काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्।

भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको हुँ।’

प्रहरी स्रोतकाअनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत भनेका छन्।

भागरथीका छिमेकी समेत रहेका ती अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। मंगलबार राति नै उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला पुगाइएको प्रहरीले जनाएको छ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अभियुक्तलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

गत माघ २२ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको शव भोलीपल्ट हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो ।

घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनाको अनुुसन्धानमा खटिएका थिए ।

भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए ।

तपाईको प्रतिक्रिया