यस्तो खबर सुनाउँदै नसुनाउनु
उमेरको अन्तिम डोरी पक्रीएर
सिकुवाबाट छोराको बाटो हेरिरहेकि
ती आमालाई सुनाउँदै नसुनाउँनु
छोरा भर्खरै मेसिन संग जुध्दा जुध्दै
सधैको लागि हार्यो भनेर
फर्किने बाचा गरेर
छुटेको एक जोडी प्रेमी
जसले चढाएको थियो
देउरालीलाई प्रेमको नासोमा
फूलको केही थुङ्गा
ती प्रेमी जोडीलाई सुनाउँदै नसुनाउँनु
ती फूल ओइलिसक्यो भनेर
जसले बिस्कुटका केही पुरिया
केही थान चकलेटको आशामा
बचपन आफ्नो बाबू बिना बिताएको छ
ती सन्तानलाई सुनाउँदै नसुनाउँनु
कि अब गुलियो बोकेर
उसका बा कहिलै आउने छैन भनेर
कक्षा कोठाको एक कुनामा
क्यानभासले भबिस्य कोरिरिरहेको
ती मासुम नानीलाई सुनाउँदै नसुनाउँनु
कि अब कुची छोडेर
बन्दुकले देशको चित्ररेखा कोर्नु पर्छ भनेर
एउटा प्रेमीका जसले आफ्नो प्रेमिलाई
फर्किन्छ भनेर आधा मुटु हातमा थमाईदिएकी थिइन
ती प्रेमिकालाई सुनाउँदै नसुनाउँनु
कि अब त्यो आधा मुटु
अर्को पूरा मुटुको नाममा
समर्पित भै सक्यो भनेर
हो त्यस्तो खबर सुनाउँदै नसुनाउँनु
जसलाई सुन्न मन नहुदा नहुँदै पनि
सुन्नै पर्ने हुन्छ
र, जसले सुनाउन मन नहुदा नहुँदै पनि
बाध्य भएर सुनाउनु पर्ने हुन्छ।
तिमी यसरी आयौ
जिन्दगीको म्याराथन दौडिदै गर्दा
थुप्रै पटक लड्दै , उठ्दै ,सम्हालिन्दै
हिडिरहेको एक्लो मान्छे थिएँ म
मेरा अघि थुप्रीएका
आफ्नै सपनाको ड्राफ्टहरु
जसको भारीले थिचिरहेको बेला
गन्तव्य सम्म पुग्नलाई
गोडाहरुले बाटो बिराईरहेका बेला
आँखाहरुमा निराशाको कुहिरोले
छपक्कै छोपिएको बेला
तिमी यसरी आयौ
सायद बिरलै आउँछ कोहि
जसरी आउँछ
प्रचण्ड गर्मीमा बोकेर चिसो हावाको झोका
अध्यारो कोठा भित्र प्रकासको एक किरण
गुमिसकेको आँखामा फेरि नया दृष्टि
या झरिसकेको रुखमा नया पालुवा
सपनाहरुको ड्राफ्टलाई
सुन्दर करेक्सन गरिदिदै
तिमी आइसके पछी
जिन्दगीले थुप्रै छलाङ मार्दैछन
भेटाएको छु आफुले आफैलाई
भेटाएको छु आफ्नै अस्तित्वलाई
यदि तिमी नभेटिएको भए
सायदै म आफ्नै अस्तित्वबाट हराईसकेको हुन्थे ।
छुट्दै जाने रहेछन्
कति कुरा जनतसाथ सम्हालेर लान्छु भन्दा भन्दै छुटी जाने रहेछ ।
कहिले एक कविको कविताका हरफबाट
प्रेमको कुरा लेख्न छुटेर जान्छ ।
कहिलेकाहीँ सपना देख्दादेख्दै बिपना छुटी जान्छन्
सम्झनाका तरेलीबाट केही याद छुटी जान्छ ।
कहिले एकातिर सम्झनाको गहिरो तालमा डुबुल्की मार्दै गर्दा
अर्को तिर बाडुलीको हिक्का छुटेर जान्छ ।
नदि आफ्नै लयमा निरन्तर बगेर जान्छ
बगर एक्लो- एक्लो छुटी रहन्छ ।
कहिले सम्झिन्दा सम्झिन्दै छुटी जान्छ ।
कहिले सम्झन बिर्सेर छुटी जान्छ ।
कोहि कोहि सदा मनमा बसिरहन्छन
आँखाबाट बिस्तारै छुटी जान्छ ।





