काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएका छन् । उनले राज्यका कुनै पनि निकायले सरकारको दबाव खेप्नुनपर्ने बताउँदै निष्पक्ष भएर काम गर्न निर्देशन दिएका हुन् ।

अख्तियारको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै नबनाउनुपर्नेमा जोड दिए । ‘देशको भ्रष्टाचार नियन्त्रण गर्नमा सहयोग अख्तियारको महत्वपूर्ण अंग हो’, उनले भने, ‘त्यसैले भ्रष्टाचार गर्ने अवसर नै नदिने त्यति गर्दा पनि गरेको पाए पनि कानुनी कारबाही गर्नुपर्छ ।’

अख्तियारले विगतको ३० वर्षमा भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी ढंगले लागेको बताउँदै भने, ‘अख्तियार निष्पक्ष हुनुपर्छ । उसले अनावश्यक रुपमा गलत मनसायका रुपमा कहि हात हाल्नु हुँदैन । तर, अनियमितता भएका ठाउँमा जो कोही भए पनि छाड्नु हुन्न ।’

‘सरकारले सबै राज्यका अंगहरूलाई विनादबाव काम गर्ने अवसर दिन्छ । कसैले टाउकोको माया छ कि छैन भनेर भाषण गर्नेको कुरा सुन्न पर्दैन’, उनले भने, ‘त्यस्ता व्यक्तिले धाक लगाउने, तर्साउने मात्रै हो । बुख्याँचा जस्तो तर्साउनेले केही गर्न सक्दैन ।’

तपाईको प्रतिक्रिया