शनिवार व्यक्तित्व – 

फुलको पहाड बिसाएर जाँदैछु
यी लेख्दै गरेका कविताका पाना पल्टाएर बहिरहनेछ बतास

सम्झनु हावामा मिसिएको हुनेछ मेरो रोकिएको आवाज ।
अक्षर इच्छा कविता शिर्षकबाट ।

नेपाली साहित्यको समकालीन लेखनमा एक हस्तक्षेपकारी व्यक्तित्वको नाम हो उमेश अकिञ्चन । बिशेषगरी कविता लेखनमा आफ्नो अलग पहिचान बनाउन सफल उहाँ आफ्ना समकालीनहरु माझ एक अलग पहिचानका साथ उभिन सफल हुनुहुन्छ । त्यो बेला बिराटनगरको बाणी प्रकाशन पुर्वमा बसेर लेखीरहेका युवा कविहरुको निम्ति लोकप्रिय थलो थियो । हरेक १५ दिनमा हुने कविगोष्ठिले लेखनमा आउन चाहाने धेरै युवाहरुलाई पदप्रर्दशकको काम गरेको थियो । देबकुमारी थापा ,कृष्णभुषण बल, हिरा आकाश, नरेन्द्र चापागाई , जिबी लुगुन , प्रकाश बुढाथोकी , आचार्य प्रभा लगायतका साहित्यीक व्यक्तित्वहरुले उबेला पुर्वमा लेख्न चाहाने नयाँपुस्ताबीच अभिभावकको भुमिका निर्वाह गरेका थिए । उमेश बाणी प्रकाशनले आयोजना गर्ने त्यही शुक्रबारको कविगोष्ठीमा नयाँ कविताका साथ पुग्नुहुन्थ्यो पछि यही कारण लेखनप्रति अझ रुझान बढ्यो । उहाँ भन्नुहुन्छ कार्यक्रममा नयाँ कविता सुनाउनुपर्ने नियमले पनि आफ्नो लेखनले सुधार हुने मौका पाएको उहाँको बुझाई छ । वाणी प्रकाशनको सँगतले अर्जापेर र उध्याएर लाग्ने बनाएको मोरङका स्रष्टा मध्येका एक हुनुहुन्छ उमेश अकिञ्चन ।
अकिञ्चनको आधिकारिक नाम खड्ग राज राई हो । जन्म साविक बबिया बिर्ता गा.वि.स. वार्ड नं. –२, मोरङ हालको रंगेली नगरपालिकामा भएको हो । उहाँले गद्य कविताको क्षेत्रमा बिम्वभित्र पनि नयाँ प्रयोग गर्न रुचाउनुभयो । कवितालाई अलग परिचयका रूपमा चिनाउनु पर्छ भन्ने उहाँको मान्यता नै पछि आफ्नो लेखनको मुल सिद्धान्तको रूपमा विकास गराउनुभयो । यो बिम्वमा खेल्ने एउटा खेलको नयाँ रूप थियो। यो उहाँको कविता लेख्ने शैली थियो । त्यो बेलादेखि अहिलेसम्म करिब दुई दशक बितिसक्यो तर लेखनप्रतिको मोह कम होइन अझ गाढा हुदै गयो र वर्तमान समयमा उहाँ नेपाली साहित्यमा एक अब्बल कविको रुपमा स्थापित हुनुहुन्छ ।

मुल रूपमा गद्य कविता नै उहाँको लेखनको विषय हो । विद्यालय तहबाट नै साहित्यप्रतिको आकर्षणले ताने पनि कविताको मोहले विशेष तानेको छ । कविताका अतिरिक्त निबन्ध र आख्यानमा पनि उहाको कलम चलेको पाइन्छ । अकिञ्चन, विभिन्न प्रशासनिक विषयमा समेत तार्किक र अब्बल रूपले कलम चलाउनुहुन्छ । विराटनगरको साहित्यिक संगतमा देवकुमारी थापा देखि विवश पोखरेल सम्मको माया पाएका उहाँको जीवनमा सिर्जना जन्मनका लागि कारक तत्वको आवश्यकता पर्दछ । त्यो कारक तत्वमा साधना जोडियो भने राम्रो साहित्य लेख्न सकिन्छ । यो संंगतको परिणाम पनि हो । माहोल अनुसार सिकाइको आधार निर्धारण हुनु एक मिठो संजोग रह्यो ।

