फिदिममा स्थायी बसोबास गर्ने कवि लक्ष्मीप्रसाद ढुङ्गाना नेपाली साहित्य लेखनमा स्थापित नाम हो । प्राध्यापन पेशासँग संलग्न हाल उहाँ पाँचथर बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँका कविताहरुले सामाजिक न्यायको निम्ति आवाज उठाईरहेको हुन्छ । शुशासन , मानवता प्रेमले भरिपूर्ण उहाँको कविता र व्यक्तित्व फिदिम जिल्लाभरी युवा पुस्तामाझ सम्मानीय छ। प्रस्तुत छ साताको तीन कविता ।

भ्यू टावर र सपना

ठीक गर्यौ यो ठाउँमा पाठशाला नबनाएर
नत्र केटाकेटीहरुको कोलाहलले
यो ठाउँको परम शान्ति विथोलिन सक्थ्यो
फेरि पनि ठिकै भयो
यहाँ अस्पताल नबनाएर
नत्र,

बिरामीहरू र शव गृहका विभत्स लाशहरु
शोक विहल आफन्तको भीड
तिनका अनिच्छित कर्कश
शोक धुनहरूले
यो ठाउँ प्रदूषित हुन सक्थ्यो
कसरी सहन सक्थे
तिम्रा शान्तिप्रिय कानहरुले
ती कर्कश आवाजहरू
किनकि हामी शान्ति प्रिय पात्र
बुद्धका सन्तान
परम शान्तिको खोजीमा
भौतारी रहन परेन कुनै अमूक भूमि
घर दैलोमा नै
शान्तिको श्वास फेर्न पाएका छौं
टावरबाट वरपरको कालो सुन्दरताको
दृश्यपान गर्न पाएका छौं

दुःखको एक मानु जुटाउन
काखमा दूधे बालक च्यापेर
पसिनाले लपक्कै भिजेको शरीर
खुइय ! सुस्केरा हाल्दै
केवल सय रुपैयाको सस्तो सपनामा
बाध्यताको घन समातेर
एकतमासले गिट्टिकुटिरहेका
झिना हातहरू
केही मलिन अनुहार पनि
डिस्को थेगमा नाच्ने अप्सरा लाग्ने रैछन
स्वादले निहार्न जाने भ्यू टावरबाट

अलिपर तिनै मलिन अनुहारका
केहि थान भन्टयाङ भुन्टुङहरु
एक प्याकेट फुच्छे चाउचाउमा
भोक विचक्याउँदै
त्यसकै मसला खोसाखोस
र परम आनन्दको चटाई
कुनै तारे होटलमा
कालिजको मसालेदार रोस्ट चपाउँदै
पञ्जी र फ्री फयरमा मस्त
सभ्रान्त बच्चाहरु झैं देखिदा रैछन्
निहार्न जाने तिम्रो जादुमयी भ्यू टावरबाट

हिजो सायद देखे थिए होलान जनताले
संघर्षमा समृद्धिको मिठो सपना
धन्य छौं हामी जताततै भ्यू टावर आविष्कार
गरिदिएका छौ
र त
यो अपार समृद्धि हेर्न मिलेको छ
आफ्नै घर आगनबाट
हाम्रै पालामा ।

खोजी उज्यालोको

तिमी थाप, निरन्तर थापिरह अनेक धराप
मेरा बाटाहरूमा
बाटो काट्न सकेँ भने
सम्झन्छु, म सफल यात्री हुँ
लिन्न कहिल्यै कुनै प्रतिशोध तिमीसित

उठाऊ हातभरी हिलो
र छ्याप मेरा मुखमा
छी भनेनन् कसैले भने
ठान्छु, म उज्यालो व्यक्ति हुँ
गर्दिनँ तिमीलाई नराम्रो देखाउने प्रयास – कहिल्यै

गर, गर्नुसम्म गर गाली
तिम्रा ती तुच्छ वचनले
मुसुक्क हाँस्न सकुन्जेल
मान्छु, म आफूलाई धैर्यवान्
झुक्किएर पनि तिम्रा लागि
आफ्नो मुख जूठो पार्ने छैन

