तीसको दशकको एक जब्बर र सुन्दर कवि विधान आचार्य नेपाली साहित्यको एक स्थापित नाम हो । २०३६ सालको सडक कविता क्रान्तिको सकृय सदस्य , यो क्रान्तिको नेपाली साहित्य र तत्कालिन राजनितिमा आफ्नै बिशिष्ट योगदान छ । उहाँ लामो कविता लेख्न रुचाउने कविको रुपमा पनि चिनिनु हुन्छ । चार दशक भन्दा लामो समयदेखि विश्वविद्यालयमा प्राध्यापन गर्नु भएका आचार्य हाल अन्तर्राष्ट्रिय रुपमा विभिन्न विश्वविद्यालयहरुमा संलग्न हुुनुहुन्छ । उहाँका कविताले समानता, न्याय र करुणाको बिषयमा बोलीरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता ।

भोक

भोका मानिस
भोको सहर
भोका जनता
सबै हेरिरहेछन् मलाई
मानौँ ती सबै
मलाई निल्न तयार छन् ।


डर लागेर
खुम्चेको छु म आफैमा
र नियाली रहेछु
भोका मानिस
भोको सहर
भोका जनता ।


चुपी खुकुरी उध्याउनेले
तिनलाई धारिला बनाए जस्तै
मानिसहरू पनि दाँत अर्जापेर
पर्खिरहेका छन्
मै जस्तै कोही आओस्
र उनीहरू काँचै चपाऊन् ।


भीड छ, र त्यै भीडमा
धेरैलाई देखिरहेछु
तीमध्ये कति
मेरा आफन्तहरू पनि छन् ।


म आफन्तहरूसित धेरै डराउँछु
खासगरी ती आफन्त
जो भोका हुन्छन्
ती अरूभन्दा धेरै
खतरनाक हुन्छन्
म, तिनै
खतरनाक आफन्तहरू देखिरहेछु
भोका र खुङ्खार मानिस देखिरहेछु ।


मानिसहरू पहिले
झुपडीमै बस्थे
चाहना राख्थे
दुईछाकको हातमुखको
अहिले देख्दैछु म
भोक शायद पराकाष्ठामा पुग्यो
उनीहरू झुपडीबाट निस्केर
महलका भोकमा छन् ।


सासानो काम थियो
यो पुरानो कुरा भयो
अहिलेको कुरा बेग्लै छ
ठेकेदार हुने भोक छ ।


देख्दै छु म
यिनीहरूको भोकले
सबैथोक खाएको छ
सभ्यता, संस्कृति
सडक, पुल र कतिको परान
थाहा छैन कतिको कुर्सी
र थाहा छैन कति आमा र बहिनीहरू ?


जो जो पहिले
सासाना कुर्सीमा थियो
उसलाई अब
ठूलो कुर्सीको भोक छ
जसले पहिले थोरै थियो पाएको
जसले पहिले थोरै थियो खाएको
उसको नयाँ भोक
झन् आतङ्ककारी भएको छ ।

१०
जसलाई भेट्यो
उही भोको छ
पद, पैसा वा प्रतिष्ठाको भोक
अघिल्तिर कोही आयो कि
ठान्छन् – अहो ! एक सिकार हो,
भोकले अन्धा भएका यी मान्छेहरू
कि सिकार गर्छन्
कि सिकार बन्छन् ।

११
न बुद्धि छ न विवेक
भोक बढदै जाँदो छ
के देख्दैछु म यो
भोका मानिस
भोको सहर
भोका जनता ?
कहाँ आइपुगेँ म ?
ए भाइ, ए हजूर
ए दिदी ए बहिनी
मलाई पनि थोरै थाहा होस्
के तपाईँहरू भन्न सक्नुहुन्छ
कि तपाईँ आफै
कत्तिको भोको हुनुहुन्छ ?

मेरो कविता


म तिम्रा लागि सबैथोक गर्नसक्छु
सिवाय एउटा
मेरो कविताको बली दिन सक्दिनँ ।


पन्ध्र असारका रमझमहरूमा
खेलाउने निहुँले मेरो कवितालाई
पापीहरूले हिलोमा बेस्सरी झकुल्याएका छन्
मैले धोएर त्यसपछि
जतनसाथ पालेको छु
आजभोलि यो कति सफा छ, सुन्दर छ
मेरा लागि — सफा र सुन्दर छ ।
यसलाई फेरि हिलोमा दल्मल्याउने इच्छा छ भने
तिमी मेरो घरको बाटै नहिँड
म तिमीलाई,
मेरो कविता दिन सक्तिनँ ।


