पचासको दशकमा निक्कै शक्तीशाली रुपमा उदाएकी कवि भावना शर्मा समकालिनहरुमाझ चुपचाप लेख्न रुचाउने एक शक्तिशाली कवि हुन् । दुई दशकदेखि छापा, रेडियो र टेलिभिजन पत्रकारितामा संलग्न शर्मा बिजमाण्डू डट कमसँग आवद्ध छिन्। पत्रकारितामा स्नातकोत्तर शर्माका ‘जुनको आतंक’ कविता संग्रह र आत्म वृतान्त ‘गणतन्त्रका प्रणेता रामराजाप्रसाद सिंह’ पुस्तक प्रकाशित छन्। प्रस्तुत छ साताको तीन कविता ।
रङ विरुद्ध एउटा क्यानभास
बुढो चित्रकार
बरालिएका कुर्चीले पोतिरहन्छ म मा
कहिले रंगिन कहिले रंगहीन आकृतिहरु….
म क्यानभास
रंगहरुको आवेग सहन विवश !
विचलित छु
छिनछिनमा बदलिइरहने रङहरुले
अशान्त छु
सोच्दैछु, आज बहिस्कार गरुँ यो कोलाज !
असाध्यै रिस उठेको छ
यो चित्रकारसँग
एकैछिन अघि पोतिदिएको सुनौलो रङ खोइ कता उडेछ ?
कत्ति मन परेको त्यो हल्का गुलाबी
त्यो पनि मेटिदिएछ
खैरो पारिदिएको हेर किनारा !
अनि किन नरिसाउँ त म ?
किन बहिस्कार नगरौं उसको साम्राज्य ?
कहिले रातो रङ सजाएर
बेहुली पारिदिन्छ
फेरी एकै छिनमा पखालिदिन्छ
मखमली सपनाहरु
सादा बनाइदिन्छ सेतो पोतेर….
कहिले इन्द्रेणी सजाउँछ
अनि आँखाहरुमा फुल्न नपाउँदै
बगाइदिन्छ निलो रंगमा आँशुको समुन्द्र….
फटाहा छ चित्रकार
अनादि कालदेखि
म माथि यसैगरी गरिरहेछ प्रयोग !
मेरो जीवनको रङ
पटक पटक बदल्ने अधिकार कसरी पायो उसले ?
कसरी बन्यो ऊ विधाता ?
किन छ रङहरुको शासन म माथि ?
पटक पटक कालो रात पोत्छ ऊ
असाध्यै खुले झैँ लाग्छ मलाई
मेरा सपनाहरु कालै रातमा त उज्याला भएर फुल्छन् !
म बुझ्छु,
कुन रङमा अझ बढी मुस्कुराउछन् राता गुलाबहरु
कुन रङले एक बन्छन् क्षितिजमा धर्ती आकाश !
सोध्दैन मलाई
सुन्दैन मेरो र खोइ कसको सुन्छ ?
बरालिन्छ चित्रकार रङहरुको संसारमा
पोतिरहन्छ म मा असरल्ल नखुल्ने रङहरु
प्रयोग गरिरहन्छ
तर बुझ्दैन कहिल्यै
मेरो जीवन कुन रङमा बढी खुल्छ ! !
विचलित छु
अशान्त छु
अझैँ कति बसौं मौन ?
किन नकोरौं आफ्नै रंगहरुको आकृति ?
अनि बोल्छन् पुतलीहरु
बज्यै-
भो सक्तिन अब !
आजैका मितिदेखि
अस्वीकार छ
भनभन झिँगा भन्किरहेको
उनले गिजोलेको कचरक्क पुरो
मलाई माफ गर
‘अचानक मनले भन्यो
नर्कमै परूँ बरु !
मैले निल्ने गाँस
मेरै नामको हुनुपर्छ।
वर्षौं भो-
भान्छा यही हो र भान्छे उही
म यसरी नै हुर्केछु
उनले छाडेको पुरोमा
सधैं भन्किरहेकैथ्यो झिँगा
मानिरहेँ आदेश बज्यै
‘खा खा स्वर्ग जान्छेस्’
कहिल्यै जवाफ लाइन
चुपचाप निलिरहेँ
किन बज्यै
किन …. ?
पुतली खेल्दै थिएँ रे
डोलीमा हाल्दिँदा
झुम्राको पुतली जस्तै
तिम्रो घरभित्र पसेँ
‘खेलौना’ म
इसारामा नाचिरहेँ
कसरी इन्कार गरूँ ?
जसरी खेलायौ
म खेलिएँ
झुलुक्क घाम छिर्यो
आज यो जस्केलाबाट
बाँचुन्जेल नदेखेको स्वर्ग
मरेपछि खै कल्ले देख्ला र !
बज्यै !
भो नदेखाऊ स्वर्गको लालसा
घिन मान्दै निलेका यी गाँसैपिच्छे
म नरक भोगिरहेछु
मलाइ स्वर्गकी दासी होइन
धर्तीकी रानी हुन मन छ
मान्छेकै चोलामा
– मलाई मान्छे झैं बाँच्न मन छ
– मान्छेले झैं सास फेर्न मन छ…
मौन मूर्ति
यहाँ पाइलै पाइलामा
मन्दिर छन्
यी स-साना गोडाहरु
कहिल्यै पुग्न सक्दैनन् त्यहाँसम्म
आकाश र धर्ती जोडिने ठाउँ जस्तै
कति दूर रहेछ देउताको घर
नीलकाँडाको झ्याङमाथि हिँड्दा हिँड्दै
म जहाँ उभिन खोज्छु
तेर्स्याइ दिन्छन् तगारो
मबाट घाम जून समेत खोसेर
देउता कसैको पेवा बनिरहन मिल्छ ?
पक्कै आमालाई थाहा होला
तर उनी पनि बोल्दिनन्
बदलामा उनका आँखाहरु बोल्छन्
कसैले भनिदेओस्
मेरो पैतालामा के छ त्यस्तो
जसले मन्दिर टेक्दा देउता रिसाउँछन् ?
म कति कुदुँ
कति नाघुँ ‘पुजारीुका’ आँखा छली छली मन्दिरको पर्खाल
कति फाल हालुँ घामदेखि जुनसम्म
कति पछ्याउँ नभेटिने त्यो सागरको पुछार
के मैले बोलेको मूर्तिले साँच्चै सुन्दैनन् ?
देउताले त मनको कुरो बुझ्नुपर्ने हैन र !
मूर्तिहरु किन बोल्दैनन् आमा ?
मेरा प्रश्नहरुमा तिमी नबोलेझैं
मूर्तिहरुले जवाफ नदिएका होलान्
तिमी पनि त सयौं पटक घोच्दा मात्र चलमलाउँछ्यौ
के तिमी र मूर्ति उस्तै हो ?
मूर्तिहरु जब बोल्छन्
घण्टी भन्दा तिखो स्वरले बोल्छन्
गड्याङ्गुडुङ् भन्दा चर्को बोल्छन्
मूर्ति बोलेको दिन
भत्किएर यी अग्ला पर्खाल
हाम्रै आँगनमा घ्वाँइपासा खेल्न आउनेछन्
तिमी जस्तै चुपचाप बसेका मूर्तिहरु…
आमा… अब तिमी पनि बोल है ! !