२०४० सालमा बराहक्षेत्र ३ मा जन्मनु भएको कवि प्रकाश दिप्साली राई विमल स्मृति राष्ट्रिय कविता महोत्सव २०७० र राष्ट्रिय कविता महोत्सव (२०८०) विजेता हुनुको साथै नेपाली समकालीन लेखन र साहित्य बिकासको निम्ति उहाँले निभाउनु भएको भुमिका महत्वपुर्ण छ । उहाँका कविताहरुले भुई मान्छेका कथाहरुलाई सुन्दर र मिहिनरुपमा उजागर गरेको हुन्छ । राई आफैले बाँची आएको जीवन र उहाँले भोगेको समाज , राजनिति र देशको अवस्था उहाँको लेखनमा शसक्त रुपमा आउनु अर्को शक्तीशाली पक्ष हो । आफुसँगै आफ्नो वरीपरीको प्रतिभाहरुलाई समेत सँगै अगाडी बढाउने  उहाँको स्वाभाव बास्तवमै नयाँ प्रतिभा र उहाँ उभिएको धरातलको शक्ती हो । साहित्यको बिभिन्न अभियान र आन्दोलनहरुमा हस्तक्षेपकारी रुपमा  जिम्मेवारी  निभाउदै आउनु भएको राई नेपाली साहित्य र लेखनको एक दह्रो खम्बा हुनुहुन्छ प्रस्तुत छ । साताको तीन कविता ।

तिमी हिड्ने बाटाहरु

बाटाहरु
आ–आफ्नै किसिमका हुन्छन्
गोरेटो घोरेटो र चक्रेटो
अब रोज तिमी !
कुन बाटो हिड्ने हो ?

तिमी हिड्ने बाटाहरु यस्तो हुनुपरर्यो
प्रत्येक पाइलामा
पारिजातको तोरिबारी भेटिनुपर्छ
लेकैभरि फुल्ने रातै लालीगुराँस
चिनीचम्पा, लालुपाते अनि
तराईका ती सुनौला फाँटहरुमा
मयुरहरु रमाई रमाई नाचेको भेटियोस् ।

तर
कहिल्यै पनि नभेटियोस्
एकै लाम्टा चुसेको दाजुभाइ
काँधमा जोरनाले बन्दुक भिरेर
बल र घमण्डको सिङ्गौरी खेलेको ।

तरुणी तन्नेरीको उत्ताउला भिडहरु
कोलाहल मच्चाउँदै
भट्टी र जुवातासका अड्डाहरु
लुसुक्क मुन्टो लुकाउँदै छिरेको

तिमी हिड्ने बाटाहरुमा
तिमी जस्तै सयौँ यात्रीहरु हिड्न सकुन्
उनीहरु तिम्रो थकाईलाई मेटाउन
रानी मादलका सुरिलो तालमा
सोरठी र लैबरीको भाकाहरु गाउन सकुन्
तिमीहरुसँगको भलाकुसारीमा गाउँबस्तीको
दुःख सुख हाँसो खुसीहरु सजिलै साट्न सकुन् ।

उज्यालिएको हाँसोसँगै उनीहरुले भनुन् –
‘बाटाहरु हिड्नु त यस्तो पो त!’
अनि म पनि तिमीहरु प्रति
गर्व गर्दै निर्धक्क भन्न पाउँ –
‘कति सुन्दर छन् तिमी हिड्ने बाटाहरु ।’

क्यामेरा

जिन्दगीमा
थुप्रै खिचिएछ, खिचाइएछ फोटोहरु
परिपरिका, नानाभातिका

कहिले हासेको, कहिले रोएको
फुल छोएर, दुइटा औंला उठाएर
अर्थ नबुझी नबुझी भएनी
नक्कल पारी पारी खिचिएछ फोटोहरु ।

कहिले
रिलवाला क्यामराले
कहिले खुट्टे क्यामेराले
हुँदा हुँदा मोबाइलको क्यामेराले नि भ्याइएछ
तालतालका फोटो खिच्न ।

कति फोटोहरु
आफू नराम्रो देखिएकाले
आफैले डिलिट हानियो
कति ग्यादि«ङले आफ्नो सौन्दर्य बिग्रने डरले फालियो
कुनै चै आफू नभएको बहानामा अरुले फर्मेट हान्दियो

