कवि हृदय लेकाली भैरहवा रुपन्देहीकाे हुनुहुन्छ । पेशाले ओकालत क्षेत्रमा सकृय उहाँ विभिन्न साहित्यिक संगठनमा आवद्व हुनुहुन्छ । पछिल्लो पुस्तामा छन्दमा कविता लेख्ने युवापुस्ताका कविहरु बिस्तारै कम हुदै गईरहेको अवस्था छ । छन्दका विभिन्न बिधाहरु मध्ये शार्दूल विक्रीडित छन्द नेपाली साहित्यमा सर्वाधिक प्रिय र धेरै लेखिने छन्द मध्ये पर्छ । प्रस्तुत छ साताको तीन कविता ।
आकाँक्षा
पाक्ला खीर भनी कुरेर डिलमा बस्यो जसै मानिस
के पाक्थ्यो सपना विलाप क्षणमा पाकेन राम्रोसित
बाक्लो दूध थिएन चामल त्यहाँ पीडा थियो जर्जर
चौलानी धमिलो थियो फतफती पाक्दै थियोचामल।
भोको पेट थियो अनाज तनमा सारा पचेको थियो
धोको आज बिहानबाट उसको खाने मिठो खीर थ्यो
बासी दूध थियो चिनी गुड विना के खीर नै बन्ने भयो
कस्तो खीर भयो नखाइनहुन खाँदा अचम्मै भयो
राम्रो व्यञ्जन खीर पाक्छ गतिलो सम्भ्रान्त ठूला घर
साना यी झुपडी जहाँ समयमा पाक्दैन खान्की तर
माछा मासु दही र गोरस या अण्डा कहाँ पुग्छ र
नाथे जीवन हुन्छ कष्ट कर यो भण्डार रित्तो घर।
मेला पर्व दशै तिहारहरु ती भैदिन्छ एकादशी
रित्ता चाह सबै हरेक पलमा मर्छन् विना अर्थमै
लाग्दा भोक नपाउँछन् गरिब ती आनन्दले टन्न ती
नाङ्गो आङ छ ढाक्न बस्त्र गतिलो पाउन्न क्यै फेर्न ती।
मात्रै त्यो सपना न हो गरिबको देखेर ऊ मर्दछ
तीता ती मनका सबै रहरमा यो जिन्दगी हर्दछ
चिन्ता शोक पिरै त हो गरिबको भोगाइको जीवन
बान्की खीर कुनै हुँदैन उसको निस्तो तितो जीवन ।
सच्चा घर
पार्टी मात्र खुले अनेक थरिका सिन्को नभाँच्ने कुनै
आफ्नै लागि भए हरेक क्षण यी लुट्ने र धुत्ने सबै
सारा देश भयो अनाथ बबुरो नेता बने शासक
आफ्नो मर्म सिधै बताउन यहाँ मान्दैछ देशै धक।
पार्टीका पछुवा बने जनहरू यो राष्ट्र के बन्छ र
हामी नै सकियौँ लडेर रणमा वैरी कुनै गन्छ र
बाआमा बहिनी र दाजु भतिजा नाता भँडाए सबै
काका भाइ दिदी भिनाजु र फुपू सम्मान भाँडे सबै।
भट्टी चोक किनार पान पसलै अड्डा भयो बातको
राम्रा काम कुरा हुँदैन तिनमा उठ्छन् कुरा घातको
थुप्रै साल बिते कुनै बखतमा आएन राम्रो दिन
राम्रो काम गरेँ भनेर जनमा भो फूर्ति छाँट्छौ किन।
नेता छन् दलमा दलाल मतिका लोभी र पापी उनै
पार्टीका मतियार छन् मुलुकले पाएन नेता कुनै
हाहाकार छ आज यो मुलुकमा सारा युवा रित्तिए
पाखा गाउँ छ शून्य आज रमिते संस्कार ती सिद्धिए।
पार्टीका हनुमान आज अघि छन् यो देश खोक्रो भयो
के भन्छौ अब राष्ट्रवाद छ यहाँ देशै खरानी भयो।
नेता लम्फु दलाल भ्रष्ट अति छन् सिन्को नढाल्ने भए
आ-आफ्नै दलका मिली भगतले देशै उजाड्ने भए।
सच्चा प्रेम छ देशको यदि भने यो देश
बेबी सावर
अचेल आमा हुनेहरुको भाउँतो असाध्यै बढेको छ
जाबो कसैले नबोकेको पेट बोकेर
दुनियाँलाई निर्लज्ज देखाउँछन्
बेबी सावरको नाममा
सात आठ महिना अघि गरेको कामको फल
देखाउनै छ भने देखाउ
तिमीले समाजमा गरेको राम्रो काम
समाजमा लगाएको राम्रो गुन
समाजसित सामाजिक बनेका कुरा
समाजभित्रका घत लाग्दा कुरा
समाजसित तिम्रो लगाव
समयलाई कुमति लाग्यो या तिमीलाई
आमा हुने चक्करमा
नाथे लाद्रे भुँडी गर्भिणी भो भनेर
नदेखाउ छाडिएर
आफूले बोकेको पेट
बेबी सावरको नाममा
पक्कै थाहा छ होला
या याद राख –
यो संसारमा जन्मेका ठूला भद्र शालीन मान्छे
तिमी जस्तै आमाले जन्माएका विना बेबी सावरकै मान्छे हुन् उनीहरु ।





