काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले युवा नेता रामकुमारी झाँक्रीलाई प्रश्न गर्दै आफ्नो फेसबुकमा भावुक ‘स्टाटस’ लेखेकी छन् । उनले भनेकी छन्, ‘मेरो आमाको सेतो सारीमा प्रश्न उठाउने तपाईं को हो ?’

नेता झाँक्रीले राष्ट्रपति विद्या भण्डारीतर्फ संकेत गर्दै केही दिन अघि ‘उनलाई सेतो सारीमा चुनाव लडाउनु गल्ती थियो’ भनेको प्रसंगमा राष्ट्रपति पुत्री उषाकिरणले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले भनेकी छन्, ‘तपाईं कम्युनिस्ट स्कूलिङको हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ भन्ने बुझ्नुपर्ने हो । मेरो ममी एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो । तपाईं सेतो सारीको कुरा गर्नुहुन्छ, मेरो घरमा सेतो तन्ना, सेतो सोफा, सेतै भित्ता थिए । उहाँले ड्याडीलाई मन पर्ने खाना अचार बनाउन छाड्नुभयो । उहाँका स–साना छोरीहरू हामीले प्रश्न उठाएनौं, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’

जननेताको उपनाम पाएका लोकप्रिय नेता मदन भण्डारीको निधनपछि रिक्त भएको काठमाडौं क्षेत्र नम्बर १ मा २०५० को उपनिर्वाचनमा विद्या भण्डारी विजयी भएकी थिइन् ।

त्यसपछि काठमाडौंबाटै क्षेत्र परिवर्तन गरेर चुनाव लड्दा पनि विद्या २०५१ र २०५६ दुवै निर्वाचनमा विजयी भएकी थिइन् ।

राष्ट्रपति भण्डारीका दुई छोरी छन् । उषाकिरण जेठी छोरी हुन् ।

तपाईको प्रतिक्रिया