तर
फोटो खिच्न हामी कहाँ जान्दो रैछौँ र?
आजसम्म हामीले क्यामेरा चिनेकै रैन छौँ
फोटो त दिलको क्यामेराले खिच्नु पर्दो रैछ
र मात्र जुनसुकै पोज पनि दिलमा बस्दो रैछ

उनले खिचेको कैयौं फोटोहरुमा
उनलाई आजसम्म मभन्दा सुन्दर अरु कुनै चिज लाग्दैन
किनकी उनले मेरो फोटो दिलको क्यामेराले खिचेकी छे ।
र नै आजसम्म मेरो फोटो उनले डिलिट गरेकी छैन ।
र त सग्लो म यो धरातलमा उभिएको छु ।

झण्डा र झोला

जब,
मेरो मन मस्तिष्कमा विवेकले
साम्राज्य जमाउन थाल्यो
तब हजुुरले झण्डा र झोला
मेरो काँधमा थमाउनु भा हो

त्यो बेला
म पनि चिनारीको खोजीमा भौतारिदैं थिएँ
आँधो, हरिल्वाँठ, गोबर गणेश
यस्तै यस्तै थिए मेरो बेनामहरु
त्यही बेला
अनगिन्ति सपनाको बिस्कुन फिजाउँदै
स्विकारेको हँु मैले पनि
दर्शन र सिद्धान्तको ठेलीसँगै
पर्चा र आश्वासनले भरिएको झोलीतुम्बीहरु

मधुरो सम्झना छ
सो बेलाको हजुरको आश्वासन
तिम्रो पीडा मैले बुझेको छु
यो झण्डा र झोलालाई मन्त्र सम्झनु
जो पड्काउँदा संसार हल्लिने छ
जितिने छ सदियौं देखिको लडाईं

हजुरको इशारामा चलें
लडें लाडाईं, पड्काएँ मिसाइल
र जित्यौं लडाईं

लाग्यो
अब मेरो आवाज काठमाडौमा गर्जने छ
यो माटो, बाटो र पाटोको न्वारान
मै गर्न पाउनेछु

बिडम्बना
त्यसो भएन
बरु सहमति असहमती, उद्घाटन र समापनका
दौडधुपसँगै मलाई
बिस्तारै बिस्तारै गलाउन थाल्नु भो
र कुनै दिन झोलाभरी दिनुभएको सिद्धान्त र दर्शनहरु
खै के के बहानामा फिर्ता लिनु भो
अब त बिना हतियारको सिपाहीं झैं भाछु

सदियौंको समागमपछि
देशले यो बेला पूर्व मेचीदेखि कालीसम्म
नामे बेनामे सन्तानहरु जन्माएको छ
आफ्नो नाम खोज्दै
शंका र अन्यौलबिच एउटा नवजात शिशु
बिराटनगरको शैयामा छटपटीरहेको छ
उसको उद्धार गर्नु मेरो धर्म कर्म हो
तर, महोदयले हत्केलामा थमाउनु भएको
झण्डा र झोलाले बार लगाइदिएको छ

तर अब
यो छट्पटी लाचार भएर, ट्वाल्ल परेर हेर्न सक्दिन
जुग जुगदेखि यसरी नै आफ्नो आफन्त गुमाएको छु
ति नै अबोध सेहेंहरुको सम्झना मै भए नी
मैले पुरुषार्थ ओकल्ने बेला आएको छ

महोदय
हजुरको यो रित्तो झण्डा र झोला
मलाई निल्नु न ओकल्नु भा छ,
बरु यो झोलाको गोठालो हुनुको साट्टो
दुई चार थान सुन्दर कविता लेख्न पाको भए
बेस हुन्थेछ झैं लागिरहेको छ ।

महोदय
आज उप्रान्त हजुरसामु कुनै जिज्ञासा हुने छैन
र हजुरलाई मेरो अन्तिम सोधनी छ
“यो झण्डा र झोला हजुरकै निवास सिंहदरबार पठाउँ कि,
या त बिराटनगर आसपासकै मुर्दाघाटमा
खुशीसाथ दाहसंंस्कार गरौं ?”

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया