हाल ललीतपुर जिल्ला प्रशासन कार्यलयमा सहायक सिडीयोको रुपमा कार्यरत कवि अमरदीप सुनुवार नेपाली कविता लेखनमा राम्रो सम्भावना बोकेका कवि हुनुहुन्छ । उहाँका कविताहरुले सुशासन, शान्ति र समानताको निम्ति अपील गरिहेका हुन्छन् । आफ्नो लेखनीमा स्पष्ट  सुनुवारको कवितामा आएको यही स्पष्टता उहाँको  लेखनीको  मौलिक स्वर र पहिचान हो । प्रस्तुत छ साताको तीन कविता ।

एक गैर आवासीय नेपालीको डायरी

मलाई जन्माउने यो उर्वरशील माटो
पुर्खाको पौरखको नासो सबै – सबै बिर्सीएर
जन्मभूमिको वात्शल्यता परेलीमा मात्रै साँचेर
मनले नमानी नमानी रहरहरु देशमै छोडेर
कहरले विदेशीनु पर्दा दिन दहाडै ऐठन परिरहन्छ
आफै भित्रको आन्दोलीत मनले हजार प्रश्न गरिरहन्छ
जीवनको अस्तित्व माथिनै प्रश्न गरिरहन्छ
भाग्य र कर्मको पीङ खेल्दा खेल्दै
देशप्रेम ओतप्रोत छातीभरी लिएर मातृभूमि गुमाउनुपर्दो रहेछ ।

देशभक्तिको आँशुले रुवाउँदोरहेछ
चौतारीको चिसो छायाँले चिमोटीरहँदोरहेछ
सुखी संसारको खोजीमा भौतारिदा भौतारिदै
पराई देशको नागरिक बनेर सुखी जीवन पाए पनि
खुशी जीवन नपाईदोरहेछ…..
मातृभूमिप्रतिको असली आस्था जुनी – जुनी पनि नमर्दोरहेछ ।

बाँच्नुको बाध्यताले –
जिन्दगीले मुल बाटो छोडेर नयाँ – नयाँ बाटो खोजी गर्नुपर्दोरहेछ
अजङ्ग बाध्यताको फलामे भारी बोकेर
पराय भूमिमा संघर्षको परेड खेल्नुपर्दो रहेछ
अर्कोको देशलाई, पराई भेषलाई

आफ्नै गैरी खेतको माटो जस्तो सम्झीएर छातीमा सजाउनु पर्दोरहेछ
अर्कोको देशलाई आफ्नो बनाउनुपर्दो रहेछ ।

राजनितीक अधिकार बाहेक
आर्थिक सामाजिक र साँस्कृतिक अधिकारपत्र पाएको
त्यो दिन –
जीवनकै अर्को उपलब्धि करार गरिरहेछु
मातृभूमिप्रति ऋृणी हुँदै जन्मभूमिप्रति अनुगृहित हुदै
देश – डायरीको पानाभरी गैर आवासीय मन पोखीरहेछु ।

रङ्गमञ्च डबली र समृद्धि

पुस्तौं पुस्तादेखि-
आधा पेट बाँच्दै आएकाहरु
सुखको सपना मात्रै साँच्दै आएकाहरु
माना, नाना र छानाको जोहोमै जीवन गुजारेकाहरु
एक्लै एक्लै अन्त्यहिन म्याराथुनमा निस्केकाहरु
फेरि –
दरिद्रता र गरिबी विरुद्ध धावा बोलौं
गुल्जार जीवन प्राप्तिका लागि समृद्धि यात्राको संकल्प गरौं ।

खुल्लामञ्चमा समृद्धि घोषणा सभा गरौँ
सामूहिक समृद्विको युद्व छेडौं
स्वरोजगारको कारखाना चलाऔं
उद्यमशीलताको वृक्षरोपण गरौं
खाडी मुलुक पुगेका युवालाई
स्वदेशी समृद्धिको यात्रामा र्फकाऔं
अभावमा बाच्नुपर्ने मुग्लान भासिनुपर्ने लाहुर जानुपर्ने
यी सबै बाध्यता अन्त्य गर्न
स्वदेशमै समृद्विको हाईटेक ईन्जिन चलाओैं
सरकार –
बिकास र गरिबी अन्त्यको निम्ति समृद्विको साँचो खोलौं ।

नागरिक चाहान्छ –
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट एकताको स्वर गुञ्जीयोस
उधौंली , उभौंली ल्होसार र दशैँ उत्सवहरुले
यो भुमीमा शान्ति र सुख अनुभूति गरोस
लेखक र पत्रकारको कलमले
निराशा, अभाव र अन्यायको समाचार लेख्न नपरोस
गुम्बा, गुरुकुल र मुन्धुमप्रति विस्वास यथावत रहोस
मुलुकको हरेक चौक र सुदुर गाउँहरुमा रहेका
नागरिकको अनुहारमा खुशी छाओस

यो देशको तमाम बिद्वानहरुलाई एउटा प्रश्न
के हामी सबै मिलेर
देशको समृद्धिको निम्ति मानवताको दृष्टिबाट सोच्न र बुझ्न सक्छौं ?

आधुनिक चराहरु
म –
बिस्वस्त थिएँ
आफैले सुनेको थिएँ
आफैले देखेको थिएँ
उनीहरु प्रेमको गीत गाउछन्
उनीहरु स्वतन्त्रताको राग अलाप्छन्
समानताको बाँसुरी बजाउछन् र शान्तिको सङ्गीत भर्छन् ।

तर-
समयको सुनामीसँगै चराहरुको संसारमा
आधुनिक चराहरुको बोलबाला छ
वास्तविकताको विलोम प्रतिपादन भएको छ

हेरिरहेछु ……
टेलीस्कोपको माध्यमले हेरिरहेछु

माईक्रोस्कोपको सहायताले देखिरहेछु
परेवाहरु –
आधुनिक चराहरुको झम्टाईमा परेका छन्
चखेवाको प्रीतहरु….
चराहरु आधुनिक चराबाटै त्रसित छन्
मयुर , डाँफे जुरेली र कोईलीहरु आधुनिक चराबाटै त्रसित छन् ।

जब जब आधुनिक चराहरुमा
स्वार्थका तीखा नङग्रा शक्तिका धारिला चुच्चा
अनि, सत्ताका बडेमान पखेटा पलाउदोरहेछ
आधुनिक चराहरुले चराहरुकै अस्तित्वलाई चपाउदारहेछन्
चराकै जीवन सखाप पार्दा रहेछन्
मानवतामाथि धावा बोल्दारहेछन् ।

आधुनिक चराहरु मिलेर
मसान भेषमा मुर्कुट्टाको मुखुण्डो ओडेर
चराहरुकै स्वाधीनता चपाउदा रहेछन्
चराहरु चराकै सिकार बन्दारहेछन्
साना चराहरुको शत्रु ठुला चराहरु हुदारहेछन् ।

मेरो –
हृदयको टेलीभिजनमा रिमोट कन्ट्रोललाई थिचेर
च्यानल बदल्नु छ
मैले मलाई नै बदलेर म प्रतिस्थापन गर्नु छ
ठुला चराहरुको मारबाट साना चराहरुलाई बचाउनु छ ।

तपाईको प्रतिक्रिया