खोटाङको कवि नविन बर्तमान समयको शसक्त कविहरु मध्ये एक हुन । आफ्नो लेखनमा सचेत उनका कविताहरुले सबै किसीमको अन्याय र अत्याचारको बिरुद्धमा खह्रो प्रतिकार गर्छ साहित्य लेखनसगै पत्रकारिता पनि सकृय छन् प्रस्तुत छ साताको तीन कविता ।

बधशालामा भेटिएकी बच्ची

म रगतै रगत पोखिएको बधशालामा छु
ह्याम्मर,
मौला,
दाम्लो,
केही थान दाउहरू,
केही छालाहरू,
केही गिँडिएका टाउकोहरू असरल्ल छन् जताततै
छरपस्ट छन् जताततै

एउटी बच्ची छिन्, अर्को म छु ।

म त ठीकै छु
बुझ्दछु बधशालाको नियती र परिबन्ध
बुझ्दछु बधशालाको चरीत्र र स्वभाव
बुझ्दछु बधशालामा हुने न्याय र फैसला
तर, यी बच्ची ?
कसले ल्याएर छाडिदियो यति सानो जोर पैतालाहरू ?
यति कलिला आँखाहरू
यति कलिला हातहरू
यति निर्दोष अनुहार कसले ल्याएर यहाँ छाडिदियो ?

यो उमेरमा गीतका केही पंक्तिहरू
अल्झनुपर्थ्यो उनको जिब्रोमा
लडबडिनुपर्थ्यो केही शब्दहरू उनको ओंठमा
जो मुस्कुराउन बिर्सेकी छे, फूलभन्दा कोमल मुस्कान
जो रुन सक्दैन, शीतको थोपाभन्दा पवित्र आँसु
जसले हिँड्ने आफ्नो बाटो छैन, बन्द छ बधशालाको ढोका

भर्खरै हाँसी दाँत पलाएको
यी बच्चीको बाआमा कता छन् ?

मन्टेश्वरीको गेटले धकेलेर त यहाँ आइपुगिनन् यी बच्ची ?
खै त यिनको हातमा कलम र कापी !
खै त यिनको टिफिन बक्स वा सानो झोला !
खेलौनाहरू कहाँ छुटाएर आइन् !

केही बोल्दिनन् यी बच्ची
यिनको बोली कसले खोसिदियो ?

म जवाफविहीन छु ।

केही बोलेकी छैनन्
यिनको चिच्याहट कहाँ थुनियो ?
कथंकदाचित यी बच्ची चिच्याइन्
र चिच्याहट
बधशालाको चौघेरो नाघेर बाहिर निस्कियो भने
सबैभन्दा पहिले कसको कानको जाली फुट्ला ?
– समाजको ?
– न्यायालयको ?
– राजनीतिको ?
वा यो व्यवस्थाको ?

म सोचिरहेथेँ….

बच्ची थुचुक्क बसिन्
खेलौना सम्झेर हो या कलम सम्झेर
छेवैको दाउमा कलिला औंलाहरू सुस्तरी राखिन्

म झम्लंग ब्युझिएँ ।

म सोचिरहेछु यतिखेर
यदि मध्यदिनको यो सपना साँचो भयो भने
ती बच्चीले दाउ उठाइन् भने
त्यो दाउ सबैभन्दा पहिले कसको गर्धनमा पर्ला ?

एउटा मानिसको कथा

लाग्छ – ऊ माटोको गिलास हो
जो भर्खरै समयको हातबाट छुटेर
मार्बलमा बजारिएको छ

लाग्छ- ऊ कसैको औंला झुक्किएर ठोक्किएको
पुरानो सारंगीको एक्लो तार हो
जसले आफ्नो मृत्युको गीत आफैं गाउनुपर्छ
कुनै मानिसको आत्महत्याले
हाँगा थर्थराएर खसेका
थोपाहरूको सरसराहट जसरी
शासक विरुद्ध फाँसीको तख्ताबाट निस्किएको
अन्तिम आवाज जसरी
जल्नुअघि
झिलिक्क बलेको बिजुलीको बल्ब जसरी
हारेको ठानेर हुन्छ
या जितेको ठानेर
उसले आफ्नो मृत्युको गीत आफैं गाउनुपर्छ

चित्कारमा आनन्द लिन
कुनै कलिलो हातले
फर्सीको फूलमा छोपिन सक्ने कीरा हो ऊ
धुलो र माकुराको जालोले छोपिएको
कसैको प्रतिबिम्बको प्रतीक्षामा बाँचेको ऊ
ऐना पनि हो
र ऊ कुवा पनि हो
जसको छातीमा जून मुस्कुराइरहेको वेला
पहेंलो पात खसिदिँदा मात्र पनि
कच्याककुचुक हुनसक्छ

ऊ हात काट्छ
र प्रेमपत्र लेख्छ
ऊ भट्टी छिर्छ
र आफ्नै हातले निधार हिर्काउँछ
ऊ महँगीमा उभिन्छ
र बजार भाउ सुनेर मात्र फर्कन्छ
ऊ भूकम्पले आधा चिथोरेको घर सम्झन्छ
ऊ दु:खले धुजा-धुजा बनाएको आमाको अनुहार सम्झन्छ

