काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैबाट तलमाथि हुने नदिने बताएका छन् ।

आज काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजित बिसाल जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले गणतन्त्रलाई तलमाथि गर्छु भन्ने सोच कसैले नराख्दा हुने घोषणा गरे । संविधानको दृढतापूर्वक कार्यान्वयन गर्दै ताजा जनादेशमार्फत मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउने आफ्नो योजना सुनाउँदै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपा नै नेपालको मूल पार्टी रहेको ठोकुवा गरे ।

‘आज बिहानसम्म पनि भन्दै थिए, ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे । लोकतन्त्रका लागि आधा दशकभन्दा बढी समय प्रजतन्त्रका लागि जुन केपी ओली लड्यो, उसैले राजतन्त्र फर्केको घोषणा गर्छ रे’ प्रधानमन्त्री ओलीले भने, ‘यो संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न सक्दैन । कार्यान्वयन गरेर अगाडि जान्छ । यो प्रणालीले विकासमा वाधा दिएको छैन । तपार्इं हामीले लडेर ल्याएको हो गणतन्त्र, अब संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न सक्दैन, तलमाथि पार्न दिइन्न ।’

आफूले आधा शताब्दी राजतन्त्रविरुद्ध लडेको भन्दै प्रधानमन्त्री ओलीले आफूबाट राजतन्त्र पुनस्र्थापना असम्भव भएको प्रष्ट पारे । प्रधानमन्त्री ओलीले अब देश चुनावतर्फ गएको पनि बताए । ‘अब देश चुनावतर्फ गयो गयो, अब चुनावले नै सबै कुराको फैसला गर्छ ।’

सभाका प्रमुख वक्ता प्रधानमन्त्री ओलीले आफूले अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा प्रकाशन गरेपछि नै जसरी पनि सरकार र पार्टीबाट हटाउने षडयन्त्र सुरु भएको तथ्य खोले ।

‘अघिल्लोपटक चीनसँग संझौता गरेपछि मलाई हटाइयो, योपटक पनि नक्सा छापेपछि मलाई नहटाइ नहुने अठोट गर्नुभयो,’ आफ्नै पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको हर्कत बारे बोल्दै ओलीले भने । प्रचण्ड र माधव समूहले नक्सा प्रकाशन गर्नै नदिन आफूलाई हटाउने अभियान सुरु गरेको पनि ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले जनसभामा उपस्थितिले नेपालकै मूल पार्टी कुन हो भन्ने स्पष्ट जवाफ मिलेको घोषणा पनि गरे । ‘अब पनि कुन पार्टी मूल पार्टी ? कुन पार्टी खास पार्टी ? कुन पार्टी सक्कली ? कुन पार्टी नक्कली भन्ने प्रश्न बाँकी रह्यो र ? इतिहासमै सवैभन्दा बढी उपस्थितिको यो जनसभाले फैसला गरेन र ? फैसला ग¥यो, कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लाग्यो,’ ओलीले भन्ने, ‘यो पार्टी नै कम्युनिष्ट आन्दोलनको मूल पार्टी हो, कम्युनिष्ट आन्दोलनको मात्रै होइन, देशको मूल पार्टी हो, प्रमुख पार्टी हो, सबैभन्दा ठूलो पार्टी हो ।’

प्रधानमन्त्री ओलीले तीन बर्षसम्म प्रचण्ड र माधवले जनताको हितमा हुने काम गर्न अवरोध गरिरहेको र उनीहरु बाहिरिएपछि धमाधम काम अघि बढेको पनि बताए ।

‘तीन बर्षसम्म आयोगहरु बनेनन्, अहिले दुई चार जना मान्छेहरु पार्टी छोडेर गएपछि आयोगहरु बने । ती मान्छे रहेसम्म हामीले आयोगहरु गठन गर्न सकेनौं,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुलाई आयोग बनेकोमा कत्रो पिर ? आयोग बनेको भोलिपल्ट नेपाल बन्द । महिला, दलित, जनजाती, मधेसीको समस्या उठाउनै नहुने ? कत्रो पिर ? उनीहरुको हितमा काम गर्नै नहुने, कत्रो पिर ?’ प्रधानमन्त्री ओलीले भने, ‘उनीहरुका षडयन्त्रहरुलाई चिरेर हामीले आयोग बनायौं ।’ प्रधानमन्त्री ओलीले अब मुलुक चुनावतर्फ गएको र सबै कुराको फैसला जनताले गर्ने बताए ।

तपाईको प्रतिक्रिया