नेपाली साहित्यमा स्थापित लेखक दीपा राई पुन हाल बिओटीको पुरस्कार समिति सदस्य र अनेसास बोस्टन च्याप्टर निवर्तमान अध्यक्ष हुनुहुन्छ । दर्जन भन्दा धेरै साहित्यीक संस्थाहरुबाट सम्मानित उहाँका दर्जन भन्दा बढी साहित्यीक कृतिहरु प्रकाशित छन् । गीत र कवितामा शसक्त उहाँको कविताहरुले आदिवासी सौन्दर्यशास्त्रलाई विशेष रुपमा अनुमोदन गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

नोस्टालजियामा घोलिएको वर्तमान

समयले चुटेर परिस्थितिले लखेट्दा
आफ्नैको माया धेर हुँदा हुँदै
सपना नगरीमा पाइला पुगेछ
झिलिमिलिमा तिरीमिरी हुँदै
उभिने ठाउँ खोज्दा
आँगन छाडेर आँगन खोज्न
हराएको आफूलाई खोज्नु जस्तै
भेटे जस्तो लाग्दै छाडिन्छ
भूत र वर्तमान
अनिश्चित भबिश्य उ पर हाँस्दै छ
सिर्फ त्यो उत्सव मनले भन्छ

घुरेनमा चल्लाहरू खेलेका छैन रे
पाठापाठी दौडेका छैनन् रे
आमा झ्यालमा टोलाएकीछिन्
यस बर्ष भस्में कसले फाड्ने
कोदो कल्ले रोप्ने
छानो छाउन खर कसले काट्ने
बेसी टार र पाखाहरू हेर्दै
आमाको आँसुले बलेसी भिज्छ
सिकुवामा जुत्ता चप्पल घोप्टो छ

जीवनलाई खर्पन लाएर समयले
रात दिन बोकेकै छ
उठ, हिड , केहि गर भन्दै
अलार्मको सिर्कुनाले बजाउँछ
म लुरूलुरू हिड्दैछु
यन्त्र मानव जस्तो
घण्टा घण्टाले हिसाब बुझाकै छ
पसिनाको मोल तोक्दै
तर जीवन उतै छाडि आए
मेरो हंसले देउराली काट्नै सकेन

गोठ सार्दै हिड्दा
खर्कमा बटुलेको रहरहरू
नौकीरी जस्तै झुम्मिन्छन् सपनामा पनि
एकलासमा आमा आँखामा आउँदा
बाँझोको डल्ला फुटाएर समथर पार्छु
भकारी भरी देख्छु अन्न
बालीहरू लहलह देख्छु
तर ज्यानलाई खतरा देख्छु आमा
म फर्केर कसरी आउँ रु

बम बारूद सस्ता छन् रे
एमबुसको जाँतोमा
कलिला मनहरू पिसिन्छ रे
दाईले भाईलाई पासों थापेर
घाइते भएको हेर्नुलाई
दोबाटो चौबाटो ढुकेर
प्रतिकारको जुलुस निकालिन्छ रे
सोझोलाई सपना बेचेर उक्साउदै
जीवनलाई बन्दुकको नालबाट उडाइन्छ रे नी आमा

मलाई मृत्यूसँग सधै घृणा छ आमा
मलाई फुलिरहने मन छ जीवन बागमा पनि
खोरिया खनेर उब्जेको हरियो बाली जस्तो
रहरहरू दुबो मौलाउन मन छ
घरदेशको तीतेपाती सम्झी सम्झी
परदेशमा शुद्धीकरण गरिरहन्छु आफूलाई
तिमीले खुवाएको टिम्बुर , खानाक्पा र चिम्फिङ्गले
म जाति छु आमा हृदयबाटै
तिम्रो सम्झनाको संवेगले मात्र पनि
म पदार्थ भएको छुइन आमा

पाइला तिमी सम्म पुगेन
अबिजय युद्ध लडेर
कसैको स्वार्थलाई शहिद नहुनु हो आमा
जीवन सफलताको अभ्यासमा
एकलव्य भएर निस्कनु छ
तर म द्रोणाचार्यलाई गुरू मान्ने छैन
मेरो योग्यता क्षमता र शक्तिको गुरू
म आफै हुनेछु
म आफ्नो अस्तित्वलाई
गुरू भेंटी राख्ने छैन आमा

बन फूल हूँ फूल्दो छु जहाँ पनि
बिचारले भस्में फाड्दै
अस्तित्व निश्चय उमार्छु।

हिमाल स्वप्न संवाद

सृष्टि कै उज्यालो ज्योति
औंसीमा पनि टिलपिलाई रहेको
संसार कै शिखर चुलीमा
शिरमा सेतो फेटा बाँधेर
आ-आफ्नो थलोमा गर्वले
अस्तित्वबोधले ध्यान मग्न
वुद्वत्व प्राप्त
शान्त र स्निग्ध
मेरा हिमालहरु
पुर्खाले जोगाई राखेको
आदिम सम्झनाको तस्वीर
म साँझ बिहान आँखा मिच्दै हेर्छु

कुनै बेला
म सानो छंदा
कोप्पा भन्नु हुन्थ्यो
बिहानै झुल्केको घाममा
टल्केको हिमाल देखाएर
जीवन त्यसरी बाँच्नु पर्छ
अन्तस्करण प्रज्वलित भएर
आदिम पुर्खाको वस्ती हो त्यो
जहाँबाट हामी फैलियौं
हेर त नानी
हाम्रो मन हिमाल जस्तै निश्चल छ

समयको चोट खपेर
कयौ चोट सहनलाई
हिमाल हाँसेकै छ हरपल
कसैको उ जीवन भरिको सपना
छातिमा कुल्चिएर आउँछन्
र जान्छन त्यसरी नै
संसार झ्याली पिट्दै
हाम्रो आँगनमा टेकेर
हाम्रो माटोलाई छोएर
हाम्रै भूमिमा खुशी भेट्टाएर
जान्छन अनेकन अनेकन यात्रु

बिपनाका परिदृश्यहरु
दुखेर हृदयभरि
निष्ठुर समयको चुटाईले
हिमाल मौन रोएर
आधामा धेर ग्रहण लाग्दा
उज्यालो खोज्न केटाकेटीहरु
अज्ञात प्रदेश लागेको देख्दा
आफ्नै माटोमा खुशी उमार्ने
कोप्पाको आस्था र बिश्वास टुट्दा
वहाँको कर्मठ हात,पाखुरा,पसिना
चाउरिएको अनुहारबाट शोकले
बलिंद्र झरेको वर्षाको भेल
सपना भरी देख्छु

सम्झिरहेछु कोप्पालाई
कोप्पाको आँसुको संवादलाई
विस्मृतिमा टल्किरहने सम्झनाको शीत
धुमिल एउटा पाटामा
कोप्पाको तन बिसाउने ओत
मनको आँगन झलल भएर
उतरमा हाँसेका कन्चन हिमालहरु
त्यहिँ हेरेर हामी हुर्केउ
कोप्पाको सेवा पुजा गर्ने बेछुक
उतै फर्केर मौलाउथ्यो
घैया र पाङ्दुरे कोदो पाक्थ्यो
हिमालको चिसो हावाले
अन्नबाली मिठो हुन्छ
मन पनि स्वच्छ सफा
पिढीमा फतफताउनु हुन्थ्यो कोप्पा

समय बिब्ल्याटो हिडेर
कोप्पाको तीतेपातीले पनि
शुद्धीकरण गर्न सकेन
प्रदूषणको कालो बादल
हिमाल छाति पिटीपिटी रोएर
आँसुको ढुंङ्गा पल्टदा
कतिको सपना कुल्चिएर
जीवनबाट किनार लाग्दा
कोप्पालाई जागै भेट्छु म सपनामा
प्रकृति रिसाउँदा अनर्थ हुन्छ
बिटुलो के गर्यौ तिमीहरुले
बित्यास आई लाग्यो यहाँ

