त्रिभुवन विश्व बिध्यालयमा लामो समय प्राध्यापन गर्नु भएको साहित्यकार नवराज कार्की हाल मा बसोबास गर्नुहुन्छ । कयौं साहित्यीक सम्मान र पुरस्कारबाट सम्मानित कार्कीका लेखनीले सामाजिक बिसंगती र अन्यायलाई व्याङ्ग्यत्मक रुपमा प्रस्तुत गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
फेरि हामी चोर मानव हुनेछौं
हामी फेरि भेटिने छौं
हामी फेरि खुशी हुनेछौं
यो नराम्रो सपनाबाट ब्युझिएर
हामी फेरि हाम्रो संसारमा देखिनेछौं
सम्झीने छौं यी दिनहरु
बिहानै उठेर रातका सपना संझिए झैँ !
जब हामी सजग हुनेछौं
प्रकृतिदेखि नजिक हुनेछौं
न जिस्किने छौं पहाडसँग
न जुझ्ने छौं बनसँग
चरालाई निलो आकाश दिनेछौं
मान्छेलाई संङलो पानी दिनेछौं
सबै प्राणीको बराबर हक छ यो पृथ्वीमा
हामीले अब त्यो सम्झीनेछौं
हामी अब सुघ्रिनेछौं
हामी फेरि मानव हुनेछौं ।
संकल्प र सोच
संकल्प छ , दम छ भने सधैं आफुभित्र
पहिलो संसार सधैंभरि हुन्छ आफैभित्र
सोचेरै त, नाधिन्छ नि, अग्लो हिमालचुली
धुम्ने संसार घुमेकै छन् , एक्लै साईकल चढी
यो छैन र त्यो छैन त, सिर्फ बहाना हो
नभएको जुराईदिने, तीव्र चाहाना हो
सोचेरै त मान्छे उड्यो, सोचेकै हुनाले
लाखौंलाख जोडी बने, बधशाला खुले
सोच्नेहरु सोचेरै त, चन्द्रमामंगल डुले
हुन्न भन्दै थालेपछि बिस्तारै सकिन्छ
सोचेरै त बनेका हुन सडक नागबेली
गगनचुम्बी महल अनि किताबका ठेली
सोचे जस्तै छ यो सबै उसले सोचेजस्तै
जसको सृष्टि हो यो सबै उसले सोचे जस्तै ।
नेपाल बन्द छ
नेपाल बन्द छ
नयाँ नेपालको नारा बुलन्द छ
नेपाल बन्द छ
थन्क घरैमा
बढो आनन्द छ
नेपाल बन्द छ
सुँघ टायरको
धुवाँ सुगन्ध छ
नेपाल बन्द छ
सल्काउने भत्काउने
सबै प्रबन्ध छ ।
नेपाल बन्द छ
यस्तै दङ्गले
नेपाल बन्दछ ।
नेपाल बन्द छ
हाम्रै निम्ति रे नेतो कन्दछ ।