वा, मान गर
सम्मान गर
माला लगाइदेऊ
म त्यसमा पनि गर्व गर्ने छैन

अल्झनु छैन मलाई एकैछिन पनि
अहंकारको छुद्र पासोमा
किनभने थाहा छ मलाई
मेरो खोजी
खरानीको थुप्रामा
बरु खोज्छु
क्रमशः सङ्लिँदै गएको बग्दो पानीमा
वा, क्रमशः पाउलिँदै गएका
शिशिर भोगिसकेका रुखहरूमा
वा क्रमशः वैलाउँदै गएका फूलका बोटहरूमा

तिम्रो गाली जति भ्रम हो
तिम्रो अपमान जत्रो भ्रान्ति हो
तिम्रो माया पनि त्यत्रै माया त हो
म छाड्दै छु ती सबै
बिस्तारै
किनभने मलाई थाहा छ,
मान्छेले खोज्ने उज्यालो
पुतलीले बत्तीमा खोज्ने उज्यालो भन्दा
धेरै फरक छ –
तमसोमा ज्योर्तिगमय !

वसन्त

शिशिर ऋतु भाग्दै थियो
जब म डुल्दै थिएँ तिम्रो मनको बगैंचा
कोपिलाऊन तयारी गर्दै थिए मन भरि
लालीगुराँस र अन्य थुप्रै सुगन्धित बन फूलहरू
हेर्दाहेर्दै समयले फक्रियो वनको सुन्दरता
उजाड पोथ्रा हरुमा भरिए कोमल मञ्जरी
बासन्ती पवनले मेरो नाकै सम्म पुर्याएको
तिम्रो तनको मादक उच्छवास
आँखा चिम्म गरी मस्त थिए
कल्पनाको सुखपानमा
पुरै सृष्टि रोकिए झैं लाग्ने अनुभूति
म खुशीले चिच्याउनै लागेको थाहा छ
एकाएक तर्सिएँ कोकीलको मधुर सोधाई
को हो ? को हो ?
सायद कोकिल कण्ठबाट निस्कदै थियो जानकारी
दुनियाँका लागि वसन्त आगमनको
उत्तेजनाले जव खोले दुई नयन
देखें कहिले नचाहेको चित्रपट
तिमी अरु कसैको हात समाएर यात्रारत थियौ
मेरो चाहनाको उल्टो मार्ग
म संग त केवल छोडिएका थिए
तिम्रा सुकोमल न्याना हातका
कहिल्यै नमेटिने चिसा स्मृतिहरु
निक्कै टिठयाएर हेरेको थिएँ
को थियो त्यो तिम्रो साथ ?
अहँ ठम्याउन सकिन कसै गरी
सायद उसले पनि सकेको थिएन छ
ठम्याउन त्यो नवीन आकृती
सधैं सधैं म संग देख्ने तिमीलाई
देखेर कोही अपरिचितसंग
अनौठो लागेको हुनुपर्छ
त्यसैले त
आतिएर फुट्यो वसन्तको पहिलो बोली
सोधनीमा तिमीलाई
को हो ? को हो ?
तर अँह न त कुनै सूचना छोड्यौ मलाई
आकस्मिक गमनको
न पायो कोइलीले कुनै उत्तर तिमीबाट आजसम्म
र त भुल्न नसकेर साक्षी हुनुको निर्मम पीडा
युगौबाट धोका र प्रेम वियोगको
बिचरा कोइली
सोधी रहन्छ हरेक साल उही समय
उही स्वर
को हो ! को हो ?
मूर्खहरू भन्ठानेर सूचना वसन्त आगमनको
विपत्तामा मनाइ रहन्छन्
अर्थहीन खुशीयाली
तर
म भने फक्रन नसकेका गुराँसका कोपिला

नियतिको क्रूर आँधीले क्षत विक्षत
कोमल बासन्ती मुजुरा
जो ठ्याकै आफ्नै प्रतिबिम्ब लाग्छ
नियाल्दै छरपस्ट च्यातिएका सपना
र अधुरो प्रेम
मात्र टोलाई रहन्छु
बस टोलाई रहन्छु ।

तपाईको प्रतिक्रिया