महिला सुरक्षा दवाब समूह नेपालकी सचिव तथा महिला अध्ययन केन्द्रकी अध्यक्ष कवि सिता ओझा महिला आन्दोलनको क्षेत्रमा एक स्थापित नाम हो । उहाँको लेखनीले महिला अधिकार र मुक्तीको निम्ति दह्रो रुपमा आवाज उठाईरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

दम्पती

तिमी र मेरो
यारको साइनो होइन
प्यारको नातो जोडिएको छ
विहान र साँझमात्रै भेटे पनि
नयाँ घर बनाउने सम्बन्धले
जीवन चलाउने सहयात्रामा
अग्निको सात फेरो लगाउदा
परिवार बनाउने जिम्मेवारी
नाता र सम्बन्ध साक्षी राखेर
तिमीलाई बुझाएका छन् ।

तिमी र मैले बनाउने घरभित्र
मानवता र भावनात्मक सम्बन्धको
घडा भर्न र प्यास मेटाउन
जीवनरसको जल राखिएको छ
भर दिनको थकाइ मेट्न
दुख र सुखको स्वाद फेर्न
विस्तारामाथि सप्तरङ्गी
सतरञ्जा ओछ्याइएको छ ।

तिमी र मेरो
सम्बन्धको डोरीभित्र
नङ्ग र मासु जस्तै
ओत र ओज भरिएको छ
जीवनका हेरेक रङ्ग चिन्न
एकअर्कोलाई बुझ्न
विहान र साँझको
भान्सामा इन्द्रेणी कोरिएको छ ।

तिमी र म विचको सम्बन्ध बुझ्न
मारे पाप र पाले पुन्यको कथाले
एउटा पाटोबारी नै खर्चिएको छ ।
गृहस्थको बन्दोबस्तीकोलागि
पतिपत्नीको सह-धर्म रोजिएको छ ।

तिमी र मेरो गृहस्थमा
तिम्रो र मेरै विश्वास अडिएको छ
नरम र गरम हुँदाका गन्थन मेट्न
दुबैको अस्तित्व साटिएको
भावनाको चौतारी बनाइदिएको छ

तिमी र मलाई चिन्न
हाम्रै मन र मन्दिर काफी छ
तिम्रो पतित्व र मेरो पत्नीत्व
दुबैको सतित्वको अग्नि परीक्षा
काँचो धागोले खुल्ला
नातामा बाँधिदिएको छ ।

तिमी र म विचको विश्वासमा
तिम्रो र मेरो अपनत्व जोडिएको छ
झुकिएर लागेका चोट र खोट बिर्सन
पुरै रात र हाम्रो विस्तारा काफी छ
तर पनि हाम्रो मौनता जिवित छ
खै, किन हो ?
प्रश्नको उत्तर भेटिएको छैन,
आजकल
दिन पनि अध्यारो छ,
मेरो मौनताभित्र
तिम्रो न्यानो स्पर्श
तिमीप्रति नै चसक्क भएर झस्किएको छ ।

मैले गरेको विश्वासमा तिमीले धाप मार्नु पर्ने
तिमीले साँचेको स्नेहले म ओजस्वी देखिनु पर्ने
तर, दुबैविच अविश्वास र छल पो देखियो त  !

तिमी र म विचको चिसोले
हाम्रो परिवार चिसिँदै छ
मिठो,मसिनो सिद्धिदै छ
भन्डारको सह रितिँदै छ
अनाहकमा अर्काको कान्लो
खेत र बारी खनिदैछ ।

त्यसैको संकेत हो
मेरो मौनता
तर,तिम्रो मौनतामा के छ ?
मलाई थाहा छैन।
कोट्याउन पनि खोजिन

तिमीले अलिकति बल गरेर
कोट्याउन खोज्यौ भने
सुल्झाउन र बुझ्न खोज्यौ भने
त्यसैभित्र तिम्रो संसार भेटिनेछ,
डुबी सकेको पन्डुवी
फेरि सतहमा तैरिने छ
टुटी सकेको विश्वास पनि
अझै तिमीसँगै अडिनेछ ।

मैले नाँघ्न खोजेको काँडेतार
तिम्रो मनभित्रको अल्मल
तिम्रो र मेरो विश्वासले चुडिनेछ
तिम्रो पाएनको रसायनले
हाम्रो मायाको डोरो
अझै बलियोसँग गाँसिने छ

अँध्यारी र उज्येली 

कुनै दिन म तिमीलाई उठाउन रोएँ
धेरै जसो म तिमीलाई बनाउन रोएँ

कैलेकैले मैले तिम्लाई धेरै नजर लाएँ
नबोले नि मैले तिम्लाई कति गनगनाएँ

न सोधे नि तिमीलाई कति फन्का लाएँ
धेरै पटक तिम्रा घुर्कि सुनेर अघाए

त्यसैले त खुसि छु नि मनै देखि आज
खुसिभित्रै भिजेकी छु रूदै सारा रात

सम्झनामा गडेको छ,तिम्रो वालापन
अरूलाई नमन गर्छु तिमीलाई सलाम

दुख पिर केहि छैन खुशी खुशी मन
सधैभरि पाए हुन्थ्यो तिम्रा बालापन

अध्येरी र उजेली छ तिम्रोहाम्रो जीवन
खुसि अनि दुख पनि केलाउने जीवन

साँझ भन्दा विहानीको हाम्लाई लाग्छ चाह
साउँको भन्दा कति कति व्याजको माया

हिजो भन्दा आज तिमी फरक भएका छौ
सुचना र प्रविधिले जीवन रङ्गाए छौ

हेर पनि खेल पनि दुनियाँ बुझ्ने गरि
सपनाको कल्पनामा दिन ल्याउने गरि

प्रिय आमा

मलाइ जीवन दिने
सुख र दुख सिकाउने
जिवनको महत्त्व बुझाउने
तिमी मेरी
प्राणप्रिय आमा ।

तिम्रा सन्तान मध्येकी
एउटी म
म जन्मदा
धेरैले भने होलान
पहिले नै बन्साको बोट
हरे !
छोरी पो
ल है गलगांड
अरूलाइ पोष्ने थाङ्ने रांड ।

तर
तिमीले कहिलै सुनिनौ
अनि
मलाई भनिनौ पनि

कहिल्यै बेकामे ठानिनौ
त्यसैले त
तिमी मेरी आमा  !

दुनियाँले मलाई हेरिरहे
तिमीले मलाइ कुंदिरह्ययौ
चमत्कारको सजिव मुर्ति
जो जिउनकालागि मात्र होइन
जीउन सिकाउने अभियानमा
लाग्न सक्के
धारिलो हतियार
वर्षो लगाएर बनाइ छाड्यौ

आमा  !
तिमीलाई लाखौ सलाम
यो जीवन रङ्गीन र क्रियाशील
बनाइ दिएकोमा
जुझारु र मिहेनतीको सिल्पी
भरिदिएकोमा

आमा
तिमी मेरी आमा
अनि म जस्तै सयौंकी
मेरी जस्तै आमा
युगौयुगसम्म
तिमी यस्तै ममतामयी र स्वास्थ
भएर बाच्च
तिमी र तिमी जस्तै संसारका
सबै आमाहरूलाई
हाम्री आमा हुन पाएकोमा
लाखौंलाख शुभकामना  !

तपाईको प्रतिक्रिया