वि.सं. २०६७ सालमा आयोजित, अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा नेपाली कविता क्षेत्रकै ठूलो धनराशी एक हजार डलर नगद सहितको पुरस्कार जित्नु भएको अकिञ्चन, आफूलाई फारो कविका रूपमा चित्रित गर्नुहुन्छ । संख्यात्मक भन्दा गुणात्मक पक्ष उहाँको कविता शक्ति हो । उहाँलाई शिखरतर्फ चढाइ रहने आधार पनि यही हो । उहाँको भाइ आशीष साम्पाङ “महेश” सँगको सह लेखनमा “एक सगर, दुई तारा” संयुक्त गीत संग्रह प्रकाशित छ । “मोनालिसा र मार्च ८” उनको पहिलो कविता सँग्रह हो । दोस्रो कविता सँग्रहको प्रकाशनको तयारीमा जुटिरहनु भएको छ । साहित्यिक प्रतियोगिता बाहेक पाएका पुरस्कार र सम्मानलाई उहाँले केवल सदभाव र सम्झनाको रूपमा मात्र लिने गर्नुभएको छ । पुरस्कारको पछि स्रष्टा नभई, स्रष्टाको पछि पुरस्कार आउने अवस्थामा मात्र साहित्यको उन्नयन हुने उहाँको विश्वास छ ।

कविताले एउटा पाठकको जीवनमा कति प्रभाव पार्छ त्यो भन्न सकिन्न तर एउटा लेखकको जीवनमा सधै थेरापीको काम गरिरहने उहाँको बुझाई छ। हरेकपल्ट कविता लेखीसकेपछि अन्तरआत्मामा गहिरो शान्ति महशुस हुने उहाँ बताउनुहुन्छ । उहाँले कविता लेखनमा प्रवेश गर्नु र देशमा राजनितिक परिवर्तनको निम्ति आन्दोलन सुरुवात हुनु एकै समय जसो भयो । यो बेला नै हो माओवादी जनयुद्ध पछि देशमा सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा देखिनेगरि भएको परिवर्तनले नेपाली साहित्यको मुलधारमा देखिनेगरि नै परिवर्तन भयो । यसको प्रत्यक्ष प्रभाव त्यो बेला लेखीएको साहित्यमा प्रष्ट देखियो । समग्र लेखकहरुले लोकतन्त्रको पुनःस्थापना र साहित्यिक स्वतन्त्रताको मुद्दा लाई जोडदार रुपमा उठाए। यो महत्वपुर्ण परिवर्तन थियो ।
२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित भएपछि साहित्यमा अभिव्यक्ति स्वतन्त्रता बढ्यो तर तीसको दशकको लेखनमा यही बिषय घुमाउरो रुपमा आएको थियो । २०५२ सालदेखि सुरु भएको माओवादी द्वन्द्वले नेपाली साहित्यलाई गहिरो रूपमा प्रभावित गरयो । यही समयमा युद्धकालीन कविताहरू, कथा, उपन्यास र संस्मरणहरू लेखिए । यो दशकमा लेखीएका कविताहरू व्यक्तिगत अनुभव, सामाजिक यथार्थ, अस्तित्ववादी चिन्तन र प्रतीकात्मक प्रयोगहरूबाट भरिएका देखिन्छन्। यती हुदाहुदै पनि बैचारिक रुपमा यो समयमा लेखिएका कविताहरु निक्कै गहन छन् । यही समयमा नेपाली साहित्यमा विविधता, विचारधारा, प्रयोगशीलता र यथार्थपरक लेखन राजनीतिक परिवर्तनको खुल्ला रुपमा अपील गरेको देखिन्छ । उमेशका कविताहरुले पनि यीनै बिषयलाई उठाएको छ ।
द्वन्द्वकालीन साहित्य, नारीवाद, दलित साहित्य, प्रवासी साहित्य र आधुनिक प्रयोगहरू यस दशकका प्रमुख विशेषता थिए । साहित्य र समाज एक अर्काको परिपूरक हो । यही समयमा विभिन्न विचारधाराका लेखकहरूले स्वतन्त्र रूपमा लेखे तर उमेशले आफ्नो लेखनीमा समाजमा व्याप्त समस्या र मानवीय मनोदशालाई निक्कै प्रमुख रुपमा उठान गर्नुभयो । परम्परागत लेखनशैलीबाट फरक, विम्बात्मक, दार्शनिक र मनोवैज्ञानिक दृष्टिकोणबाट लेखिएका उहाँका कविताहरुले एक अलग्गै सौन्दर्य बोकेर नेपाली कवितामाझ उभिएका छन् । यो आफैमा उहाँको लेखनको शक्ती हो ।
जसरी हिमालको हिउँ पहाडका खोँचबाट नदी बनेर तराइसम्म पुग्छन् त्यस्तै उहाँको लेखनको बैचारिक पक्ष त्यतिकै सलल बगेको छ । राम्रो साहित्यले पाठकको हृदयलाई कतिखेर छुइराखेर जान्छ थाहा नै हुदैन । पछि मात्रै दिमागमा प्रश्नहरु आउछन् उमेशका कविताका स्वभावहरु पनि यस्तै छ जसरी भूगोलले मनको आर्तनादमा कुनै असर गर्दैन । जहाँ बसे पनि बाँसुरीबाट मीठो धुन निस्किए झैं निस्कन्छ साहित्यको महकता सबैको निम्ति समान, मनलाई आल्हादित पार्नका लागि तपाई पाठकहरुले कल्पना गर्नुसक्नुहुन्छ एक सुन्दर कविताको कति शक्ती हुन्छ भनेर ।

