अनिल श्रेष्ठ

‘हजारौं वर्ष पुरानो हो, म र मजस्तामाथिको दलन । त्यसैले मभित्र दबिएका र थुनिएका आक्रोशका पीडाका भावनाहरु पनि हजारौं वर्ष पुराना हुन् । तिनै दबाइएका उद्वेलनहरुले तँछाडमछाड गर्दै बाहिर निस्किने बाटो खोज्दा कविताहरु प्रस्फुटित भए । आक्रोश, उत्तेजना, प्रेम, वियोग, संयोग, उत्साह, निराशा, रोदन अनि खुसी; यी समस्त मानवीय भावनाहरुको एकमुष्ट स्वरुप नै हो, ‘बागी स्त्रीको आत्मकथा’।

हो, ‘बागी स्त्रीको आत्मकथा’ मा सुमिनाका उल्लेखित यत्ति शब्दहरु पढिसकेपछि कवि सुमिनालाई विना आग्रह/पुर्वाग्रह निर्धक्क कवितामा पढ्न सकिन्छ । यहींनिर उनको विचारसँग एकमत भइसकेपछि एउटा पाठकले उनका कविताहरुसँग संलाप गर्न सक्छ । र, उनका कविताहरु पाठकलाई न्यायप्रिय लाग्न सक्छ । कविता पढ्नु नदीमा पौडिनु जत्तिकै साँच्चिकै गाह्रो काम हो । एउटा कुशल पौडीबाजलाई नदीको पानीको धार र गहिराइमा हेलिनु र डुब्नुको जति रोमाञ्च र आनन्द लाग्छ, एउटा पाठकको लागि एउटा सुन्दर कविताले दिने आस्वाद उत्तिकै आह्लादक लाग्छ । त्यसैले कविता लेख्नु वा पढ्नु एउटा एडभेन्चर पनि हो । कमै लेखक वा पाठकले यो साहसिक कार्यलाई आत्मसात गर्न सक्छ ।

कविता लेख्नु भनेको द्रोही हुनु हो – विसङ्गतिहरुसँग । सत्ता विसङ्गतिहरुको डङ्गुर हो । र, कविता सत्तासँगको द्रोह पनि हो । सधैं राज्यसत्ताको उत्पीडनले दलनमा बाँचिरहेकाहरुको एकमत स्वरहरु हुन् सुमिनाका कविताहरु । त्यसैले सुमिनाका कविताहरु पढ्नु भनेको विसङ्गतिहरुप्रतिको विद्रोह र सत्तासँगको द्रोह पनि हो ।

कवि सुमिनाका कविताहरु सत्तासँग असहमत छन् र सत्ताले सधैं वर्जित गरेको भूगोलमा रहेका सीमान्तकृतहरुमाथिको उत्पीडन सुमिनालाई अस्वीकार्य छ ।

‘म कविता तिनीहरुमा अर्पण गर्न चाहन्छु, जसका स्वरहरुलाई यो समाजले सदियौंदेखि निमोठ्न र दबाउन खोजिरहेको छ । जसका खुट्टाहरुमा बलजफ्ती जन्जिरहरु बाँधिएका छन् । जसका निम्ति स्वतन्त्र उडान वर्जित छ । हो यो त्यही उडानको आह्वान हो । वर्जित भूगोल तोडेर उड्ने आह्वान । जन्जिर चुँडाल्ने आह्वान । ताल्चा तोडेर दबिएका आवाजहरु उराल्ने आह्वान ।’

र, उनको आत्मस्वीकृति छ;

म यतिबेला

अस्तित्वको आकाशमा मडारिएको

आँधीको सामना गर्न

स्वयं आँधी बनेर

युगको आँगनमा उभिइरहेकी छु ।

(आँधी बन्न अभ्यस्त मान्छे, पृ. २९)

सुमिना ८० को दशकको पूर्वार्धमा देखा परेका नेपाली कविहरूको पछिल्लो पुस्तामध्येको एक प्रखर कवि हुन् । भर्खरै उनको ‘बागी स्त्रीको आत्मकथा’ शीर्षकको कविता संग्रह बजारमा आएको छ र यस कविता संग्रहले उनलाई वर्तमान पुस्ताको एकजना सशक्त कविका रूपमा स्थापित गरेको छ । आफ्ना फुटकर कविताहरूले पाठकका माझ परिचय बनाइसकेका कवि सुमिनाका धेरै कविताहरूले चर्चा पनि पाइसकेका छन् । वैचारिकी र विद्रोह उनका कविताहरूको सघन र केन्द्रीय विषय हुन् । पाठकका रूचि र छनौटमा परेका कतिपय प्रकाशित र नयाँ कविताहरूलाई संग्रहित गरेर आफ्नो पहिलो कविता कृति ‘बागी स्त्रीको आत्मकथा’ लाई उनले प्रकाशनमा ल्याएकी हुन् ।

२०५० सालको असोजमा ‘बैंसालु वर्तमान’ कविता संग्रह प्रकाशनमा आएपछि यस कृतिले पारिजातको वैचारिक कविताहरुको एउटा मानक स्थापित गर्‍यो । नेपाल साहित्य गुठीले प्रदान गर्ने २०४९ सालको सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार प्राप्त गरेको यो कृतिले पुस्तकाकार रुपमा प्रकाशित हुन नपाउँदै २०५० सालको वैशाख ५ गतेको एकाबिहानै पुरस्कारको घोषणा र पारिजातको मृत्युको समाचार सँगसँगै फैलियो – हावासँगै । २०५० सालको वैशाख ४ गते नेपाल साहित्य गुठीले पारिजातको ‘बैंसालु वर्तमान’ लाई सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार दिने निर्णय गर्‍यो । तर वीर अस्पतालको सघन उपचार कक्षको वेडमा रहेकी पारिजातले यो निर्णय सुन्न नपाउँदै वैशाख ५ गते बिहानै उनको निधन भएको समाचार बाहिर आयो । पारिजातलाई विसङ्गतिवादी कविताहरुबाट अलग्याएर ‘बैंसालु वर्तमान’ ले प्रतिबद्ध, वैचारिक र मार्क्सवादी कविका रुपमा चर्चामा ल्यायो ।

मैले सुमिना र सुमिनाका कवितासँगै पारिजातका यी प्रसङ्गहरुलाई यहाँ किन जोडिरहेको छु भने पारिजातपछि वैचारिक कविताहरुको लेखनको शून्यता लामो समयसम्म रहँदै आइरह्यो । अझ महिला लेखकहरुमा यस्तो लेखनको अभाव खट्किरह्यो । लेखिएपनि ती हस्तक्षेपकारी भुमिकामा हुन सकेनन् । पारिजातकै शैलीमा कवि सुमिनाको उपस्थिति र उनको लेखनले यतिबेला मलाई पारिजातको सम्झना गराइरहेको छ । यो मेरो वैयक्तिक बुझाइ हो । मेरा यी बुझाइहरुमाथि कसैले पनि असहमति राख्न सक्छन् ।

व्यक्तिगत रुपमा म सुमिनालाई चिन्दिनँ । र, उनको व्यवहार र स्वभावसँग म उति परिचित छैन जति मैले पारिजातलाई नजिकबाट चिनेको छु । केही समय उहाँसँग नजिक रहेर मैले साहित्यको विद्यार्थीको रुपमा प्रशिक्षित हुने अवसर पाएको छु । म्हैपीस्थित उहाँको निवासमा पुगेर उहाँको अध्ययन र सङ्घर्षशील जीवनशैलीबाट प्रभावित भएको छु । ‘बागी स्त्रीको आत्मकथा’ पढिरहँदा मलाई घरीघरी यस्तो लाग्छ सुमिना नै कतै पारिजातको त्यो ‘बोनी’ हुन कि ! जो यो समयले हुर्काएको आन्दोलनको एउटा जीवन्त पात्र हुन् । मैले सुमिना र सुमिनाका कविताहरुमा पारिजातका प्रतिच्छायाहरु देखेको छु । ‘बैंसालु वर्तमान’ र ‘बागी स्त्रीको आत्मकथा’ लाई साथमा राखेर अहिले म यी दुई अलग समयलाई प्रतिनिधित्व गरिरहेका यी दुई कविहरुको वैचारिकी, विद्रोह र सङ्घर्षशील स्वभावहरुलाई पढिरहेको छु, एउटा समानता खोजिरहेको छु । म सुमिनाका यी कविताहरुले पारिजातलाई पछ्याइरहेका उनका पाइतालाका पदचापहरुलाई चियाइरहेको छु । र, एउटा दृढताले सीमान्तकृत भूगोललाई नियालिरहेका सुमिनाका स्वप्नील आँखाहरुलाई हेरिरहेको छु ।

यतिबेला उनका आँखाहरु आन्दोलित छन्:

जहाँ सामन्तहरु

बडो दम्भले महँगो जुत्ता बजार्छन्

हामी त्यहीँ खाली पैताला

आफ्ना हत्केला गाड्दै नङ्ग्रा खियाउँछौं

आफ्नो शरीरबाट पसिनाको धारा बगाएर

उब्जनीको मूल फुटाउँछौं ।

(वर्गीय प्रेम, पृ. ४२)

कहिलेकाहीँ कविता पढिरहँदा मलाई कविताले हिप्नोटाइज गरोस् भन्ने लाग्छ । मन एकतास होस् र मन कविताका हरफहरुमा हेलिइरहोस भन्ने लाग्छ । यस्ता कविताले पाठकलाई एक प्रकारको मेडिटेटिभ अवस्थामा पनि पुर्‍याउँछ । कविता सिर्जना आफैमा एक ऊर्जा हो । कविको सौन्दर्य पनि हो । एउटा सुन्दर कविताले पाठकलाई पनि अध्ययनशील बनाउँछ । एउटा ऊर्जा दिन्छ । र, कविता पढिसकेपछि पाठकले एउटा बिम्ब निर्माण गर्छ समाजको सौन्दर्य र कविको व्यक्तित्वको । त्यसैले कविता सुन्दर समाज निर्माणको एउटा आधार पनि हो ।

सुमिनाका फुटकर कविताहरु पढिरहँदा र ती कविताहरुले छोइरहँदा एकदिन फेसबुकको म्यासेन्जर बक्समा मैले उनलाई आग्रह गरेर लेखेको थिएँ – ‘सुमिनाजी, कविताको एउटा संग्रह निकाल्नुस न अब ।’

‘संग्रहको काम भइरहेको छ । मेरो तर्फबाट सेलेक्सन भइसकेको छ । केही काम बाँकी छ । अब छिट्टै बजारमा आउने छ ।’ सुमिनाजीको जवाफ थियो ।

म जस्तै उनका कविताका पाठकहरुको शुभेच्छा हो ‘बागी स्त्रीको आत्मकथा’ । इन्डिगो इन्कले यसलाई प्रकाशनमा ल्याएको छ । र, कविताका पाठकहरुका लागि यो पठनीय र सङ्ग्रहणीय कृति बनेको छ । यो कृति नेपाली कविताको फाँटको एउटा उपलब्धि हो ।

कवि सुमिनाका कविताहरु सीमान्तकृतहरुको प्रतिरोधी चेतनाका स्वरहरु हुन् ।

मेरै श्रमको आँगनमा उभिएर

आफ्ना आदेशका औंला ठड्याएर

तिमी आफूलाई मालिक भन्छौ

आफ्नै पसिनाका धाराबाट

उब्जनीको मूल फुटाएर म कहलिन्छु दास ।

(म एक श्रमिक, पृ. ४८)

सुमिनाका कविताहरु पढिरहँदा मलाई कहिलेकाहीँ लाग्छ ती कविताहरु आन्दोलनमा उठिरहेका छरपस्ट नाराहरुको एउटा सङ्गठित आवाज हो जो एकातिर पुरुष सत्तासँग भद्र अवज्ञा गर्छ र अर्कोतिर राज्यसत्ताले निर्माण गरेको शासकीय स्वरुप र त्यसका संरचनाहरुले पुनर्गठन गरेको महिलाको सामाजिक न्यायमाथिको विभेद, असमानता र उत्पीडनप्रति कडा आलोचना गर्छ ।