ऊ यति निरीह मानिस हो कि
जुनसुकै वेला पनि उसको नाक-कान काटिन सक्छ
जुनसुकै वेला पनि ऊ बेपत्ता हुनसक्छ
जुनसुकै वेला पनि उसको मुटुमा बारुदको गन्ध भेटिन सक्छ

कहिलेकाहीँ भने भनिहिँड्छ ऊ,
‘यो सहर मेरो पनि हो
यो सहरमा
मेरो सपना धरहरा भइसकेको छैन’
र पनि ऊ निरीह मानिस हो
वर्षौंदेखि सुनसान घरसँग जसरी
-जीवनको छनक दिने वृद्ध खोकीहरू
-धिपधिप गर्दै मधुरो बल्ने दियो
-साँझ-बिहान धुरीबाट आकाश उक्लने धुवाँहरू
केही-केही छैनन् उसँग

ऊ कुनै चुल्ठोमा सिउरिँदै गर्दा
फूलको थुंगोबाट खसेको एउटा पत्र हो
ऊ कुनै युवतीको छातीबाट खसेको
कमिजको टाँक हो
ऊ जे पनि हो
ऊ उज्यालो बोकेर गइरहेको घाम हेर्दै टोलाइरहने
फुल्न खोजिरहेको आरूको रूख हो
ऊ मध्यराति बतासको ठोक्काइले
चुइँ… चुइँ…गरिरहने
गाउँको कुनै एक्लो घरको चुकुलविनाको ढोका हो
ऊ तोक्माको संगीत सुनेर बाँचेको
पुरानो बाटो हिँडेर आएको पाैताला पनि हो
ऊ यति मात्र होइन
ऊ विस खोसिएको सर्प हो
ऊ भाषा र आवाज खोसिएको सुगा हो
ऊ जंगल र स्वतन्त्रता खोसिएको बाघ हो

कहिलेकाहीँ
म उसलाई बेस्सरी सम्झन्छु
खडेरीमा विरुवाले वर्षात सम्झिए जसरी
नवविवाहित महिलाले
सिरानी अंगालेर निदाए जसरी
झुक्किएर आमाले
मरेको सन्तानलाई पनि खाना पस्किए जसरी
उसलाई म बेस्सरी सम्झन्छु

यो सहरमा
झुट बोलेर बाँच्ने कोसिस गरिरहेको म
दम्भ देखाएर बाँच्ने कोसिस गरिरहेको म
दुखेको कुरा गर्न नजानेको म
खुसी देखिने अभिनय गरिरहेको म
कहिलेकाहीँ केही क्षण फुर्सद निकालेर
जब उसको निरीह अनुहार सम्झन्छु
मैले ऐना अगाडि उभिनुपर्ने हुन्छ ।

तिमीसँग भेट नभएको भए

तिमीसँग भेट नभएको भए उदास लाग्ने थिएनन् साँझहरू
विफल हुने थिएनन् आत्महत्याका प्रयासहरू
लेख्ने थिइनँ हाम्रो सम्बन्धको आयुभन्दा धेरै ‘सुसाइड नोटहरू’

आँसुले छातीमा हिर्काएर जाने थिएन
शब्दहरू घाँटीसम्म आएर अड्कने थिएनन्
झरीले रुझेको कागज जस्तो हुने थिएन ओंठ
बेपत्ता हुने थिएनन् ओंठको कुनाबाट मुस्कानहरू

तिमीसँग भेट नभएको भए बिथोल्ने थिएनन् विगतहरूले
जन्मिने थिएनन् सपनाहरू
भेट्दिनँ थिएँ तिम्रो हाँसोमा जीवनका बाँकी खुसीहरू
तिम्रा आँखाबाट देख्दिनँ थिएँ हिँड्नुपर्ने बाँकी बाटाहरू

तिमीसँग भेट नभएको भए
अल्झन्न थिएँ म तिम्रो पैतालामा
र पछ्याउँदिन थिएँ तिमीलाई सुदूर-सुदूरसम्म पुग्नका लागि
तिम्रो गरम सासहरूले निथ्रुक्क भिज्ने थिइनँ म
तिम्रा औँलाहरू मेरा कपालहरूमा दगुर्दैन थिए

तिमीसँग भेट नभएको भए- एउटा यात्रा आफूखुसी हिँडिरहन्थ्यो
एउटा मान्छे आफूखुसी बाँचिरहन्थ्यो
तिमीसँग भेट नभएको भए छुटिने त्रासले निस्कदैनथे सुस्केराहरू
कसैलाई गुमाउने भयले धड्किदैनथ्यो मुटु
प्रेमको तापले यसरी पग्लिदैन थिएँ म

फेरि यसो सोच्छु
तिमीप्रतिको गुनासोहरूलाई परै राखेर सोचिबस्छु म…
तिमीसँग भेट नभएको भए आउँदैनथ्यो यत्रो दु:खलाई छिचोल्ने साहस
तिमीले मलाई यति बलियो बनाएर छाडेकी रहिछौ कि,
तिमीसँग भेट नभएको भए उहिल्यै मरिसकेको हुन्थेँ म ।

 

तपाईको प्रतिक्रिया