 

०६७ सालमा निजामती सेवामा प्रवेश गर्नु भएका अकिञ्चन हाल उप सचिवका रूपमा कार्यरत हुनुहुन्छ । विकास प्रशासन उहाँको विशेष रुचीको विषय हो । तर कवि मनले डोर्याएकै कारण आफूलाई कविताको तृष्णा बोकेर बाँचेको व्यक्ति हुँ भन्न रुचाउँनुहुन्छ । पढाईमा पनि तेज उहाँले मोरङको बबिया बिर्ता गा।वि।स। २, गोहिगाडा स्थित, त्रिभुवन निम्न माध्यमिक विद्यालयबाट कक्षा १ देखि कक्षा ७ सम्म अध्ययन पूरा गरे पश्चात विराटनगरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययन एस।एल।सी। प्रथम श्रेणीमा, प्रमाण पत्र तहसम्म विज्ञान संकाय र स्नातक अँग्रेजी साहित्यमा पूरा गर्नु भएको छ । स्नातक तहसम्मको अध्ययन, महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट गरेपछि २०५९ सालमा स्नातकोत्तर अध्ययनका लागि काठमाडौं आएर, दुई विषयमा स्नातकोत्तर गर्नु भएको छ । यस्तै कानून विषयमा समेत स्नातक (एलएलबी) गर्नु भएको छ । नयाँ किताब पढिरहनु उहाँको लत हो ।

सरकारी कर्मचारी भएको हुनाले तालिमको सिलसिलामा विभिन्न देशहरूको समेत भ्रमण गरेको अनुभव छ । जापान, थाइलैण्ड, चीन र बंगलादेशबाट कर्मचारी र प्रशासन सञ्चालन र व्यावस्थापनमा तालीम लिनुभएको छ । अकिञ्चनले २०६७ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरेपछि पहिलो पदस्थापन योजना, अनुगमन तथा प्रशासकीय अधिकृतको रूपमा जिल्ला विकास समिति ताप्लेजुङमा भयो। यो बसाईले नेपालको आदिवासी समाज र तीनको सौन्दर्यलाई नजिकबाट बुझ्ने मौका पाउनुभयो । तत्पश्चात जिल्ला विकास समिति, मोरङको योजना, अनुगमन तथा प्रशासकीय अधिकृतका रूपमा सरुवा भयो । डेढ वर्षको समयसम्म सो जिम्मेवारीका पुरा गरेर उर्लाबारी नगरपालिकाको कार्यकारी अधिकृतको भूमिकामा खटिनुभयो । अकिञ्चनले जागिरे जीवनका ८ वर्ष राष्ट्रिय योजना आयोगमा योजना अधिकृत रूपमा बिताए पश्चात रक्षा मन्त्रालयमा उहा उपसचिवमा बढुवा हुनु भयो । यी सबै संजोगहरुले उहाँको लेखनीलाई अझ मझबुत बनाउदै लग्यो। नेपाली समाजको विविधता र त्यसका अन्तरसम्बन्धहरुलाई नजिकबाट बुझ्ने मौका पाउनुभयो । सार्वजनिक सेवामा उत्कृष्ट कार्य गरेवापत अकिञ्चनको कामको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले २०७९ सालको निजामती सेवा पुरस्कार समेत प्रदान गरेको थियो । तर सधैभरि मनमा लेखन कर्मलाई साथै लिएर हिड्नु एक लेखक र सरकारी कर्मचारीबीचको अन्तरद्धन्द्ध एक मिठो अन्तरघुलन हो। सायद यीनै कारण र नियतीहरुले उहाँ नेपाली साहित्यको समकालिन लेखनमा एक थुङगा गुँरासको फुल भएर बाँचीरहनु भएको छ ।

अन्तमा फेरि पनि उहाँको कविताको एक अंश:
अझैपनि
कुनै पहाडी बाटोमा
गुड्ने गाडीको पछाडि झुन्डीएको
गाँउले मान्छे वा उसको छायाँसरी
झुन्डीदैँ झुन्डीदैँ पछ्याइ  रहन्छ  किन ?
तिम्रै  एक अँगालो अनुहार ।

तपाईको प्रतिक्रिया