र, यसका विरुद्ध उनी सडकमा कविताको फिलिङ्गो बोकेर हिँड्छन्;

ममाथि बडो अट्टहास गर्छन्

निरंकुश व्यवस्थाका झुण्ड झुण्ड अनुयायीहरु

म त्यो हाँसोमा उनीहरुकै व्यवस्थाको

बर्बादी कुर्लिरहेको देख्छु

उनीहरु मलाई मूर्ख सम्झन्छन्

र फुकेर निभाउन खोज्छन् ।

म निडर

आँखा जुधाउँछु र हाँस्छु बेस्सरी

फिलिङ्गो फुक्दैमा निभ्दैन

झन् सल्कन्छ– रातो भएर ।

(फिलिङ्गो, पृ. ५१)

एउटा काल/बेला थियो– बजारको फिलिम हलमा फिलिम फेरिएपछि हलमा पुगेर नयाँ फिलिम हेर्न मन आतुर हुन्थ्यो । अहिले उमेर र रहर फेरिएको छ । बजारमा नयाँ किताब आएपछि मन किताब पसल पुग्न हतारिन्छ । लेखक नयाँ, पुराना भन्दिनँ । किताब टपक्क टिप्छु । घरमा पुगेर पढ्न बस्छु । राम्रा किताबहरुले मन तृप्त बनाउँछ । नराम्रा किताब छन् भने पनि खासै गुनासाहरु गर्दिनँ । एउटा पुस्तकालय छ, जतनले राख्छु । रुचि आख्यान र गैरआख्यान दुवैमा छ । खासगरी कविताका किताबहरुले तानिन्छु । दोबिल्ला पुस्तक पसलबाट भर्खरै बजारमा आएका समकालीन कविताको क्षेत्रमा महत्व राख्ने केही किताबहरु ल्याएको छु । सुमिना मलाई मन पर्ने कवि हुन् । नयाँ पुस्ताहरु बीच उनको लेखनको क्रियाशीलता लोभलाग्दो छ । ‘बागी स्त्रीको आत्मकथा’ मार्फत नेपाली कवितामा उनको एउटा हस्तक्षेपकारी उपस्थिति रहेको छ ।

सत्तामा बसेर आज शासकहरुले गर्ने स्तुत्य कवि सुमिनालाई पटक्कै स्वीकार्य छैन ।

ऊ भनिरहन्छ – क्रान्ति

जपिरहन्छ – क्रान्ति

धर्मग्रन्थको स्तुतिजस्तै ध्यानस्थ भएर

उसलाई कण्ठ छन्

माओत्सेतुङ्का दर्जनौं उद्धरणहरु

कुनै धर्मान्धले

धर्मग्रन्थका श्लोकहरु जपेजस्तै

बेला बेला क्रान्तिको इतिहास पढ्छ र उभिन्छ

चाउ एनलाई, चियाङ चिङ

र याङ होङ्वेनहरुको लस्करसँगै

(क्रान्तिको जप, पृ. ७१)

कवि सुमिनाको आक्रोश छ, आफूलाई क्रान्तिकारी हुँ भनेर क्रान्तिकै विसर्जन गर्नेहरुसँग । सिंहदरबारभित्र पसेका लाल कमरेडहरुको दलाल चरित्रहरुले रुग्ण बनेको देश र उनीहरुको सत्ता लिप्साले थिचिएका झुप्राहरुको आवाज आज माइतिघर मण्डलामा हराएको छ ।

ऊ बेखबर छ

आफ्नै अघिल्तिरको समयको रफ्तारसँग

उसलाई थाहा छैन

कहाँ, कतिबेला र कसरी छुट्यो उसको लक्ष्यबाट

वर्गसङ्घर्ष, मजदुर एकता र समाजवादको यात्रा ?

(क्रान्तिको जप, पृ. ७१)

साहित्य वस्तुवादी हुनुपर्छ, जीवनवादी हुनुपर्छ । विचारलाई नारामात्र देख्नेहरुका लागि सुमिनाका कविताहरुले बिझाउन सक्छन् । शृङ्गारवादीहरु सधैं ‘कला कलाका लागि कि कला जीवनका लागि’ भन्ने भ्रमको बहस सिर्जना गरिरहन्छन् । उनीहरु कहिल्यै श्रमको सौन्दर्यसँग जोडिन सक्दैनन् । श्रमसँग नजोडिएको साहित्य जीवनहीन साहित्य हो । कलावादीहरुको साहित्य उपभोक्तावादी बजारले आफ्नो दोकानअघि विभिन्न वस्त्र र आभुषणले सजाएर राखेका ‘डमी’ जस्ता हुन् जसको कुनै प्राण हुँदैन, जीवन हुँदैन । श्रमसँग नजोडिएको साहित्य रुपविहीन र शृङ्गारविहीन नै हुन्छ । जब सिर्जनाको व्यापार सुरु हुन्छ त्यो वस्तुमा रुपान्तरण हुन्छ र केही समयपछि त्यसको उपयोगिता सकिन्छ । अहिले उपभोक्तावादले साहित्यलाई पनि वस्तुको रुपमा व्यापार गरिरहेको छ । त्यसले लेखकलाई मारिदिन्छ र प्रायोजक बनाउँछ ।

कवि सुमिना श्रम र श्रमजीवीहरुका कवि हुन् । उपेक्षित र उत्पीडितहरुका कवि हुन् । त्यसैले उनका कविताहरुमा श्रमजीवी वर्गको भावना, संवेदना, करुणा, प्रेम, स्नेह र एकत्वको मेल पाइन्छ । उनी आफू उभिएको भूगोल, आफ्नो जाति र आफ्नो वर्गसँग इमान्दार छन् र उनी लेख्छन्, ‘धेरैले भनेको सुनिन्छ– कविता हृदयले ग्रहण गर्ने कुरा हो ! तर मलाई लाग्छ कविता मस्तिष्कले पनि ग्रहण गर्ने कुरा हो । धेरैले भनेको सुनिन्छ– कविताको काम एक अलौकिक आनन्द प्रदान गर्नु हो ! तर मलाई लाग्छ कहिलेकाहीँ त्यो मुर्दा शान्तिलाई बिथोलेर हृदयमा उद्वेलनको ज्वारभाटा उठाउनु र मस्तिष्कलाई एक चरण बिथोल्नु पनि कविताको काम हो ! यस अर्थमा कविता सधैँ विनम्र, शालीन मात्रै हुँदैन । उद्दण्ड, अराजक र विध्वंशक पनि हुन्छ !’

र, त्यसैले सायद सुमिनाका कविताहरुले पाठकको मस्तिष्कलाई बिथोलिरहन्छ:

त्यागिदेऊ शृङ्गार

र, उन्मुक्त गर

आफूसँगै आफ्नै शरीरका

एक एक बन्धक अङ्गहरुलाई

(शृङ्गार, पृ. ९७)

एउटा लेखकलाई आफ्नो लेखनप्रति इमान्दार हुन जति गाह्रो छ, त्योभन्दा दुगुना गाह्रो यहाँ एउटा असल र इमान्दार पाठक हुनुमा छ । कहिलेकाहीँ लेखकले आफ्नो कुरा भनिसक्छ र उसले पाठकलाई दुविधामा छोडिदिन्छ । पाठक मझधारमा उभिन्छ । यस्तो अवस्थामा लेखक र पाठक दुवै दुर्घटनामा पर्छन् । लेखक र पाठकको सम्बन्ध टुट्छ । र, यसले पठन संस्कृतिलाई कमजोर बनाउँछ ।

सुमिना भन्छिन्– ‘यो लेखकको आत्मरतिमा रमाउने एउटा मनोवृत्ति हो ।’

