खोटाङमा जन्मीएकी कवि सुशीला निनाम अनुज पुस्तामाझ शक्तीशाली कविको रुपमा चिनिन्छीन् । उनका कविताहरुले दमनको बिरोध र भुईमान्छेहरुको आवाजलाई शसक्तरुपमा उठान गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
दुराचारीको हुलिया
आमालाई सोध दुराचारीको हुलिया
आमाले बताउनेछिन
गाउँ भरी न्याय निशाफको फैसला गर्दै हिड्ने
गाउँलेहरुको न्यायाधीश प्रधानपन्चले
पधेरोबाट एक्लै पानी बोकेर फर्किरहेकि
आमाको नितम्ब कस्तरी चिमोटिदिएको थियो ।

भाउजू लाई सोध दुराचारीहरुको हुलिया
भाउजुले बताउने छिन
नैतिक शिक्षा पढाईरहेको शिक्षकले
धाप मार्ने बहानामा कति पटक ब्रा तानिदिएको थियो ।

दिदिलाइ सोध दुराचारीहरुको हुलिया
दिदिले बताउने छिन
समाचार कक्ष भित्र माउस चलाउन सिकाउने बहानामा कसरी टासिन आउँथ्यो सम्पादक ।

साथीहरूलाई सोध दुराचारीहरुको हुलिया
साथीहरुले बताउने छन
सार्वजनिक यातायातमा हिड्दा
बाटोमा एक्लै हिड्दा
बजारको भिडभाडमा
दुराचारीहरुको हात कसरी सल्बलाउछ
दुराचारीहरुको मुख कसरी बर्बराउछ ।

हेर्दा सज्जन देखिने
मुखुण्डोधारी राक्षसहरु
मौका पाउनासाथ गिजोल्न आउन सक्छ तिमिलाइ
तिम्ले देखेको त्यो राक्षसलाई
दुनियाँले ईश्वर मान्न सक्छ
तिमिले त्यो राक्षस हो भन्दा दुनियाँले नपत्याउन सक्छ

आमाहरुले
भाउजुहरुले
दिदिहरुले
इज्जतको डरले
आफू माथी वेदनाको पहाड राखेर
आक्रोशको ज्वाला निभाएर
दुनियाँलाई देखाउनु भएन
चिनाउनु भएन

मानव मुखुण्डो लाएर स्वतन्त्र हिड्न दिनु भो राक्षसलाई
तर
तिम्ले त्यो गल्ती न गर्नु बहिनी
दुनियाँले नपत्याओस नसुनिदेओस
तिमि चिच्याएर भन
यो दुराचारी हो
यो राक्षस हो
सत्य बोल्न न डराउ
बताइ देउ , देखाइ देउ
दुराचारीको हुलिया ।

घरवारविहीन आइमाईहरुको घर

झिसमिसेमा चराहरुसंगै ब्युँझिएर
चरा जस्तै
चारोको जोहो गर्न
ढिकी, जातोमा पुग्ने आमालाई ।
घर भित्रदेखि,बाहिर आगनसम्मै
कुचो खरेटो लगाएर घर सफा गरिरहेकी दिदीलाई ।
अजंगको घाँस को भारी बोकेर
जंगलबाट फर्किरहेकी भाउजूलाई ।
अब म भन्नेछु ।
आइमाईहरुको घर छैन
आइमाईहरुको थर छैन

पितृसत्ताले हजारौं बर्षदेखि
पाप को खाडल देखाएर
बन्धक बनाएको चेतलाइ
मुक्तिको मैदान देखाउनेछु
दमनको फेहरिस्त बताउनेछु ।

पितृसत्ताको वंशावलीबाट
डाइनोसर जस्तै
लोप हुने आइमाईहरुको अस्तित्व
उत्खनन गर्न लाउनेछु
छोराछोरीको नागरिकतामा
नअटिरहेको नाम ,लेख्न लाउनेछु ।

आमाहरुलाई अराजक बनाउनेछु
दिदिहरुलाई अराजक बनाउनेछु
भाउजूहरुलाई अराजक बनाउनेछु

त्यसपछि अराजक आइमाईहरुले
पितृसत्ताले दिने ठाडो निर्देशनको अवज्ञा गर्नेछन
माइतघर ,पराइघर नामको पितृसत्ताको अखडालाइ
पहरा दिएर बस्ने छैनन ।

पितृसत्ताको अखडाबाट निस्किएर
अब
आफै बनाउनेछ्न
घरवारविहीन आइमाईहरुले
आफ्नो सग्लो अस्तित्व अट्ने
स्वतन्त्र सुन्दर घर ।।

म पनि झुट बोल्छु

चुनावी घोषणापत्रमा
चुनावी सभाहरुमा
नेताहरुले
मत बटुल्न
झुट बोले जस्तै

चोरहरुले
अपराधीहरुले
बयानमा
अपराध लुकाउन
झुट बोले जस्तै

म पनि झुट बोल्छु
यथार्थ लुकाउन
कृतिमता देखाउन

मेरो हाल खबर सोध्ने शुभचिन्तकहरुसंग
मलाई माया गर्ने आफन्तहरुसंग
म पनि झुट बोल्छु ।

तपाईको प्रतिक्रिया