लेखक भिम विरही राई भारतीय सेनाबाट सेवानिवृत सैनिक अधिकृत हुनुहुन्छ । हालसम्म उहाँको प्रकाशित कृतिहरु बिदेशी सिपाही (युद्ध उपन्यास) दबिएका आवाजहरु (कविता सङ्ग्रह) बारुदले कोरेका अक्षरहरु – (युद्ध कवितासङ्ग्रह)
प्रकाशित हुनुको साथै दर्जन भन्दा बढि रेकर्डेड गितहरु गीतहरु छन् । विभिन्न पुरस्कारहरुबाट पुरस्कृत हुनुहुन्छ । उहाँको लेखनीमा आफ्नै जीवनले भोगी ल्याएका अनुभवहरु रहनुको साथै मानवीय संवेदनाको सुक्ष्म संवेगहरु पाईन्छ प्रस्तुत छ साताको तीन कविता ।
बुटजुत्ता
कालो अलकत्रे ग्राउन्डको लेफ्टराइट लेफ्टसङ्गै
शुरु भएको हाम्रो नाता
आज ठ्याक्कै तीन दशक पुगेछ
कहिले मरुभूमिको तातो बालुवा त
कहिले हिमालको चिसो हिउँमाथी
कहिले काँडैकाँडाको बञ्जर त
कहिले बाँदर लडिमर्ने अक्करमा
सधैं मलाई बुई चढाईरह्यो
मेरो अघिअघि मार्गदर्शक बनेर
हिडिरह्यो मेरो बुटजुत्ता ।
युद्धमैदानमा दुश्मनको छाती कुल्चाउन होस
या
शान्ति कायम गर्न वैरीको घाँटी दबाउन
हमेसा मेरो सहयौद्धा बनिरह्यो
फोहोरहिलो, धुलोमैलो
खोलानदी, भिरपहरा केही नभनी
सधैँ, सधैं डोर्याईरह्यो
हिडाईरह्यो ।
तीन दशकसम्म मेरो पाइतलामुनी
दबिएर बसिरह्यो
म भने बिना दयामाया टेकिरहेँ
तर कहिल्यै आफ्नो संवेद्यता छोडेनौ
न कुनै बिरोध न प्रतिकार
अवाक भै मौन बसि,
अविचलित सहिरह्यो
मैले अझै कुल्च्याईरहेँ ।
तर आज
दुखित मन, वियोगी मुटु
अभिलाषी हातहरु अनि
निस्याईलो आँखाहरु लिएर
बिदा मागिरहेको छु
उदास छु खिन्न छु विह्वल छु
तीन दशकको हाम्रो सम्बन्ध
चट्याङले हानेर फुटाएको ढुङ्गा झैँ
अनायास छताछुल्ल भएको छ ।
ओइ बुटजुत्ता
दिन या रात घाम या बर्षाद
आँधी या तुफान चाहे दु:साध्य दशा
जंगेपिलर भै उभ्याईरह्यो सिमानामा ।
आज बेखुसी छु बिराजी छु
तर पनि बाध्य छु
तिमी सङ्गको सम्बन्ध छुटाउन
म विवश छु ।
कृतज्ञ छु मेरो बुटजुत्ता
मलाई थाह छ
भोलिदेखी बिना विवाद बिना बहस
बाँचुञ्जेल मलाई बोकिहिड्ने
अर्को बुटजुत्ता पाउने छुइन
तर हवाई चप्पलमाथी टेकेर भए पनि
तिम्रो सामीप्यता महसुस गर्नेछु
मेरो बुटजुत्ता
सधैं तिम्रो निकटताको आभास गर्नेछु ।
जय महाकाली आयो गोर्खाली
“बस है आमा गयौं है बाबा,
लाहुरे भइ आजको दिन
फर्की आउँला कुनै दिन”
फिलिप्सको सानो वाकमेनभित्र यासिमाको ब्याट्रीले
घुमाईरहेको सेतो चक्का
यहीँ गितको तालमा जिस्किंदै नुरुलाको जाडोमा
तातो पुरी र सब्जीको आनन्द लिइरहेको
असित, हेमराज, राजेन र म ।
सायद बिहानको पौने आठ हुँदो हो
त्यो खुईले पाखाको टुप्पोबाट अचानक
लेन्सनायक राजु राईको बिगुलको नमिठो साइरन बज्छ
वाकमेन गोजिमा घुसार्दै दौडिन्छौं फालेन हुने ठाउँमा ।
मेजर रौतेला र राइफलमेन घिसिङ आइसकेका थिए
सिधै आदेश हुन्छ
“पल्टन इमिडेट ट्रेनिङ जानू छ
आफ्नो कमसेकम कपडा, सामान र
ज्यादा से ज्यादा हतियार गोलि
त्यसमा पनि अटो वेपन धेरै उठाउने
ठिक ११ बजे मेन गेट काटिन्छ
कोइ सक ?
