लेखक विनोदविक्रम केसी नेपाली साहित्यको क्षेत्रमा असमानता र अन्यायको बिरोधमा निर्भीक रुपमा लेखनको माध्यमबाट खबरदारी गर्ने एक शक्तिशाली लेखक हुनुहुन्छ । उहाँको लेखन र अभिव्यक्ति यति शक्तीशाली छ की साहित्यमा आफ्नो भविष्य खोज्दै गरेका धेरै युवा पिढीहरु उहाँको लेखनको स्टाइललाई पछ्याउने कोशीस गर्छन् । कवितामा नडराई आफ्ना कुरा राख्न सक्नु सुन्दर र शक्तीशाली कविताको स्वरुप हो जो उहाँको कविताहरुमा पाइन्छ। प्रस्तुत छ साताको तीन कविता ।

एक बाकस अन्धकार

हाम्रो जुनी
के रैछ र, जूनकीरी !
बस्, एक बाकस अन्धकार ।

म छु अब यो बाकसभित्र
चकमक, झुलो र झिल्काहरूको तिर्खाले खरिएको छ आँत
पाए देखिन् पिउँथे होला घटघटी एक अम्खोरा उज्यालो
माग गरूँ कोसँग ?
गद्दीमा बसेपछि हिजोका प्रमिथियसहरू
चमेरा भएका छन् र लीन छन् अँध्यारोसँग मधुमासमा ।

म छु बाकसभित्र
चकमन्न–चकमन्न, सुनसान–सुनसान छ एउटा जगत यहाँ
भित्र म छु सन्नाटासँग एक्लै
बाहिर रेमिट्यान्सको रत्यौली चलिरहेको होला
नाचगान, हाँसो–ठट्टा, उत्ताउला हाउभाउ, रमझम…
एक दिन सकिनेछन् यी सबै
त्यसपछि देशको होस ठेगानमा आउनेछ ।

देश भन्नु पनि के रैछ र, जूनकीरी !
बस्, एक बाकस अन्धकार ।

यता मैले एक टुकी, एक चिम, एक मैनबत्ती,
एक पानस, एक टर्च, एक मसाल उज्यालो
कति दुःखले जोगाएर देश पठाइरहें
उता आतसबाजी गर्ने नृशंसहरूले
उज्यालोको खोलै बगाइ दिएछन् ।

प्रधानमन्त्रीको चम्किलो वाहनमा
सानले फरफराउने झन्डाको राताम्यता
रेगिस्तानमा पोखिएको मेरो रगतको कालिगढी हो
म चुपचाप–चुपचाप परदेशमा घोटिएकी थिएँ, र त
विधायकहरूले देशमा होहल्ला गर्ने सुविधा पाए ।

एक गाँस उज्यालो
एक आङ उज्यालो
एक खाँबो उज्यालो
यत्ति त थियो मेरो कामनाको संसार
छोराछोरी र श्रीमानको अनुहारमा
म पोत्न चाहन्थें
कोइरालोको फूलले छर्ने चमक अलिकति
सूर्य, चन्द्रमा र ताराहरूको प्रकाशको
कहिल्यै लोभ गरिनँ मैले
हो, कहिलेकाहीं एक झलक बिजुलीका लागि
तड्पे हुँला ।

परमाणु बमले लैस अन्धकारसँग लड्न
एक ढुङ्गो उज्यालो आकाङ्क्षाबाहेक केही थिएन मसँग
अनि, एक चिम्टी ज्योति बाहेक केही थिएन तिमीसँग
तैपनि, हामीले अन्धकार समक्ष आत्मसमर्पण गरेनौं
हाम्रो जुनी खेर गएन, जूनकीरी !

जास्मिन म्यामको एकहप्ते कार्यकाल

इमान बाँकी भएको अन्तिम होमो सेपियन्सका रूपमा
संसारले उहाँलाई
रत्नपार्कको फुटपाथमा फेला पारेको थियो

देश–देशावर
बेइमानी र धोकेबाजीका ज्वालामुखीहरू फुटिरहेको समयमा
कुनै विराट संयोग
बिग ब्याङ भन्दा पनि विराट संयोगले
उहाँ सिंगो विश्वको प्रधानमन्त्री हुनुभयो
जास्मिन म्याम, अर्थात्
विश्वकै प्रथम ‘वेश्या’ प्रधानमन्त्री

उहाँको कार्यकाल केवल एक हप्ता थियो
त्यो एक हप्ता
मानव सभ्यताको सबैभन्दा सुन्दर कालखण्ड थियो

त्यो एक हप्ता
मान्छेहरू यति इमानदार भएका थिए, कि
प्रेमीहरूले प्रेमिकाहरूसँग
प्रेमिकाहरूले प्रेमीहरूसँग
सच्चा प्रेम गरेका थिए,
बिना कुनै छलछाम, बिना कुनै कृत्रिमता

त्यो एक हप्ता
सबैले आफ्नो काम अप्रतिम इमानदारीपूर्वक गरेका थिए

त्यो एक हप्ता
राजनीति फोहोरी विरासतबाट मुक्त भएको थियो
र, यो सबैभन्दा कञ्चन र सफा खेल भएको थियो

त्यो एक हप्ता
मान्छेहरूको खाद्य संस्कृति बदलिएको थियो,
‘फुड चेन’ टुटेको थियो
ठूला मान्छेले साना मान्छे खान छोडेका थिए

कुपोषित केटाकेटीले जीवनमा पहिलो पटक
सपनामा
अन्न, सागपात, फलफूल,
गेडागुडी, माछामासु देखेका थिएनन्
किनभने, विपनामै तीसँग उनीहरूको भेट भएको थियो

त्यो एक हप्ता
अमेरिकाले दीन देशहरूमाथि बम बर्साएन
शान्ति–दलालहरू बेरोजगार भएका थिए, र
दाल–रोटीका लागि नयाँ रोजगारी खोजिरहेका थिए
कलह उस्तादहरू बाँसुरी फुक्न सिकिरहेका थिए
इजरायलले प्यालेस्टाइनी आमाका शोकाकूल कोखहरूसँग
रूँदै-निहुरिँदै माफी मागेको थियो

त्यो एक हप्ता
पैसाले ईश्वरको दर्जा गुमाएको थियो
र, यो पुनः कागजमा सीमित भएको थियो
(अरूको के कुरा,
नास्तिकहरू समेत यो एउटा ईश्वरको अस्तित्व स्वीकार गर्थे )
र, मान्छेहरूले शताब्दीयौंपछि
सम्बन्ध, भावना, गीत, नृत्य, खेल, चरा, कोपिला, पुतलीलाई पनि
ठूला र महान् कुरा ठानेका थिए

जास्मिन म्याम भावनाले चल्नुहुन्थ्यो
उहाँका सारा कदम हृदयबाट सञ्चालित हुन्थे

त्यो एक हप्ता
जङ्गलहरू फँडानी भएनन्
नदीहरू ढल बोक्न अभिशप्त थिएनन्
ठप्प भएको थियो कार्बन उत्सर्जन
र, यसरी संसार बाँच्न लायक भएको थियो

पृथ्वीको सबैभन्दा पाको जीव—
एक सय उनान्नब्बे वर्षीय जोनाथन कछुवाले
जीवनमा पहिलो पटक
कुनै तानासाहलाई झेल्नुपरेको थिएन

त्यो एक हप्ता
धर्तीलाई मान्छेहरूप्रति कुनै गुनासो थिएन

जास्मिन म्याम विश्वको कार्यकारी भएको
त्यो एक हप्ता
संसारबाट वेश्यावृत्ति उन्मूलन भएको थियो ।

प्रेम : एक भोजन कविता

मायालु !
तिमी आयौ
नुन–पिरो ट्वाक्क मिलाएर आयौ जिन्दगीमा…

तिमी आयौ
त्यस्तो असाधारण केही आएन
ऋतु दुर्घटना गराउँदै
क्या मीठो सरलतासित आयौ

शिशिरमै वसन्त आएन

अँध्यारै थियो औँसीको रात
चन्द्रमा आएन
कुनै दरबारिया कवि
या मुसाहिब सायरले
आह्वान गर्दैमा
शयनकक्षमै आइपुग्ने
के चन्द्रमाको इमान
त्यति फितलो हुन्छ ?

तिमी आयौ
जुन सडक हुँदै
उस्तै थियो त्यो, रुखो–रुखो
धुवाँधुलो अनि
उच्चाटलाग्दा छिरबिरे छालहरू गाडीका
तिमी आयौ
फूलहरूको नाचमग्न लस्कर आएन

मायालु !
तिमी आयौ
महिनौँपछि मजदुरको भान्छामा मासु आयो
हेर, उसका लालाबालाका आँखामा
क्या स्वादिलो चमक आयो
तिनका तृप्तिका पाइलाहरू पुग्नेछन् जहाँसम्म
त्यहाँसम्म फैलिएको हुनेछ
हाम्रो प्रेमको भूगोल

तिमी आयौ
नवजात शिशुको मुखमा
आमाको दूधको मुन्टो आयो
‘हङ्गर इन्डेक्स’को चपेटामा परेर
प्रति पाँच सेकेन्डमा
भोकले मर्छ एउटा बच्चा
तिमी आयौ
र, एउटा बच्चाको ज्यानमा ज्यान आयो

तिमी आयौ
गुँडमा
बचेराहरूका लागि
व्यग्र माउको चुच्चो आयो
ती हुर्किनेछन्, उड्नेछन् एक दिन
र, मास्न उद्यतहरूका हातबाट
एक छिनलाई भए पनि
तिनले खोस्नेछन् पर्यावरण
जहाँ हाम्रो प्रेमले पाउनेछ
हावा, अन्न र पानी

तिमी आयौ
मानौँ, दूर देशको शरणार्थी शिविरमा
खानेकुरा बोकेर ट्रक आयो
आत्मा खोसिएकाहरूले
पुनः आत्मा हासिल गरे
र, हाम्रो प्रेमले एकसाथ रुँदै–हाँस्दै
धारण गरयो
क्या सरस पागलपन

अन्नको अनादर गर्नेहरू खुङ्खार हुन्छन्
प्रेम गर्नु तिनीहरूको वशमा हुँदैन
जस्तो कि, करोडौँ टन अन्न
खेर फाल्ने अमेरिकालाई
युगौँदेखि मान्छे खाने बानी परेको छ
मान्छे खानेले
मरिगए प्रेम गर्दैन

मायालु !
म असाध्यै आदर गर्छु
अन्न र प्रेमलाई
किनभने,
दुनियाँमा हरेक रात
भोकै सुत्ने एकासी करोड मान्छे मध्ये
कहिलेकाहीँ मै पनि एक जना हुन सक्छु
त्यतिखेर तिम्रो प्रेम पाइनँ भने
मेरो भागमा पर्ने छैन
अर्काे सूर्याेदय
अर्काे आशा
र, अर्काे मिठास ।

तपाईको प्रतिक्रिया