कला क्षेत्रमा स्थापित नाम हो सोविता सिम्खडा तर लेखनमा पनि उतिकै सक्रिय उहाँ  ध्यान प्रशिक्षक र ओशो सन्यासी हुनुहुन्छ । उहाँको कविताहरुले शान्ति , प्रेम र सदभावको निम्ति अपिल गरिरहेको हुन्छ। उहाँको ‘वराङ्गना’ नामक कृति प्रकाशित भैसकेको छ । प्रस्तुत छ साताको  कविता तीन 

काँडैकाँडाको बीचमा

तिमी
आकाशमा देखिने अनेकौं ताराहरुको बीचमा
फुलेको सुन्दर फूल हौ
चम्किलो जून हौ
विश्वका प्रसिद्ध पुस्तकालयहरुमा रहेका
अमूल्य पुस्तक हौ ।

मलाई आज त्यहि फूल रोज्न मन लाग्यो
मलाइ आज त्यहि जुन हेर्न मन लाग्यो
मलाई आज त्यहि पुस्तक पढन मन लाग्यो ।

त्यहि फूल
त्यहि जुन
त्यहि किताब
मनभरि सजाएर प्रेम शान्ति र आत्मीयताको हरियालीमा रम्न मन लाग्यो ।

चिन्ता

कसैलाई सपथ लिन नपाएर चिन्ता
कसैलाई बधाई दिन नपाएर चिन्ता
कसैलाई श्रद्धाञ्जली दिन नपाएर चिन्ता

कसैलाई कमिसन लिन नपाएर चिन्ता
कसैलाई सिटामल खान नपाएर चिन्ता
कसैलाई जन्ती जान नपाएर चिन्ता
कसैलाई मलामी जान नपाएर चिन्ता

कसैलाई ओभर टाईम गर्न परेर चिन्ता
कसैलाई घरमा थुनिनु परेर चिन्ता
कसैलाई निद्रा नलागेर चिन्ता
कसैलाई सुत्न नपाएर चिन्ता

कसैलाई नेपाल फर्किन नपाएर चिन्ता
कसैलाई नेपालबाट फुत्किन नपाएर चिन्ता
कसैलाइ धेरै खाएर मोटाएको चिन्ता
कसैलाई एक छाक खान नपाएर चिन्ता ।

अनुभूति भावको

म-
भौतारिदा भौतारिदै
सान्सारिक लालसाको कैदी भए

मुल्य मान्यता नैतिकता र अनुशासनको पाठ
सिकाउदा सिकाउदै
सिद्धान्तको कुनातिर थन्किए

आश्वासनको रङ्गिन पोको
बोक्दा बोक्दै
मृगतृष्णामा ढलेँ

मायारुपी सम्मोहनको दुनियाँमा
हराउदा हराउदै
लट्ठिएर बर्बाद भएँ ।

तपाईको प्रतिक्रिया