हङकङमा बसेर कविता लेखीरहेकी कवि बालिका बान्तवा मुलत कवि हुन् तर उहाँको संस्मरण र आलेखहरुमा पनि उत्तिकै शसक्त रुपमा कलम चल्छ । मानवीय संवेदनशीलतालाई उहाँका लेखनीले टपक्कै टिप्ने कोसिस गरेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।

मस्तिष्क र मन

मस्तिष्कलाई सधैं जितीरहने मेरो मन
तिमीले मेरो मनको भाव नबुझेपछी
मेरो मस्तिष्कलाई सकृय बनाएकी छु चञ्चल बनाएकी छु……

ति यादहरूलाई…
ति पलहरूलाई…
मन भित्रबाट निकालेर मस्तिष्कमा केन्द्रित गरि
मस्तिष्कको चञ्चलताले मनलाई जित्नु छ ।

हो! हिजो आज म चञ्चल भएकी छु
र त अलि सहज भएको छ ज्यान
जीवनको यो मोडमा आएर थाहा भयो
अरुसँग उधारो लिएका खुशीहरू
केवल भ्रम रहेछ….
क्षणभरलाई रहेछ….

सोचेंथे-
तिमी नै म हुँ र म नै तिमी हौ
तिमी दुख्दा म दुखिरहेँ
तिमी रूदा म रोईदिएँ
तर-
कहिले सोचिन हाम्रो मन मुटु दुईटा हो भनेर
तिमी र म फरक हो भनेर हो ।

त्यसैले नै मनलाई जित्न
मस्तिष्कलाई सकृय बनाएकोछु
चञ्चल बनाएको छु

र त जीवन उल्लासमय भएको छ ।

तिमी र म

संगसंगै हिडेका गल्लीहरूले
खै त एकजोर पाईला भनेर सोधे झैं
एकोहोरो टुलुटुलु मलाई नै हेरिरहन्छन जीवनका यात्राहरू
सोचे जस्तो कहाँ हुदो रहेछ र ?

साथै हिडेको सहयात्री पनि दोबाटोमा छुटिनु पर्ने
र त तिमी र मैले चाहे जस्तो भएन जीवन
र त मिलेनन सोचाईहरू मिलेन बिचारहरू ।

गन्तव्य नै फरक भई दिएर
मोडिए पाईलाहरू…
एक्लीए चाहनाहरू…
एक्लिए सपनाहरू….
काश-
हाम्रो सपना एउटै हुँदो हो त जीवन सार्थक बन्थ्यो ।

तर-
गुनासो छैन
मान्छे हुँ मानवता ज्यूदै छ अझै

दुर देशबाट सम्झना र प्रेम एकैपटक पठाएँ है ।

त्यो समय

नजिक भएर पनि
एक्लो महशुस गरेको त्यो रात
जूनले झ्यालबाट मलाई चिहाएपछी
म जूनको किरण संगसंगै पोखिएकी थिएँ
अनि त जूनलाई सुनाएकी थिएँ गाठो परेका मनका कुण्ठाहरू ।

हलुका भएका थिए
मनका बोझहरू…
महशुस गरेकी थिएँ आमाको न्यानो स्पर्श
र त-
बात मारेँ जूनसंग रातैभर
बिहानी घामको किरण नपोखुन्जेल धर्तीमा ।

तपाईको प्रतिक्रिया