तिमी घोडाहरू पाल
तिनीहरू शरीर बोक्न सक्छन्
तिमी गोरुहरू पाल
तिनीहरू दालभात जोत्न सक्छन्,
र कुकुरहरू पाल
तिनीहरू रखबारी भुक्न सक्छन्
तर मेरो कविता
तिम्रो अधिकारको सीमारेखा भन्दा पारि छ
तिमी यसका आधारमा
कुनै क्षितिज ताक्न सक्ने छैनौ
मेरो कविता
तिमीले थाम्नसक्ने गतिभन्दा
धेरैगुना बढीको बेगमा छ
र तिम्रो विचारको सङ्कीर्ण घेराभन्दा
यो धेरै तहहरूमाथि छ ।


शकुनि छलकपटले
मेरा र यी जस्ता धेरै कविताहरू
वनवास र गुप्तवासमा छन्
विचारको देशबाट निष्काशनमा छन् ।


तिनीहरूलाई समातेर कजाउने तिम्रो प्रलोभनले
तिमीलाई डढाउन पनि सक्छ
कवितामा ब्रह्मशक्ति हुन्छ,
शक्ति र आदर्श मेरो कवितालाई
म तिम्रा सेवामा उपस्थित गराउन सक्दिनँ ।


मसित अरू थोक माग
म दिन तयार छु
शरीर माग
एक पुस्ता मात्र बाँच्ने यस हाडछालाले
मैलाई दुख दिएको छ,
प्राण – पसिना
म जे पनि समर्पण गर्न तयार छु
तर सिर्जनाको घाँटी समात्न म सक्दिनँ
म मेरो कविताको बली दिन सक्दिनँ ।

देशः एक मायाको फ्युजन


चुच्चा र थेप्चा गोरूहरूले
सामूहिकरूपमा मिलेर
जोत्दै गएका साँधका सियोमा
जतनसाथ टुप्पी लर्काएर आली लगाउने
हली र बाउसेका पछिल्तिर लुकेर
फूलका लागि तयार पारेका बियाडमा
कसले रोपीरहेछ आगोका गोलाहरू ?


उसको होला एक सपना
हुर्काएर आगोलाई
निस्फिक्री मनका बनहरूमा झोसिदिने
र हाम्रो मन डढेको निर्बाध हेर्ने
हामी थेप्चे हौँ कि चुच्चे हौँ
टुप्पी हौँ कि बुच्चे हौँ
कुर्ता हौँ कि दौरा हौँ
कछाड् हौँ कि धोती हौँ
फगत नेपाली हौँ, मात्र नेपाली हौँ ।


खेलेर हाम्रा नाकहरूसित
आफ्नो नाक ठड्याउन म कसैलाई दिन्नँ
मधेसदेखि चुलिँदै गएर
पहाडको बाटो माथि चढदै
हिमालसम्म पुग्दा
मेरो नाक सगरमाथा भएको छ
बुझ, सगरमाथाको जग मधेस हो
मधेसको छानो सगरमाथा हो ।


चुनाव त एक बहाना हो
लिगलिगे दौड जस्तै
केही सपना बिके, केही गास बिके
केही बिके, केही बिकेनन्
कसैका बिके, कसैका बिकेनन्
मनको हाट न हो, एक दिनको मेला न हो
बिकेका सपनालाई बिपना बनाउन
हुम्ला र झापाको मीत लगाउन आऊ
कञ्चनजुङ् र ताप्लेपुर बनाउन आऊ
सुस्ता र थोराङ्लाइ मिलाउन आऊ ।


छातीमा रेखा कोर्नेहरू
यसपटक चमेराझैँ उल्टा झुण्डिए
म तिमीलाइ पनि उत्तिकै माया गर्छु
मायामा रेखा कोर्न कहाँ मिल्छ र ?
आऊ म कुर्ता लिएर आउँला
तिमी कमीज लिएर आऊ
कोही गुन्यूमा आऊ, कोही घलेकमा आऊ
तिमी खाँडो जगाउँदै देउडामा आऊ
म कौरामा कछाड् कसेर आउँला ।


देश त एक मायाको कुरा हो
कुनै सर्त छैन मायामा
मनभरि माया मात्र लिएर आऊ
बाँकी सब दुई दिनका रामछायाँ हुन्
सपना एक्लै देख्नेहरूलाई भनौँ
आऊ हामी सबै साथसाथै सपना देखौँ
र सपनालाई बिपना बनाउन
साथसाथै मायाका पाइला चालौँ ।


त्यो दिन
मेरो सपना तिम्रो सपना हुनेछ
तिम्रो बिपना मेरो बिपना हुनेछ
त्यही सपना र बिपनाको फ्युजनका लागि
पर्खिरहेछु म
सँगै पाइला उचाल्ने प्रतीक्षामा
त्यही मायाको चौतारीमा ।

तपाईको प्रतिक्रिया