लेखक सरस्वती श्रेष्ठ `सरू´ चार दशक भन्दा लामो समयदेखि नेपाली साहित्यमा निरन्तररुपमा क्रियाशिल लेखक हुनुहुन्छ । २०२५ सालमा सूर्यपाल १ लमजुङमा जन्मीएकी यी लेखक शिक्षण पेशामा हुनुहुन्छ । एक दर्जन भन्दा धेरै बिभिन्न संघसंस्थाहरुबाट सम्मानित उहाँका हालसम्म प्रकाशित कृतिहरूमा `थुँगा थुँगा जिन्दगानी´ गीत सङ्ग्रह , दुई कविता कृति `एक झुल्को घाम ओर्लेर सडकमा´ ,`फूलहरूको आँधी´ र `किट्टी´नामक बाल कथा सङ्ग्रह प्रकाशित छन् । उहाँका कविताहरमा मानवीय भावनाहरुलाई बहुतै शालीन र मिहिनरुपमा प्रस्तुत गरिएको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

रातो गुलाब छुन सख्त मनाही छ

पात झरेर यौवनको
फेरि पलाउन नसकेका मुनाहरू
भित्र भित्रै मक्किसकेका
उत्तरार्धका उन्मत्त वैंशले
रातो गुलाब हेरिरह्यो
मनको आँखीझ्यालबाट

आँखीझ्यालबाट सित्तैमा हेरिरहँदा
उर्लन्छन् बिछट्टै उन्मादका नदीनालाहरू
उम्लन्छन् बिछट्टै मदहोसका रगतहरू

रातो गुलाबको
तप्प चुहिएको मधुरस
सक्दैन हात पसारेर चाट्नलाई
पट्ट पट्ट देउली फुट्न तयार
बैँसालु रातो गुलाब
बोकेर सुगन्धका ऋतुहरू
सल्बलाइरहन्छ ऐनाभरी
वृद्ध वर्तमानका लालायित नैनाभरी

आतुर आतुर बुढ्यौली पुरुषार्थ
छुनै नपाइ हेर्दाहेर्दै गुलाबको बैँस
तारा झरेर त्यसै बिलायो आकाशमै
तर
रातो गुलाब मुस्काइरह्यो
यौवनका उन्मत्त सुगन्ध फैलाएर
झुम्मिउन् बैँसालु भंवराहरू यसरी नै
परैबाट थुक निलेर
खबरदार
रातो गुलाब छुन सख्त मनाही छ ।

झ्याउँकीरी

बूढो बकैनाको रुखमा
तुन्द्रुङ्ग झुण्डिएर
झ्याउँकीरी
घामले टेकेको डोब हेरिरहेछ
चरचरी छाती चिरिने गरि

बिदा हुने बेलामा घामले भनेथ्यो-
जीवन कर्कलाको पानी हो
छुनै नपाई ढल्पलाउने
भोलि ब्युंझँदा बिहानीसँग
म पनि ब्युँझेछु भने
भेटौँला यही वकैनाको रुखमा

तिमी पानी भर्ने निहुँमा सुटुक्क यतै आउनु
तिमी खनायो खाने निहुँमा लुसुक्क यतै आउनु
र भरौँला तिर्खाएका मनहरू धीत मरुन्जेल
र टिपौँला आश रित्तिएका पोल्टाभरी खनायो धित मरुन्जेल
गोठालोमा मनका गीत गाउँला
रुँदै हाँस्दैर हाँस्दै रुँदै
बूढो बकैनाको रुखमा
तुन्द्रुङ्ग झुन्डिएर साँझपख झ्याउँकीरी-
हेरिरहेछ आफैले टेकेका पाइतालाका डोबहरू

घामले छोडेर गएपछिको अँध्यारो साँझलाई
फेरि ब्युँझाउन कुन बिहान आउने हो
र गाउने हो उही गीत
बस माया आजको रात …फेरि भेट हुँदैन एक साता….

ओ अनामिका
ओ, अनामिका !
तिमीले बाँचेका अनाम जिन्दगी
यसै यसै पलाइरहे
धेरै पटक मुर्झाएर पनि
दुखाइको ऐंजेरू पलाउँदै सुक्दै
दुखाइको ऐंजेरु सुक्दै पलाउँदै

प्रत्येक समय
प्रत्येक प्रहर
कोही आउँछ
सुम्सुम्याउँछ
तिम्रो जिजीविषा ,
खेल्छ खेलाउँछ
अवस्थित खेलौनाहरू
तिनै खेलौनाहरूको आडमा
तिमीमा अन्तर्निहित सुरहरू बेसुरहरू
बज्छन् कि बज्दैनन् कुन्नि
बजाउँछन् आउनेहरू आफ्नै तालमा
बजाउँछन् आउनेहरू आफ्नै सुरमा
गाउँछन् आउनेहरू आफ्नै लयमा
ओ, अनामिका
साँच्चै तिमीभित्र
सङ्गीतका झङ्कारहरू बज्छन् कि बज्दैनन् ?
तिमी किन यति बिघ्न निरीह बन्छौ आफैंसँग
भत्काऊ आफूमा निहीत
सहिष्णुताको पर्खाल
बगाऊ आफूमा निहीत शीतल शीतल हिमनदीहरू
च्यातिदेऊ मर्यादाका रेशमी रेशमी पर्दाहरू
र फुटाइफेउ ज्वालामूखी पहाडहरू
तिमीभित्र आगो जन्मनुपर्छ समयको
तिमीभित्र आगो हुर्कनुपर्छ समयको।

डड्नुपर्छ खेल्नेहरू आगोमा
डढ्नुपर्छ बजाउनेहरू आगोमा
डड्नुपर्छ गाउनेहरू आगोमा ।

तपाईको प्रतिक्रिया