कवि दिपा राई पुन नेपाली साहित्यमा स्थापित नाम हो । उहाँको कवितामा मानवीय प्रेम र करुणालाई महसुुस गर्न सकिन्छ । व्यक्तिगत रुपमा सधैं शान्त र फुलहरुसँग रमाउन मन पराउने कवि दिपा राई पुनका कविताहरुले करुणा र समभावको बिचारलाई बोकेका छन् । प्रस्तुत छ साताको तीन कविता ।
अन्तरङ्ग अनुरोध
म जहाँ पुग्छु
त्यहाँ तिम्रो सम्झना पहिले आइपुग्छ,
मेरो कमजोरीमा शक्ति तिमी हौ
आउनु, सम्झनामा आइरहनु ।
समय यात्रामा
कहिले थाक्ने रहेछु
कहिले थपेर हौसला हिँड्ने रहेछु,
मलाई हौसला थप्ने तिम्रो सम्झना रहेछ,
सम्झनाको क्षितिजबाट
हावाको स्पर्शसँगै
तिमी घाम जसरी उदाउनु
न्यानो प्रेमले मेरो मनलाई सेक्दै
बिस्तारै बिस्तारै मेरो कानमा
हौसलाको गीत गुन्गुनाइरहनु
आउनु, सम्झनामा आइरहनु ।
आफ्नै मन पनि पराई लागी
टोलाएर एक्लै बसिरहेको बेला
तिमी त मुस्कुराएकै राम्री भनेर
एकान्तमा तिम्रो झल्को आइपुग्छ,
सलेदोमा तेल भरे पछिको उज्यालो जस्तो
यसरी स्नेहले मलाई भिजाइरहन
आउनु, सम्झनामा आइरहनु ।
कहिले शरीर जड हुन्छ,
कहिले हात पाउ गल्छ,
मनमा शूल चसक्क दुख्छ
सम्झनु पर्ने सबैथोक भुलिजान्छु
केही कोही हुदैन, कोही केही लाग्दैन
न म कसैको हुन्छु, न मेरो कोही हुन्छन्,
त्यति नै खेर मलाई बौराउन
“अरे, म छुइनँ र ?”
भन्दै तिमी यादको आकाशमा झुल्किन्छौ ।
ए मेरो यात्रा
मेरो चञ्चल मनको नाविक,
म भन्दा पहिले नजानु
मृत्यु पारीको बस्तीमा ।
एक संयोग : वुहानको अनुहार जस्तै
धुलो खेल्दै हुर्किएकी म
धुलोलाई माया गर्ने मान्छे
धुलो—माटो पनि हो।
माटोसँगै घुलमिल हुन्थेँ
ऋतु परिवर्तनसँगै
उतार–चढाव मौसममा
सहजै समायोजित हुँदै
परिवेशसँग मित लगाउँदै
खुला हावासँग हिँड्थेँ।
परिवेश कतिपय दुर्गन्धित थियो
यद्यपि—
मास्कसँग मेरो मित्रता पटक्कै थिएन
ढुंगा पचाउन सक्ने, दृढता थियो।
जब संसारमा कोभिड–१९ ले राज गर्यो
सर्वत्र घण्टी बज्यो—
मास्क बन्यो सुरक्षा–कवच।
पहिलो पटक मास्क लगाएर
आफ्नो कर्ममा निस्किएँ—
अचम्म !
बाटाभरि सबैले घुरेर हेरे
बस, ट्रेन र लिफ्टमा
मानिसहरूले दूरी कायम गरे।
बाटोमै रोकेर प्रश्न गरे—
“कहाँबाट आएको?”
“ज्वरो आएको छ?”
“खोकी लागेको छ?”
मेरो चिम्सो आँखा
थेप्चो नाक, होचो कद, गहुँगोरो वर्ण—
वुहानको नागरिकसँग मिल्नु
र त्यहीँबाट भाइरस सुरु हुनु—
यो एक संयोग मात्र हो, कसरी भनौँ!
मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोणको
एउटा उदेकलाग्दो उदाहरण थियो त्यो।
समय अझ त्रासदी बन्दै गयो
संसारभरका मानिसहरू
आफ्नै कोठामा कैदी भए।
जब मर्नेहरूको लाम लाग्यो
बल्ल मास्क अनिवार्य भयो।
बिना मास्कका मान्छे
अपराधी ठहरिए—
दृष्टि आतंकित देखिन थाल्यो।
यति ठूलो संसारलाई
एउटै मास्कबाट छर्लङ हेर्न खोज्नु—
कस्तो विडम्बना !
रोगभन्दा मनोरोग बलियो बन्यो—
जब मनमा बस्यो,
दृष्टि र चेतनामा बस्यो
समाजलाई जर्जर पार्यो।
जहर बन्यो सोच—
न अस्पताल, न आफन्त—
केवल साक्षीभावले
मानव दुर्दशा हेरिरह्यो।
हो, कोभिड–१९ ले
धनी–गरिब देखेन,
उमेर सोधेन,
रंगभेद गरेन।
हुरीझैँ आयो,
चुपचाप लग्यो—
आफ्नैलाई छुनसमेत दिएन।
आत्मबलले जित्नेहरू
ढलेर उठे—
यो सत्य हो।
तर मन—
अलिकति पनि सुध्रिएन
मान्छे—
कहिल्यै मान्छे हुन सकेन।
सृष्टि–चक्रमा
हामी जहाँबाट आउँछौँ,
उतै फर्किन्छौँ।
सृष्टिको सत्य नबुझी
स्थूल आसक्तिमा डुबेर
संसार प्रलय हुँदा पनि
होमिन तयार हुन्छौँ—
तर अहंकारको भारी
बिसाउन सक्दैनौँ।
त्यसैले
आफैँभित्र फर्किने बाटोबाट फर्केर
मानव सभ्यता ब्युँझाउन—
जागोस् अन्तरमन।
उद्घोष – अस्तित्वको चिहानबाट
आफ्नै आँगनको सिमानाबाट हराएको पूर्खाको ईतिहास
गलत लेखेको छ- कलमधारी शासकले
समयको आँखामा कालो पट्टी बाँधेर
केरिरहेछ अन्धकारमा उसैले- उसैको सर्वोत्तम आकाँक्षाहरू
अहंकारको आयातित बुटजुत्ता लाएर
कुल्चिरहेछ रैथाने सद्भावहरू
छद्म भेषी बनेर भनिरहेछ अनि
“हामी सबै एकै हो |”
नझुल्कदै घाम
बाग्मतीको पानीले बगायौ तिम्रा पापहरूलाई
यता दुधकोसीमा बगिरह्यो हाम्रा रगतका भेलबाढी
फुक्यौ बिगुल आतंकको
र पस्यौ- आदिबासी अस्तित्वको चिहान खन्न
चिहानबाट ब्युँझदैछन अब- अस्तित्वको उद्घोषहरू
थाह छ पुर्खाको सृष्टि
थाह छ आफ्नै थातथलो
लडाई लड्नु अघि
उत्खनन गर्नु पर्छ अब
आफ्नो पूर्खा हराएको आँगनको प्रमाणहरू
वल्लो किराँत- पल्लो किराँत- माझ किराँत
सम्पूर्ण किराँत भूमि नै
छलछामको खेलमा हारेकै हो
माना मुरी फल्ने खोला खेत
एक माना घ्यूमा लियो
मित बाबुले
गढ/ थुम / किपट
अधियारा- नयाँ छिमेकीले लियो
बाँकी थियो करेसाबारी
मीत लाएको निहुँमा मीतज्यूले लियो
खै कोको आए- आँधी जस्तै आदिम बस्तिमा
र तहसनहस पारे भूमेथान
खोज्नु छ- अस्तित्वको चिहानबाट
यति खेर म पुर्खाको चिहानमा उभिएर
इमान नबेच्ने पुर्खालाई सेवा टक्राउदै
तिम्रो चतुर्याईको नाङ्गो नाच हेर्दैछु
धुर्त तिम्रो अनुहारमा
अनिष्ट भावहरू अझै सल्बलाउदैछ
अहो ! मभित्र पनि जाग्दैछ आदिवासी झाँक्री
तिम्रै आँगनमा उभिएर, तिम्रै अनुहारलाई अब
सधैंका निम्ति दफन गर्ने अभिष्ट ईच्छा जागेको छ
जसलाई दुनियाको कुनै पनि शक्तिले
मुक्ती दिने आँट गर्ने छैन !





