समकालिन नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा लिला अनमोल एक स्थापित नाम हो । उनका कविताले निस्वार्थ प्रेमको जिकिर गरिरहेका हुन्छन् । गहिरो प्रेमको अपिल गरिरहेका हुन्छन् । मानवीय संवेदनशीलाको गतिहरुलाई बडो सहजसंग अनुभूत गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

उसले भन्यो

मेरि आभा –
हरेक उज्यालोको अन्त्य तिमी हौ
मलाई जुनको के अर्थ
मेरै मुटुको सामुन्ने जब तिमी छौ
मलाइ फुलको के अर्थ
दुनियाँका सबै सौन्दर्य भन्दा पृथक तिमी
तिम्रो सामिप्यताको तरङ्ग
विद्युतीय तरङ्ग भन्दा तिब्र छ
मेरो मन मुटु मस्तिष्क र यो ब्रह्माण्डभरि
यो धर्तीमा रचना गरिएको गीतको
सबै भन्दा सुन्दर गीतका अन्तरा तिमी हौ
धर्तीका हरेक व्याख्या विष्लेषण भन्दा पर तिमी छौ ।

नदि एकोहोरो बगिरह्यो

बेवास्ता गरेर यो किनारलाई माथि धेरै माथि बादल उडेर गयो
चिस्सीरहे पोथ्राहरु धर्तीमा
तर
बिर्सेन घामले झुल्किन हरेक बिहान
जस्तोसुकै परिस्थिति आओस् रोकिएन बतास कुनै एक पल
छोडेन झरेर पनि पारिजातले सुगन्ध दिन ।

किन मरेन दुबो धर्तीबाट घामको रापले पोलेर ?
युगौदेखि जून मुस्कुराइरह्यो आकासमा किन ?
भित्ताको काप फोरेर पनि उमृरहेकै छ पिपल….

के तिमीलाइ थाहा छ –
दुखको कम्पन भोगेर आँखामा भिजाउछ परेली
तर-
खुशीको राग सुनेर पनि रसाउछ आँखा किन ?
धर्तीमा खस्न हतार गर्छ किन उज्यालो ?

यदि गरेकी रहेछु भने सच्चा प्रेम तिमीलाई
परिस्थितिको ठूलो सुनामी नै किन नचलोस्
मलाई महशुस गरेर हेर त
आशुँले संवेदनाको पराकाष्ठा बुझिरहेकै छ सदियौंदेखि ।

तिमी
तिमीले दिएको रङ सजाएर
हिडेकैथेँ जिन्दगीको बाङ्गो टिङ्गो बाटो
जहाँ थिए –
ब्यवहारका कठिन उकालाहरु
आउदैन थिए छेउको पारिजातको रुखमा चराका बथान
अस्तव्यस्त थिए घरको आगन
कक्रक्क परेको थिए फुलको बोटहरु
लेउ जमेर पानी पधेरो उभिनै नसक्ने अप्ठ्यारो भएपछि
म पुगेको हो
त्यसपछि फुलेको हो ढकमक्क तिम्रो आगनीमा फुल ।
अचेल –
हरेक साँझ बिहान चराहरु चिरबिर आवाजले
कति आनन्दित हुन्छ घरको वातावरण
तिम्रा आफ्न्त , नाता गोता , छर छिमेक सबैलाइ रिझाएकै छु
म , छिचोलेर कयौ घुम्तीहरु पुगेको तिम्रो नजिक ।
आज-
कुन रहरको बिजारोपन भयो तिम्रो मुटुभित्र ?
दुखको भारी शिरमा बोकेर ननिदाएको त्यो पल
कुन बिलासिताले बिर्सायो तिमीलाई ?
कुन आकर्षणले बिर्सायो तिमीलाई मेरो प्रेम ?
मेरो मायाको कसम एकदिन मेरो बिश्वासले डोर्याउनेछ तिमीलाई मेरो सामुन्ने ।

तपाईको प्रतिक्रिया