कानूनमा स्नातक, समाज शास्त्रमा स्नातकोत्तर गरेका कवि तथा गीतकार चन्द्र कुबेर खापुङ्ग हाल नेपाल प्रहरी सेवाको प्रहरी नायव महानिरीक्षक चुपचाप लेख्न रुचाउने लेखक हुनुहुन्छ । आफनो समुदायमाझ सामाजिक ,मानसिक रुपान्तरणको निम्ति सुसुप्तरुपमा लागि परिरहनु भएका खापुङ लिम्बू पालाम लेखनमा पनि परिचित हुनुहुन्छ प्रस्तुत छ साताको तीन कविता

महसुस गर्न देउ उसलाई

उड्न देउ-
चीलहरुलाई खुल्ला आकासमा
चिथर्न देउ नङ्ग्राहरुले निर्मम
तब पो बढ्नेछ विश्वास आफ्ना नङ्ग्रा र पखेटाहरुप्रति
हुनेछ भरोसा
आफु बसेको डालिमा होइन
आफ्ना नङ्ग्रा र पखेटाहरुमा ।

गुन्जन देउ-
आर्तनादहरुलाई बेरोकटोक
फैलिन देउ खित्काहरु स्वच्छन्द
तब पो अस्तित्व हुनेछ आवाजहरुको
र,
ओठहरु खिलखिलाउने छन आफ्नो तागत देखेर ।

उर्लिन देउ-
खहरेहरुलाई आफ्नै गतिमा
बगाउन देउ सामु आउने फोहोर मैला पनि
तय गर्न देउ आफ्नै लयमा गन्तब्य
तब पो थाहा पाउनेछ खहरेले
आफ्नो सिमितता र आफैं तोडिनेछ उसको घमण्ड ।

आफुभित्र तिमीलाई अनुभुत गर्छु

पारिजात पनि सुर्यलाई प्रेम प्रस्ताव राखेर
अस्वीकृत भएकी थिइन रे,
बिक्षिप्त भइन रे र आत्महत्या गरिन रे
तर , उनको अन्त्य कहाँ भयो र ?
उनको सुवास पृथ्वी रहीन्जेल रहनेछ ।

हो तिमी – त्यही पारिजात बनेर फुल्नु
तिमीलाई कसैले चुड्ने छैन
दिनमा उदाउने सुर्यले
तिमीलाइ हेर्न पाउने छैन
तिमीलाई चुम्न पाउने छैन
तर तिम्रो सुवासको निम्ति सँधै लालायित
तिमीलाई शिरमा सजाउन लालायित
तिम्रो अस्तित्व यो आकाश , धर्ती , हावा जस्तै रहस्यमयी
पारिजात – तिमीलाई अनुभुत गर्न चाहाने म एक साधारण कवि ।

 

स्वार्थी मान्छे

मानिस स्वार्थको लागी
आफ्नो विबेकलाई बन्धकी राख्दोरहेछ
आफ्नो फाइदाको लागि
अरुको ज्यान देवी देउरालि भाक्दो रहेछ
ढुकुटी भर्न पाए कहिले नथाक्दोरहेछ

आफ्नो पेट भर्न
अरुको भाग पनि खोस्दोरहेछ
भोकले अरु मरेको
टुलुटुलु हेरिरहन सक्दो रहेछ
रगतको भल बगाएर
शान्तिको मन्त्र जप्दो रहेछ
सुर्यलाई पनि हत्केलाले छेक्न खोज्दो रहेछ

आफ्नो मात्र देख्ने,
अरुले गरेको नदेख्दो रहेछ
कलमले पनि सत्य होइन
फाईदा मात्र लेख्दो रहेछ
हो रहेछ यो संसारमा मान्छे जतिको
स्वार्थी प्राणी अरु कोही होईन रहेछ ।

तपाईको प्रतिक्रिया