काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता समिर बलामीले प्रचण्डले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका थिए । सर्वोच्च अदालतले वलामीको निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकेको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदको दाबी छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमनाथा ढुंगाना र चार पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा आफैं लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

प्रचण्डले शुक्रबार विराटनगरको आमसभाबाट भनेका थिए, ‘सारा देशले सुने हुन्छ, सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत नै ठूलो हो ।’

तपाईको प्रतिक्रिया