छैन हजुर” ।
आदेशानुसार हामी
“जय महाकाली आयो गोर्खाली” को
युद्धघोष गुन्झाउदै कोततिर दौडिन्छौं
सबलाई हतार छ सबलाई छिटो छ
हतार स्वयं आफैंसंग झन हतारिन्छ
कोहि छुटिने कुनै मौका छैन
गाडी ठ्याक्कै ११ बजे गुड्छ
कुनै खबर कुनै सन्देश कुनै जानकारी बिना
हिंडाईएको अन्जान ठाउँतिर
एकनास गुडिरहेका गाडीहरु
त्यसकै पछाडी बसिरहेका हामी वलिका बाख्रा
लगभग आठघन्टा लगातार हज्जारौं शंकाउपशंकाको पोकोभित्र भौतारिंदा आर्टी र मोर्टार बमले थर्काएपछी बल्ल थाहा हुन्छ त्यहाँ त युद्ध शुरु भैसकेको रहेछ ।
सबै चनाखो, सबै चौकस र सबै चकमन्न पनि
रातको १२ बज्नै लाग्दा पल्टन दाह बेस पुग्छ
सबैको कान ठाडो हुन्छ सबैको आँखा तेजिलो
र अनुहार रापिलो हुन्छ
तब आदेशको मतलब थाहा हुन्छ
“अधिक गोलाबारुद अनि अटो वेपन” ।
कोहि बोलेका हुँदैनन्
मात्र एकापसमा मौन हेराहेर
म भने भित्रभित्रै सोंच्न थाल्छु
धामीले सुप्तुलुङ भाकेर भालेले शिर उठाएको
अनि सेतो दहिसँग मुछेको निधारको टीका
त्यै निधारको एक कुनामा तीनचुलाको मोसो,
मलाई लाग्छ
मेरो उमेरभन्दा पनि
नौ महिना अगाडीदेखिको
त्यो आमाको आशिर्वाद
जो अहिलेसम्म पनि आफ्नो उमेर,
स्वास्थ र बिमारको
कुनै परवाह नगरी
मेरो लागि ६/६ महिनामा उधौली उभौली गर्दै
देवीदेउराली भाकेर मेरो लागि
जिन्दगी अनि आयु माग्छिन्
हो त्यहीँ शक्ति छ मसंग अब देखाउनु छ
म पुगिसकेको छु रणमैदानमा
आउने दिन आगोसंग खेल्नुछ
मृत्युसंग लड्नु छ ।
जय महाकाली आयो गोर्खाली !
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी
थाप्लोभरी समस्याका सगरमाथाहरु चुल्याएर
धेरै भारु अनि डलर साट्ने सानो आशा
अनि थोरै अभिलाषा बोकेर
सत्रबर्षे कलिला रहरहरुलाई सहिद बनाएर
सिमाना काटेको म लाहुरे ।
मलाई थाहा थिएन
गोलाबारुद, युद्धलडाइँ
तोप र युद्धक विमानहरु
क्षेप्यास्त्र अनि परमाणु बमहरु
थाहा थियो त केवल
आफ्नै चुलाको समस्या
आफ्नै भोटोको समस्या
अनि आफ्नै छानोको समस्या,
चुला जलाउने
जीउ ढाक्ने
अनि छानो टाल्ने ।
यहाँ त
पसिनाले रुपैयाँ धुनुपर्ने
खुनले तक्मा साट्नुपर्ने
आफ्नै टाउको र छातीले परमवीरचक्र
र अशोकचक्र किन्नुपर्ने ।
यहाँ त मानवतालाई घात गरेर
आमाको सहारा टुटाउँदै विधवा अनि
बालाबच्चा टुहुरो बनाउनुपर्ने
त्यसपछि त झन
समस्याका सगरमाथाहरु चुलिंदै जान्छन्
भारु र डलर साट्ने आशा अनि
अभिलाषाहरु टाढिदै जान्छन्
अनि रुँदै सिमाना काटेको सम्झना आउँछ
घरको मूलढोका नाघेको याद आउँछ
आँगनको डिलमा रोपिराखेको
सुन्तला र टाँकीको बोटको स्मरण आउँछ
सबैभन्दा धेरै माया गर्ने मावली बोजुको
मृत्युमा बिदा नपाएको विगत,
बिमार आमाबाबु
अस्पताल पुराउने कोहि नहुँदाको क्षण
बाँझोबारी र पट्पट फुटेको खेतको सम्झना ।
सोंच्दासोंच्दा हलोको फालीसंगै दिमाग भासिदै जान्छ
भारु र डलरदेखी तिरस्कृत हुँदै जान्छ मन
तर एउटा बाध्यता
चुलिएको समस्याको सगरमाथा
चुला जलाउने
जीउ ढाक्ने
अनि छानो टाल्ने
त्यसैले पर्खिरहेछु त्यो दिन
एउटै स्वर बनाउँदै
क्याप्टेन लखन थापा
धेर्मभक्त, शुक्रराज
दशरथ र गंगालालहरु
आफ्नो देश आफैं बनाउँ को
नारा लगाउँदै जब उठ्नेछन्
तब म पनि सामिल हुनेछु
लिएर तिनै एमएमजी, एलएमजी र मोर्टारहरु
फेरि फर्किनेछु सुन्दर शान्त देशमा
पराधिनता र परतन्त्रताको साङ्लो चुँडाउदै
र पुकार्नेछु जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।





