तेह्रथुम आठराईको कवि सुनिता राई कन्दङ्वा हाल इजरायलमा बसोबास गर्नुहुन्छ । उहाँका कविताहरुले सामाजिक विभेद र न्यायको निम्ति आग्रह गरिरहेको हुन्छ । विश्व नेपाली साहित्य महसंघको महासचिवको रुपमा कार्यरत आजको सातामा हामीले उहाँलाई प्रस्तुत गरेका छौं । प्रस्तुत छ साताको तीन कविता

खस्नुको सौन्दर्य

चुपचाप
खस्नु मुस्कुराउँदै
मुस्कुराइरहनु खसेपछि पनि
अनगिन्ति पाइतालाले टेकी गएपछि राख बन्नु हाँसी-हाँसी ।

खस्नु-
पतन हुनु अस्तित्व समाप्त हुनु होइन
खस्नु आशा बाँकी हुनु हो त्यहाँ नवीन सम्भावना रहनु हो ।

एकदिन-
समयको हाँगोमा नयाँ पाउलो लाग्नु हो
बादलको परेली उक्लिएर
प्रेम गर्ने ओठ र मुटु सिञ्चित गर्नु हो
एकबिहान आकाश च्यातेर घाम उदाउनु हो
अँध्यारो सङ्गलेर जून मुस्कुराउनु हो ।

केही बित्ता आयु थुप्रै गज सपना बोक्नेहरू
बुझ –
परिवर्तित सत्य आउनु जानुको विधान
खस्नुको सौन्दर्य हुन्छ ।

चिसो मुटु र आँखाहरू

उज्यालो बिम्झनु अघि
साँझले भत्किएको धुरी उक्लनु अघि
sसुनियोजित….
सचेत….
कल्याङ्-मल्याङ दौडीरहन्छ
आधुनिक बसेली भएर ।

चिसो मुटु बोकेर
भर्खरै यही बाटो भएर
गएका एकहूल ए.आइ.(आर्टिफिसियल इन्टेलिजेन्स) आँखाहरू
संवेदनाहीन युद्ध लडिरहेछन्
र,
मुस्कुराउँन बिर्सिएका
सभ्यताकै उन्नत सभ्य मानव
आफ्नैं पराजयमा थपडी मारिरहेछन् ।

यस समय –
आत्मिक प्रेम कुनै युगको मिथक कथा बनि
उत्तरआधुनिक सीमाको फलामे काँडेतारमा
यसैगरी आत्मदाह गरिरहेछ ।

दुख्दैनन्
आजका साइबोर्ग(कृतिम मानव) मान्छेहरू
बग्दैन उनका आँखाबाट नुनिलो भावनाहरू
न्यानो अनुभूत गर्दैनन्
इस्पात बनेका हृदयहरू
चोटमा रुँदैनन् …..
खुसीमा हाँस्दैनन्……
हो
आजका मान्छेहरू ईश्वर बनेका छन्

ईश्वर फगत ढुङ्गा ।

यो युग-
आस्था उठेको युग हो
विश्वास गुमेको युग हो
संवेदना स्खलित भएको युग हो
प्रेमको रङ्ग बेरङ्ग भैसकेको युग हो ।

आउ,
अस्तित्व अन्त्यको सुपरनोभा बिस्फोट हुनुअघि
अन्तिमबार हामी एकाकार हौँ
र जन्माउँ घाम, जून, ग्रह/नक्षत्रहरू
छरौँ केही मुस्कान केही आशा/भरोसा
केही खुसीहरू र निर्माण गरौँ अर्को छुट्टै ब्रम्हाण्ड ।

विधुवा समय

आमा !
ठिक यतिबेला समय
रेटीदै समयकै धारमा घस्रीरहेछ
बोकेर पिठ्युँमा गह्रुङ्गो घाइते युग ।

ओधान नजिक
तिम्रो सग्लो सिलोक सुन्दै
निदाएको म युग घाइते भएको समय बिम्झीएँ ।

स्निग्ध मुस्कानको सिङ्गो आकाशमा
मृत्युको मुस्लो मडारीरहेको समय बिम्झीएँ
त्रासमा
मुटु, आँखा र पाइताला
बरफ जमेको समय बिम्झीएँ ।

त्राहिमाम कोलाहलमा
खोला, नदी, बगर, पहाड, धरती सबै
काँपीरहेको समय बिम्झीएँ ।

टेकसो
लगाउँ कहाँ
रगतको नदीले लत्पतिएको यो विक्षिप्त मन
आस्थाको मन्दिर ध्वस्त भएको समय बिम्झीएँ ।

यो समय
मानवीय संवेदना
करुणा स्खलित भएको समय हो
प्रेम
मृत्युको मिसाइल बनेको समय हो
विश्वास बारुद उडेको समय हो
सद्भाव डढेलो लागेको समय हो ।

आमा यो युग बिछट्टै बिमार छ
म समय विधुवा भएको बेला बिम्झीएँ
मृत्यु बोकेर हत्केलामा युद्धको धुँवाभित्र कतै
चिच्याईरहेको समय बिम्झीएँ ।
आमा –
म रेटिदै समयलाई नयाँ धार दिने युद्वमा छु ।

तपाईको प्रतिक्रिया