लेखकले आफ्नो लेखकीय यात्रामा पाठकलाई पनि सँगसँगै हिँडाउन सक्नुपर्छ । लेखक र पाठकका बीच संवाद हुनुपर्छ । संवादले पठनयात्रालाई सहज बनाउँछ । नत्र पाठक थाक्छ र लेखकलाई छोडिदिन्छ । कहिलेकाहीँ त यसले लेखक र पाठकका बीच द्वन्द्व सिर्जना गरिदिन्छ । कवि सुमिना आफ्ना पाठकहरुप्रति सचेत छन् र इमान्दार छन् । उनका कविताहरु पाठकसँग संवाद गर्न सिपालु छन् । त्यसैले उनका कविताहरु पाठकहरुका लागि कत्ति पनि बोझिला लाग्दैनन् ।

उनका कविताहरुले पाठकलाई आसक्त बनाउँछन् ।

जब नियाल्छन् यी आँखा

आकाशको छातीभरि यात्रारत हजार पक्षीहरुलाई

उच्छवासित हुन्छु

आहा !

कति उदार छ त्यो आकाश

जसले विनाअवरोध सारा पक्षीहरुलाई

आफ्नो छातीमा

उडानको अनुमति दिन्छ नि:शर्त ।

(निरङ्कुशता, पृ. १०३)

कहिँ कतै भावुक र प्रेमासक्त बनाउँछन् सुमिनाका कविताहरुले । एकछिन टक्क अडिएर चिसो सुस्केरा लिन बाध्य पार्छन् उनले पाठकलाई । ‘वियोग’, ‘निरङ्कुशता’, ‘छोडिनेहरु’, ‘दोहोरिएको प्रेम’, ‘हराएको सहयात्री’, ‘बगर’, ‘नदी’, ‘संयोग’, ‘निष्कर्ष’, ‘प्रेम’, ‘तिमी र जून’ र ‘सम्बन्ध’ आदि कविताहरु पढिसकेपछि पाठक झट्ट एकछिन शून्यतामा हराउँछन् । यी सुमिनाका प्रेमिल कविताहरु हुन् । र, यी कविताहरुले पाठकलाई नोस्टाल्जिक बनाउँछ र प्रेमको एउटा स्वैरकल्पनामा पुर्‍याउँछन् ।

कुनै बिछोड यस्तो पनि हुन्छ

मानौं, शरीरबाट कसैले मुटुलाई विच्छेद गरिरहेको छ

कोही यसरी पनि अलगिन्छ

मानौं, बिस्तारै बिस्तारै शरीरबाट प्राण अलग्गिरहेको छ

कोही यसरी पनि हराउँछ

जस्तो कि, बिस्तारै बिस्तारै हराइरहेको होस्

सधैंका लागि आँखाबाट दृष्टि

र, मडारिँदै गरेको होस् चौतर्फी अन्धकार

(छाडिनेहरु, पृ. १०६)

के सुमिनाका असफल प्रेमले उनलाई अति भावुकता र कोमलताका यी कविताहरु लेख्न यसरी उद्वेलित गरिदियो ! मेरो मनले गमेको कुरा । लाग्छ यही कोमलता कवि सुमिनाको सिर्जना शक्ति पनि हो । र, यही शक्तिले उनी आफ्ना पाठकहरुलाई एउटा स्वैरकल्पनाबाट जीवनको सौन्दर्यतिर अघि बढाउँछन् । उनलाई थाहा छ त्यो सौन्दर्य सङ्घर्षबाट मात्र प्राप्त हुन्छ । श्रमले नै सौन्दर्यको निर्माण गर्छ ।

जन्मनु

ज्वलन्त सङ्घर्षको ज्वालामा फालिनु रहेछ

कोही दाउराजस्तै दन्किन्छन्

र, रुपान्तरण हुन्छन् कोइला वा खरानीमा

तर

म त फलाम भएको छु साथी फलाम

अग्निको ज्वालासँगै

खारिएर इस्पात बन्दै छु

र, लड्दै छु निरन्तर

चुनौतीका फलामे काँडाहरुसित ।

(सङ्घर्ष, पृ. १५४)

कवि सुमिनालाई साधुवाद !

तपाईको प्रतिक्रिया