वर्षौं भयो मेरो कोप्पा
धर्तिमा जूनी काटेर बाटो लागेको
आज पनि उतिकै माया छ
कोप्पालाई हिमालको
छिमेकी चार धाम जाँदा
ढोल ,झ्याम्टा र भारदार बटुलेर
हिमाल तिर्थ जानुहुन्थ्यो
द्यौता त खोला नाला पहाड
जङ्गल र हिमालमा बस्छन्
कि त मनमा हुन्छ भन्नु हुन्थ्यो
हिमाललाई माया गर्ने कोप्पा
चट्टानको पहाड सुकसुकाएर
उहिले जसरी हिमाल नहाँस्दा
मलाई लाग्छ कोप्पाले
मृत्यूको सिकुवाबाट हेरिरहनु
बाटो नपाएर पो होकी ?

जीवन–जयन्ती

म बेरोजगार, लाचार र निरुपाय भएको त्यो बेला
देशका ठेकेदारहरू सम्झी सम्झी मुर्मुरिन्थेँ
टुँडिखेलमा बडेमाको खाल्डो खनेर
नेताहरुलाई पुरेको सपना देख्थेँ ।

अहिले समयनदीमा हेलिएर
अनुभवको शान्त छहारीमा आईपुग्दा
मनमनै गम खाँदै सोच्दछु–
बित्थामा यी नेताहरूलाई किन पुर्नु ?
बरू लाईन लगाएर
हत्केलामा गैँती–बेल्चा–झम्पल–कोदालो दिएर
बाँझाहरुमा जीवन–जयन्ती मनाउन पठाउनु पर्ने जीवनभरि
सजाय यस्तो दिन मन लाग्छ आजभोलि ।

बाटो खन्दैखन्दै स्कूलसम्म पुर्‍याउन,
त्यहीँबाट दोबाटो जोडेर अस्पताल बनाउन
समृद्धिको साम्राज्यले देशलाई सिँगार्न
यिनलाई मिहिनेतको पोखरीमा डुबाएर हरघडी
सजाय यस्तो दिन मन लाग्छ आजभोलि ।

शक्तिका निम्ति षड्यन्त्र रच्ने खेलाडीहरू
आत्मग्लानिले सड्छन् सड्दैनन् थाहा छैन
आफूले फैल्याएको दुर्गन्ध
यिनले सफा गर्छन्–गर्दैनन् थाहा छैन
तर, जीवनले तिनलाई क्षमा गरेको यस घडी
सर्वाङ्ग पखाल्न मन छ यिनको अमृतले
ताकि यिनको दृष्टि फेरियोस्
र यिनले सबैलाई समान देखुन्
खूनको रंगर एउटै हो भन्ने महसुस गरुन्
शक्ति, उन्माद र अहंको दलदलबाट निस्किएर
निमुखा, निर्बल र निर्धनका निम्ति
समर्पित हुने सुविचार यिनले जपून् सँधैभरि
सजाय यस्तो दिन मन लाग्छ आजभोलि ।

नोट:

कोप्पा – बाजे
बेछुक – अदुवा
बाटो नपाउनु – किराँत संस्कृति अनुसार मरेको १३ दिनमा मृतकलाई बाटो लगाएर बाँचेकोसँग सम्बन्ध छुटाएको बिश्वास गरिन्छ तर आत्मा अशान्ति भए मृतकले बाटो नपाएर यही लोकमा भड्किएको हुन्छ पनि भनिन्छ। संस्कार अनुसार चाहिं फेरि बाटो लगाएर मृतकलाई मुक्ति दिइन्छ ।

तपाईको प्रतिक्रिया