फुल जस्तै कोमल यी कविताहरु प्रेम र अनुरागले भरिपुर्ण छ । कवितालाई सहिष्णुता र समर्पणले ओतप्रोत भएर लेख्नु सबै कविको बसको कुरो होइन । कवि राजकुमार सुब्बा आफनो लेखनमा लिम्बु मिथलाई उठान गर्दै सुन्दर कविता लेख्न सक्ने शक्तीशाली कवि हुन् । उनको हालसम्म कविता , गजल गरि चार कृतिहरु प्रकाशित भएका छन् । प्रस्तुत छ साताको तीन कविता

अनुभूतिको कुईनेटाहरु उक्लीदै

जसरी –
प्रत्येक बर्ष तमोरमा बगिरहने पानीको रङ
निलो हुँदै बर्खामा धमिलो बग्छ
उसैगरि-
तिम्रो मन धमिलो बगेको यो आँखाले जीवनभर देख्न नपरोस् ।

जसरी –
झर्छ रुखहरुबाट पातहरु पहेलिदै
जीवनको लामो सास फेर्न
उदाउछ जसरी प्रत्येक रात आकाशमा जुनसँग ताराहरु
जीवनको आफ्नै लयमा
जसरी आकाशबाटै पानीका थोपाहरु झर्छ
तिम्रो आँखाको डिल हुदै
म-
उसैगरि नुनिलो तिम्रो आँखाबाट कहिल्यै बग्न नपरोस् ।

सम्झनाका पर्खालहरु भिजाउनलाई
रातहरु खस्छ जसरी शीत बनेर
एउटा गहिरो निन्द्रासँगै
खस्छ-

जसरी एउटा प्रेमीको हातबाट गुलाफ
खस्छ आँखाबाट रातभरि देखिएका सपनाहरु बिहानै
म-
त्यहि सपनाहरुको पोया समाउदै तिम्रो आँखाबाट कहिल्यै खस्न नपरोस् ।

मेरो प्रिय मान्छे

आउ –
आज प्रेमको नाउमा निरन्तर बगिरहने तमोरलाई साक्षी राखेर
प्रेमको लाख बत्तीहरु सल्काईदिउँ प्रेमको दियोले
लेखिदिउँ कवितामा हाम्रो आफ्नै प्रेम ।

बनाउन नपरोस् प्रेमको चिता
तिमी र म सरिक भएर बरु बनाउन सकुँ
तमोरको किनारमा आफ्नै मुन्धुमी ताजमहल
जहाँ काटिने छैनन् हाम्रा हातका औंलाहरु……. ।

मेरो हजुर

हजुरलाई-

मेरो दुख र संवेदनाहरुले कहिल्यै नछुनु भनेको
आकाशमा निरन्तर देखा परिरहने एकाङ्की बादलका केहि टुक्राहरु
तर ,

घनघोर बर्षा हुदैं झरीमा परिणत हुनु जस्तै भएको छ ।

लाग्थ्यो हजुरसँग –
कसैले गर्न नसक्ने गहिरो माया गर्ने बिशाल मन छ त्यो छाती भित्र
मेरो ह्रदयको पराकम्पन नाप्ने अदभुत यन्त्र छ हजुरसँग
लाग्थ्यो
मेरो जीवनको अनेक रंगहरु मध्येको हजुर एक रंग हुनुहुन्छ
जहाँ –

मैले कुनै रंगहरु पोत्ने कहिल्यै प्रयत्न गरिन ।

सोच्थे हजुर त मानिसहरु भित्रको पनि
एउटा अलग्गै मानिस हुनुहुदो रहेछ

र त –
ईश्वरको पुजा हैन हजुरको आरधनासँगै
मेरो यो ब्रहमाण्डको दैनिकी सुरु हुन्छ ।

बाँकी रहेको खाली ठाउँहरु
लाग्थ्यो हजुरले नै भरेपछि पुर्णता भएको हो
तर –
म भ्रममा रहेछु
यतिका बर्षसम्म हजुरकै मायामा लपेटिएर कुम्भकर्ण जस्तो
एकयुग सुतेर ब्युँझिएपछि थाहा भयो
हजुरको मन त –
स्पात जस्तै कडा
मरुभूमी जस्तै रुखो
चट्टानले बनेको कुनै ग्रह भन्दा कम रहेनछ ।

तपाईको प्रतिक्रिया