११ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।

हङकङमा कोरोना प्रकोपको चौथो लहर क्रमशः नियन्त्रण उन्मुख हुदै गरेको यथार्थलाई मध्य नजर गर्दै सरकारले यही फेब्रुअरी १८ तारीखबाट जनजीवनसंग संबंधित सम्पूर्ण जनसेवाहरु सुचारु संचालनमा ल्याउने प्रतिबद्धता आज जाहेर गरेकोछ।

लुनार नयाँ वर्ष ( चाइनिज नयाँ वर्ष )पछि सामाजिक दुरि संबंधी नियम पनि खुकुलो पारिने भएको छ। जस अन्तर्गत फेब्रुअरी १८ बाट रेस्टुरेन्टहरुमा बेलुकी १० बजेसम्म बसेर खान पाइनेछ।

खाद्य तथा स्वास्थ मन्त्री सोफिया च्यानले फेब्रुअरी १० तारीख बुधबारको प्रेस ब्रीफिङमा महामारीका कारण बन्द गरिएका केहि स्थलहरु पनि फेब्रुअरी १८ अर्थात लुनार नयाँ वर्ष सातौ दिनबाट खुल्ने बताइन।

जस अन्तर्गत भित्री र बाहिरी खेलकुद स्थल ,व्यायामशालाहरु,ब्युटी र मसाज पार्लर,थिम पार्क, म्युजियम , नाट्य घर, सिनेमा हल,बौलिङ र बिलियर्ड सेन्टर , आइस स्केटिङ स्थल र खेल्कुद आर्केड पर्दछ्न।

रेस्टुरेन्टमा प्रती टेबुल चार जना सम्म बसेर डिनर गर्न पाइनेछ।

अवस्था खुकुलो पारिएता पनि संक्रमण नियन्त्रणका केहि अतिरिक्त नियम भने खुला गरिएका स्थलमा लागू हुनेछ।

सबै स्टाफले प्रत्येक १४ दिनमा एक चोटि कोरोना टेस्ट गर्नु पर्नेछ। सबैले लिभ होम सेफ भन्ने एप प्रयोग गर्नु पर्नेछ अथवा सबैको निजि आवतजावतको विवरण वयवस्थापकले राख्नु पर्दछ।

संक्रमण नियन्त्रणको मापदण्ड पालना नगरेको भएटिएमा उक्त व्यवसाय ३ देखि १४ दिन सम्म बन्द गराइनेछ। र संचालकलाई अधिकतम हङकङ डलर ५०,००० जरिवाना र ६ महिना सजाय हुनेछ ।

फेब्रुअरी १८ तारीखबाट सम्पूर्ण सरकारी सेवाहरु पनि परिचालनमा आउनेछ्न र सार्वजनिक स्थलमा चार जना सम्म भेला हुन सक्ने मामलामा भने सरकारले कार्यकारी परिषदको स्वीकृति पश्चात् सार्वजनिक गर्ने भएको छ।

सरकारले चालेको अनिवार्य कोरोना परिक्षण अभियानबाट करिब २५०,००० टेस्ट सम्पन्न भएको र जसबाट २० वटा पोजिटिभ केस पत्ता लागेको कुरा च्यानले बताइन।

यो अभियानले संक्रमणलाई काबुमा ल्याउन सहयोग गरेको निष्कर्ष निकाल्दै उनले चीनिया नयाँ वर्षको विदाभरी कोरोना भाइरस लकडाउन लागू नगर्ने कुरा बताइन।

तपाईको प्रतिक्रिया