काठमाडौँ, १७ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद डा राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ । नेपाली भाषा, साहित्यको विकास प्रवर्द्धनमा उल्लेखनीय योगदान पुरयाएबापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो । त्यस्तै नगद रु एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि तथा हङकङ खबर अन्लाईन पत्रीकाकि संपादक विमला तुम्खेवा (तेह्रथुम) लाई प्रदान गरिएको छ ।


ती दुबै पुरस्कार प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ताम्रपत्र र नगदराशिको सम्मान थैली सम्मानीत स्रष्टालाई प्रदान गर्नुभयो । युवाकवि तुम्खेवा खासगरी युवापुस्ताको समसामयिक विषयवस्तुमाथि सठिक ढङ्गले साहित्यको माध्यमबाट उजागर गर्दै आउनु हुने सर्जकमा पर्नु हुन्छ । प्रखर लेखन क्षमता राख्ने तुम्खेवा महिला अधिकार सशक्तिकरणको क्षेत्रमा एउटा क्रीयाशिल नाम हो। साथै पत्रकारिता तथा आख्यान लेखनमासमेत सक्रिय हुनुहुन्छ । उहाँका विभिन्न कविता सङ्ग्रह प्रकाशित छन् ।

मधेशी मुलको भएर पनि नेपाली भाषा र साहित्यको विकास र प्रवर्द्धनमा डा विमलले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । नेपाली भाषाका साथै मैथिली भाषामा दक्खल राख्ने उहाँका एक दर्जन बढी कृतिहरु प्रकाशित छन् । लामो समय विश्वविद्यालयमा नेपाली भाषाको प्राध्यापन गर्नुभएका डा विमल सरल र शालिन व्यक्तित्वका धनी साथै यथार्थवादी, सन्देशमूलक कथाकारको रुपमा पनि आफ्नो परिचय बनाउनुभएको छ ।


सो अवसरमा प्रतिभा सम्मान तथा पुरस्कार अर्पण गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले दुई पुस्ताका सर्जक विमल र तुम्खेवासहित भाषा, कला र साहित्यका विभिन्न स्रष्टालाई सम्मान गरेर प्रतिष्ठानले नेपाली बाङ्मयको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुरयाएको बताउनुभयो । संस्थाले सम्मानका अलावा स्वदेश तथा विदेशका स्रष्टाको कृति प्रकाशनका साथै नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा समेत उल्लेख्य भूमिका निर्बाह गरेकामा संस्थाको सराहना गर्दै यस्ता गतिविधिले साहित्य क्षेत्रमा नयाँ ऊर्जा र उत्साह पैदा हुने विश्वास व्यक्त गर्नुभयो ।
बहुलताबीचको एकताको प्रवर्द्धन , बिखण्डित नेपालको पक्षमा लागेर साहित्य सिर्जनामा लागेका डा विमल तथा युवा पुस्ताको सवाललाई साहित्य मार्फत उजागर गर्ने कवि तुम्खेवाको सम्मानले साहित्य क्षेत्रमा थप उत्साह प्रदान गरेको उहाँको भनाई थियो । कुलपति उप्रेतीले कोभिड–१९ महामारीको चुनौतिकाबीच पनि साहित्य सिर्जनामा सर्जक सक्रिय रहेको धेरै कृतिहरु प्रकाशोन्मुख रहेको जानकारी दिनुभयो ।
भर्चुअल माध्यमबाट मन्तब्य राख्दै प्रज्ञा –प्रतिष्ठानका पूर्व कुलपति तिल विक्रम नेम्वाङ( बैरागी काँइला)ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि साहित्य सिर्जनाले नेपाली भावनालाई एकताको शुत्रमा बाधेको उल्लेख गर्नुभयो ।
भर्चुअलबाटै पुरस्कृत व्यक्तित्व डा विमलले नेपाली जहाँ जुन देशमा रहेपनि भूगोलले छेक्दैन भावनात्मक एकता प्रगाढ छ भन्ने सन्देश दिन पनि प्रतिष्ठानको सम्मानले जिम्मेवारी थपेको धारणा राख्नुभयो।
कथाकार गोपाल अश्कले नेपाली भाषा र मैथिलि भाषाको प्रवर्द्धनमा डा विमलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पत्रकार यशोदा तिमिल्सिनाले युवा पुस्ताको अब्बल प्रतिभा तुम्खेवाको लेखनयात्रालाई अझ सशक्त बनाएर लैजान सुझाव दिनुभयो । पुरस्कृत व्यक्तित्व तुम्खेवाले प्रतिष्ठानको पुरस्कारले साहित्य सिर्जनामा थप उत्साह र जिम्मेवारी थपिएको बताउनुभयो ।
प्रतिष्ठानका मानार्थ सदस्य एवम नेपाल सञ्योजक शशी लुमुम्बूले नेपाली भाषा , साहित्य, कला र संस्कृतिको संरक्षणमा संस्थाले निरन्तर कार्य गर्दै आएको र नेपाली साहित्य प्रवर्द्धनको विविधता मध्येको सम्मान र पुरस्कार पनि एक महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
सन २००८ मा बेलायतमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानबाट एकएक स्रष्टालाई सम्मान गर्दै आएको छ । नेपाली साहित्य, कला र संगीत क्षेत्रमा योगदान पुरयाएका संघर्षशील युवा स्रष्टालाई प्रतिभा पुरस्कार र ५० वर्ष उमेर माथिका वरिष्ठ स्रष्टालाई प्रतिभा सम्मान प्रदान गर्दै आएको छ ।
उहाँले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २६ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिएको जानकारी दिनुभयो । प्रतिष्ठानले हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानबाट एकएक स्रष्टालाई सम्मान गर्दै आएको छ । नेपाली साहित्य, कला र संगीत क्षेत्रमा योगदान पुरयाएका संघर्षशील युवा स्रष्टालाई प्रतिभा पुरस्कार र ५० वर्ष उमेर माथिका वरिष्ठ स्रष्टालाई प्रतिभा सम्मान प्रदान गर्दै आएको छ । त्यसैगरी प्रतिष्ठानले युवा स्रष्टाहरुको हौसलाका लागि बेलायतमा हरेक वर्ष अभिव्यक्ति श्रंखला आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया