काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

उनले किशोरीको मोबाइल ‘रिकभर’ गरिने बताए । तालिम प्राप्त कुकुरको सहयोगमा ३ दिनपछि घटनास्थलमै भेटिएको मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको विवरण निकाल्न प्रहरीले ‘रिकभर’ गरिरहेको छ ।

सिंहका अनुसार भागरथीको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला र केन्द्रीय डिजिटल ल्याबमा पठाइएको छ ।

‘मोबाइलका म्यासेज, अडियो–भिडियो र कलका विवरण निकाल्न सकिने भएकाले अनुसन्धानमा सहज हुनेछ,’ सिंहले भने, ‘भागरथीले भारतीय सिम कार्ड पनि प्रयोग गरेको खुलेको छ । घटनास्थलमा भेटिएको मोबाइलमा भारतीय सिम कार्ड थियो भने नेपाली सिम कार्ड घरमै भेटियो ।’ सिंहका अनुसार भारतीय प्रहरीसँग समन्वय गरेर अनुसन्धान भइरहेको छ ।

घटनास्थलमा तीन दिनदेखि एसएसपी र केन्द्रीय अनुसन्धान व्युरोका डीएसपी नेतृत्वको टोली अनुसन्धानमा जुटेको छ । तर, घटना कसरी कसले गराएको हो भन्ने प्रमाण प्रहरीले अझै फेला पार्न सकेको छैन ।

बुधबार विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भागरथीको शव बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाको लवलेक सामुदायिक वनमा भेटिएको थियो ।

कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, यौनाङ्गमा रगत र घाँटी निमोठेको अवस्थामा उनको शव फेला परेको थियो ।

पारिवारिक स्रोतका अनुसार किशोरी भट्टका बुवाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । उनका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखकी छोरी गुमाउँदा आमा द्रोपती भट्ट पीडामा छन् । श्रीमान् बितेको शोकमा रहेकी द्रोपती छोरी गुमाउँदा झनै विक्षिप्त छिन् । उनले आफ्नो छोरीको घाँटी निमोठ्ने अपराधीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेकी छन् ।

यस्तै किशोरी भट्टको बलात्कारपछि हत्या भएको विषयमा गम्भीर भएर छानबिन गर्न अधिकारकर्मी र विभिन्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । उनीहरुले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना सम्झाउने खालको यो घटनाका दोषी कुनै पनि हालतमा उम्किन नपाउन् भन्नका लागि नेपाल प्रहरीले तदारुकताका साथ छानबिन गरी दोषी पहिचान गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया