काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा निवेदकतर्फबाट जवाफी बहस आज सकिएको छ । आइतबार र सोमबार निवेदकको तर्फबाट १८ जना वकिलले जवाफी बहसमा भाग लिएका छन् । अब भोलिदेखि एमिकस क्युरी (अदालतको सहयोगी) मा रहेका पाँचजनाले आफ्नो कुरा राख्नेछन् ।

एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । एमिकस क्युरीको रायपछि सर्वोच्चले फैसला दिनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, शेरबहादुर केसी र रमण श्रेष्ठलगायत ११ जनाले यसअघि सरकार पक्षका वकिलहरूले प्रस्तुत गरेका तर्क र जिज्ञासाको जवाफ दिएका थिए।

एमिकस क्युरीको बहस भोलि नै सक्ने तयारी सर्वोच्चले गरेको छ। बहस भोलि नै सकिए संवैधानिक इजलासले बहस नोट अध्ययन र आन्तरिक तयारी गर्न एक साता समय लिन सक्ने रिट निवेदक दिनेश त्रिपाठी बताउँछन्।

तपाईको प्रतिक्रिया