –
भग्नावशेष बंकरतिर संगै खोजौँला
आदिवासी योद्धाहरुको अस्थिपञ्जर
र, सनाखत गरेर भनौँला – प्रतीक्षाका आशाहरुलाई
उनीहरू त यो देशका लागि
भइसकेछन् कहिल्यै नअस्ताउने अमर तारा ।

खुशीले उफ्रिन नपाएको धेरै साल भइगएछ
भूमे बाजाको तालमा – यी पैतालाहरु
र , धेरै साल भइगएछ
न्यानो प्रेम साट्न नपाएको प्रिय मनहरुसँग ।

आऊन बड्डा !
यसपालिको भूमे पर्वमा – भूमी पुजा संगै गरौंला
तानि लैजाने छन् –
– चिम्सी आँखाहरुको भाषाले
जाउँला बुकी फूल टिप्न र मुर्ला काट्न – लेकतिर
– मुल थाङ्गे र मुल थाङ्गेनीको
कदममा कदम मिलाउँदै – भाँचौँला कम्मर
– न्याहो गीतमा बिसाउँला मनको भारी
र पठाइदिउँला सबैलाई – एकताको सन्देश ।

आऊन बड्डा
यतै छुटेको छ –
बर्खे झरीले सिँउदो चिरिएको पहाडको छानो मुनि
झरनाको माधुर्य संगीतसँग
साइँलाबरै र यानीमाया सुन्दै हुर्केको बालापन ।

तिमी कति बसिरहन्छौ
बर पिपल बिनाको उदासी चौतारीमा ।

सम्झने पलहरु सम्झिदिनु

जान मन त पटक्कै छैन मलाई
र,पनि जानैपर्ने भयो
पुर्खाहरु हिँडेको बाटो, पुर्खाहरु पुगेकै ठाउँ सम्म ।

थुप्रै होलान् सम्झने पलहरु सम्झिदिनु
थुप्रै होलान् बिर्सने क्षणहरु बिर्सिदिनु ।

केही सपनाहरू अँधुरै रहने भए
जस्तो कि –
अँधुरो हुन्छ
कलाकृतिको मध्य भागबाट
प्याराग्राफ छुटि गएको कथा ।

केही आशाहरु अँधुरै रहने भए
जस्तो कि –
अँधुरो हुन्छ
कविले एकदिन पूरा गर्छु भनेर
विम्बको खोजी गर्दागर्दै
हुरीसंग उडि गएको कविताको हरफ ।

भेटिनु र छुटिनु सृष्टिको रीत हो
मैले सहर्ष स्वीकार गरेको छु ।

छुट्ने वाला छन् –
डाँफे, मुनाल खेल्ने बर्फिला पाटनहरु
मलाई छातीमा राखेर
मेरै जीवनको वेदना सुसाइरने पातलहरु
जस्तो कि –
छुटि जान्छ
रातको आगमनमा क्षितिजको निधारबाट – घाम ।

छुट्ने वाला छन् –
मेरा पैतालाहरुले चुमेका
उकाली र ओरालीहरु
भिर पाखाहरु र देउराली भन्ज्याङहरु
जस्तो कि –
छुटि जान्छ
खडेरीमा डालीबाट फूलको थुङ्गो ।

छुट्ने वाला छन् –
हृदयले हृदयसँग साउती मार्ने -प्रेमिल साँझहरु
संघर्षको पाइला चाल्न सिकाउने
प्रेरणादायी सुनौला बिहानहरु
जस्तो कि –
छुटि जान्छ
अँध्यारोमा आफ्नो छाया आफैबाट ।

छुट्ने वाला छ्न् –
आँसु, हाँसो बिसाएका चौतारीहरु
घर परिवारहरु र प्रिय साथी संगीहरु
जस्तो कि –
छुटि जान्छ
बिधवा चेलीको ओठबाट खुशीको मुस्कान ।

लागेको थियो –
मेरो आँखाबाट प्रिय मानिसहरु नछुटुन्
उनीहरूको आँखाबाट म नछुटुँ
तर मिच्न नसकिँदोरहेछ – बिधिको बिधान ।

जीवनको अन्तिम घडीमा छु
एकैछिनमा –
छुट्ने वाला छ, मेरो आँखाबाट यो संसार
र, संसारको आँखाबाट म छुट्ने वाला छु ।

तपाईको प्रतिक्रिया