१९ जनवरी हङकङ । क्रान्ति सुब्बा ।

  चलचित्र निर्देशक स्वर्गीय प्रेम सेर्मा माङ्जाबुङेको जिवनीलाई  समेटेर एक स्मृति ग्रन्थ निकट भविस्यमा प्रकाशन गरिने भएकोछ। नेपाली चलचित्रको इतिहासमा वायोपिक चलचित्र (जीवनीमा आधारित) निर्देशन गरेर एक पृथक छवि बनाउन सफल सेर्माले आजिवन कला क्षेत्रमा आफुलाइ समर्पित गरेका थिए ।
प्रकाशन समितिका संयोजक चलचित्र निर्देशक किशोर सुब्बाको पहलमा स्मृति ग्रन्थको पुर्व तयारी तदारुकताका साथ भैरहेको कुरा किशोर सुब्बाले अमेरिकाको न्यु जर्सीबाट जानकारी गराए । यो कर्मको पहल तपाईंले नै गर्नुपर्ने बिशेष कारण के होला ?  भन्ने प्रश्न गर्दा किशोर सुब्बा अतीत संझदै भन्छ्न ” प्रेमजी  र मैले जीवनमा कला बाहेक अरु केहि देखेनौं । ऊनी र मेरो एउटा संझौता जस्तै भएको थियो । म मरे भने  मेरो मुर्ति उनले  बनाउनु पर्ने , ऊनी मरे भने मैले उनको  बनाउनु पर्ने । त्यो दायित्व पूरा गर्न अहिले म लागि परेकोछु।”


रत्न कुमार बान्तावाको जीवनीमा आधारित पहिलो जनवादी क्रान्तिकारी चलचित्र “देउमाइको किनारमा”निर्देशन गरेर  माङ्जाबुङेले नेपाली चलचित्र जगतमा एउटा छुट्टै हलचल ल्याएका थिए।

अरुण पुर्व , छालुम्मा, लिम्बुवान जस्ता बिद्रोहले भरिएका चलचित्रका निर्देशक प्रेम सेर्मा आफै एउटा शालीन क्रान्तिकारी व्यक्तित्व थिए । वुर्जुवा शिक्षा बहिष्कार गर्ने अभियानमा लाग्दा उनले कक्षा ९ बाट वुर्जुवा शिक्षा  बहिष्कार गर्ने क्रममा पढ्नै छोडेको थिए । आजका वामपन्थी अगुवाहरुले उनको योगदानलाई भुल्नु एउटा विडम्बना भएर उभिएको छ।


२०४५ सालबाट नै घनिष्ठ सम्बन्ध रहदै आएको अनन्य मित्र प्रेमजीको लागि स्मृतिग्रन्थबाट  शुरु गरेर अर्ध कदको मुर्ति देखि अक्षयकोष कोष सम्म खडा गर्ने योजना रहेको कुरा किशोर सुब्बाले बताए।
केही समय यताबाट केही दीर्घ रोगबाट पीडित उनको गत असोज ११ गते निजी निवास उर्लाबारी मोरङमा निधन भएको थियो ।

स्मृतिग्रन्थ प्रकाशनको संयोजकमा किशोर सुब्बा रहेका छन् भने सदस्यहरुमा कुल्वा सुब्बा, यासेली योङहाङ, सागर केरुङ, देवेन्द्र खापुङ, क्रान्ति सुब्बा, प्रीति योगी, दुर्गा नेम्बाङ छन् ।

उक्त स्मृतिग्रन्थमा सेमार्का समकालिन साथीहरूको सम्झना, तस्वीरहरुलाई अटाइने छ भने उनको योगदान अभिलेखीकरण, पाएका पुरस्कार सम्मानको दस्तावेजीकरण गरिनेछ ।

सेर्माको जीवनी मुललेखमा समेटिने भएकोले जीवनीलाई सकभर घटाएर उनीसँग घटेका रोचक जानकारी दिन लेखकवर्गलाई अनुरोध गरिएको छ। उनका समकालिन साथीहरु तथा शुभेच्छुकलगायत धेरैजनालाई समेटिने भएकोले १५ सय शब्द नबढाई लेख्न पनि प्रकाशन तथा सम्पादन टोलीले अनुरोध गरेको छ । साथै उनीसँग भएका कुराकानी, तस्वीर, लेखहरू छन् भने उपलब्ध गराइदिन सम्पादन मण्डललाई उपलब्ध गराउन संयोजक किशोर सुब्बाले अनुरोध गरेका छन् ।

लेखरचनाहरु चैत मसान्तभित्र लेख पठाउनका लागि [email protected] मा पठाइदिन अनुरोध गरेको छ । त्यसैगरी स्मृतिग्रन्थलाई आर्थिक सहयोग पनि गर्न सकिने र उक्त आर्थिक सहयोगको नामवली पुस्तकमै उल्लेख गरिने संयोजकले जानकारी दिएका छन् । प्रकाशनबाट शेष रहेको रकममा अरु थप गरि  एउटा अक्षयकोष खडा गर्ने र कलाकारितासम्बन्धि अध्ययन गर्ने  विद्यार्थीलाई छात्रवृति प्रदान गरिने प्रकाशन समितिले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया