धरान बसेर लेखन र कला दुवै क्षेत्रमा चालिसको दशकदेखि निरन्तर सक्रिय कवि तथा कलाकार सन्तोष थेबेमाथी कवि राज माङ्लाकले साहित्य लेखन र यो समयमा धरानको साहित्यीक अवस्थामा माथी केन्द्रीत रहेर गरेको कुराकानी ।

सुरुमा नाटक अभिनयमा लाग्नु भयो, सफलता पनि पाउनु भयो । पछिल्लो समय कवितामा केन्द्रित हुनु भएको छ । यसरी रुचि परिवर्तन कसरी भयो ?

– नाटक अभिनयलाई व्यावसायिक बनाउन सकिएन । विवाह परिवारले घेरेपछि घर व्यवहार चलाउनको लागि आय आर्जनको काममा लाग्नुको अर्को विकल्प थिएन । एउटा नाटकको उत्पादन गर्दा कम्तिमा पनि १५, २० दिनको समय लाग्छ । त्यो समय क्रमशः असम्भव हुँदै गयो । कवितालाई नाटक जस्तो लामो समय दिन पर्दैन । एक छोटो बसाइमा लेख्न सकिन्छ । यसरी नाटकमा निभाउनु पर्ने धेरै अभिभाराहरूबाट पन्छिन खोज्दा, रुचि भनौँ या स्वको खोजी गर्दै जाँदा नाटकको बाटो हुँदै कवितामा रमाउन थालेछु ।

नाटक अभिनय सहज हो कि कविता ? कुन विधामा आफुलाई सन्तुष्ट पाउनु हुन्छ ?

– भाव समातेर गहराइतिर या उचाइतिर उडान भर्नु पर्ने भएकोले दुवै विधाको आफ्नै खाले सन्तुष्टिका सिमाहरू छन् । नाटक लामो समयसम्म मन मष्तिकमा राखेर अभिनय गर्नु पर्ने भएकोले त्यसको गहिरो प्रभाव लामो समयसम्म रहन्छ । तर कविताको प्रभाव अवधी नाटकभन्दा छोटो हुन्छ । पात्रताबाट उत्रिएर सहज जीवनमा आउन निकै समय लाग्छ नाटकमा । नाटकबाट पाइने सन्तुष्टि जीवन बाँचे जत्तिकै जिउँदो हुन्छ ।

कलाकार सन्तोष र कवि सन्तोष विच प्रतिस्पर्धा भईरहेको महसुस गर्नु हुन्छ ?

– विविध कारणले रङमञ्चबाट टाढिनु परेपछि अभिनय गर्नु नपाउँदाको हुटहुटी बढ्दै गयो । कहिले ती कुराहरू कविता लेखेर पूर्ति गर्ने कोशिस भयो । अहिले नाटक छोडेर कविता लेखिरहेको छु, तर नाटकमा अभिनय गर्ने अधुरो उत्कण्ठाले बारबार घोचिरहन्छ । त्यति लामो समय अभिनय नै नगरे पछि यो प्रतिस्पर्धामा कुनै बेलाको कलाकारले हार स्वीकार्नु शिवाय अर्को विकल्प देख्दिनँ ।

साहित्यले साँचीनै समाज परिर्वतनमा भुमिका निर्वाह गर्न सक्छ त ? के देख्नु हुन्छ ?

– साहित्य लेखन विविध उद्देश्यबाट भएको हुन्छ । समाज परिवर्तन भनेर धेरै साहित्यहरू पनि लेखिएको छ कतिले फुसर्दको समय उपयोग वा बुद्धि विलास पनि भनेका छन् । रुसी क्रान्तिको बेला मेक्सिम गोर्कीले खेलेको भुमिका बिर्सन सकिन्न । समाज परिवर्तन गर्न भनेर लाग्छु भनेका कति साहित्यकारहरू सत्तापुजक र सत्तापिडित भएका अनेकौ उदाहरणहरू छन् । पक्कै पनि साहित्यले मानिसको दिल र दिमागमा गहिरो प्रभाव पार्ने भएकोले यसको भूमिकालाई शिरोपर गर्नु सकिन्छ । मलाई भने समाज परिवर्तन, साहित्य लेख्नुभन्दा पनि गह्रौं काम हो जस्तो लाग्छ ।

साहित्य कुनै वाद विचारसँग सम्वद्ध हुन्छ कि निष्पक्ष र तटस्थ ?

– तपाईले सोध्नु भएको सबै कुरा साहित्यमा पाइन्छ । के लेख्ने अथवा केलाई पछ्याउने भन्ने मात्र हो, म साहित्यमा यी कुराहरूदेखि व्यावसायिकता, बजार विस्तार र लेखकको जीविकोर्पाजन होस् भन्ने साहित्यको पनि वकालत गर्न मन पराउँछु । साहित्य हुनलाई साहित्यिक तत्व हुनु पर्ने पहिलो सत्य हो । तर पनि साहित्य शुन्यमा सिर्जना गर्न सकिँदैन । साहित्य पाठ हो । त्यो पाठ सामाजिक, आर्थिक, राजनैतिक र मनोवैज्ञानिक परिवेसमा लेखिन्छ । यसको ऐतिहासिक पृष्ठभूमि पनि हुन्छ । यसर्थ पाठको अर्थ निस्किहाल्छ । अर्थ निस्किएपछि सिद्धान्त दर्शनको जन्म भैहाल्छ । यसर्थ साहित्य जस्तो भए पनि मानव चिन्तन बाहिर छैन । त्यो मस्तिष्क भित्रकै कुरा हुन्छ । तर साहित्यका तत्वहरूले प्राविधिक विवेचना खोज्छ । यसर्थ अहिलेसम्म साहित्यलाई विचार्न विभिन्न वाद र सिद्धान्तहरूको जन्म भएको छ । मानिस सामाजिक सम्बन्धहरुको उत्पादन हो । त्यही मानिसहरूबाट साहित्य सिर्जना हुन्छ । यसर्थ वादलाई निषेध गर्नु भनेको अर्को चिन्तन समात्नु हुन्छ । साहित्यको अर्थ नै सिद्धान्त हो । यसर्थ साहित्य चिन्तनबाट निरपेक्ष रहन सकिँदैन । यो सापेक्ष नै हुन्छ ।

पछिल्लो समय पश्चिमा साहित्य (विशेषत अंग्रेजी साहित्य) मा बढी केन्द्रित भएर अध्ययन पनि गर्नु भएको छ । विधा भञ्जन, विधा मिश्रण, केन्द्र भत्काउने, लेखकको मृत्यु र महाआख्यानको अन्त्य आदि अनेक कुरा भन्दै आएको उत्तरआधुनिकतावादको प्रभाव नेपाली साहित्यमा के कस्तो देख्नु हुन्छ ?

– उत्तरआधुनिक चिन्तन पश्चिममा सन ६० को दशकबाट सुरुवात भयो । नेपालमा सन ९० दशकबाट यसको चियोचर्चो भएको हो । तर पनि इन्द्रबहादुर राईको लिला लेखनमा प्रचूर मात्रामा उत्तरआधुनिकताका तत्वहरू पाइन्छ । विधा भञ्जनको दृष्टिकोणले उनको “कठ्पुतलीको मन” कथा नेपाली साहित्यमा सशक्त उदाहरण हो । यस पाठमा उनले गुरुप्रसाद मैनालीको “परालको आगो” कथाको विनिर्माण गरेका छन् । जहाँ नाटक, कविता, निबन्ध र समालोचनाको तत्वहरू पाइन्छन् । जसलाई उनले कृति लेखन भनेका छन् । त्यस्तै सरु भत्तको लेखन, मोहनराज शर्माको नाटक, ध्रुवचन्द्र गौतम, संजिव उप्रेती, कृष्ण धरावासीको उपन्यासहरूमा उत्तरआधुनिकता पाइन्छ । पछिल्लो समय परिचयको माग राखेर नृजातीय संस्कृतिको पहिचान खोजेर लेखिएका कविताहरूमा पनि उत्तरआधुनिकता छ । उत्तरआधुनिकतामा बहुलता, केन्द्र विरुद्ध सिमान्त आवाज, व्यस्त आधुनिक जिवनको क्षण भङ्गुरता आदि कुराहरू हुन्छन् । एकक्षणको बोध अर्को क्षण नहुन सक्छ । यसर्थ लेखकको मृत्यु पाठकको जन्ममा हुन्छ । महाआख्यान औधोगिक समाजको उत्पादन हो । अहिले उत्तरआधुनिक समाज र प्रविधि संस्कृतिको युग छ । यसर्थ २ सय वर्ष अघिको कथ्य अहिले काम नलाग्ने हुन सक्छ । रोलाँ बार्थले लेखकको मृत्यु पाठकले विषयगत पठन गरेपछि हुने बताएका छन् । नेपाली साहित्यमा उत्तरआधुनिकता विभिन्न स्वरुप र भाषामा प्रकट भैरहेको छ । अब हामी समसामयिक विश्वलाई ध्यानमा राखेर उत्तरमानववादमा जानु पर्छ ।

कविता तिर जाऔं । कविता के हो ? के होइन ?

– कवितालाई परिभाषा गर्नु एक बाध्यता हो । हरेक मान्छले हरेक कोणबाट यसको परिभाषा दिँदै आएको छ । कविता विम्व, प्रतीक, मिथक, लय, सुर, तालको समिश्रण भएको एक कलात्मक अभिव्यक्ति हो । जसले शब्दको अभिव्यक्तिलाई ध्यान दिन्छ । निबन्ध, कथा, उपन्यास, नाटक यस मानेमा कविता होइन्न । तर यी विधाहरूमा कविता चेत र तत्वचाहिँ कहीँ न कहीँ लुकेर बसेको हुन्छ नै । कविता भाषाको चमत्कार हो । कविता विम्व र प्रतीकहरुको चिन्हहरुबाट व्यक्त गरिन्छ । कविता दर्शनको काव्यमय स्वरुप हो र ध्यानस्थ आँखाको सिर्जना मात्रै उत्कृष्ट कविता हुन्छ । कविता प्रर्चा पोष्टर र राजनैतिक वक्तव्य होइन । कविता भाषाको उत्कृष्ट रुप हो, जसलाई हामी प्रकृति, जीवन र समाजको असाधारण क्षणलाई शब्दद्वारा समातेर भन्छौँ । कवितामा नयाँ अभिव्यक्ति र शैली हुनुपर्छ । नत्र भने पहिले नै भनेका कुरा भनेर हामी दोहोयाउँछौँ। यसर्थ कविता हुनलाई कविता तत्वको प्रचुर प्रयोग र कविको गहन दृष्टिकोण समावेश हुनु पर्छ ।

तपाईको “फालेलुङ र कावेली बजार” कविता कृतिलाई पहिचानलाई प्रतिनिधित्व गर्ने कृतिको रुपमा ब्याख्या र विश्लेषण भयो । पहिचान साहित्य के हो जस्तो लाग्छ ?

– सत्तासिनहरूको मात्र होइन, सामाजिक सांस्कृतिक, राजनैतिक तवरले पिछडिएका मानिसहरूको पनि साहित्य लेखिनु पर्छ । समकालीन समाज उनीहरूले पनि बाँचेका हुन् । उनीहरुको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यता हो । नेपाल विविध जात जाति, भाषा, संस्कृतिको देश हो, तर इतिहासमा एउटै भाषा एउटै भेष जस्ता सत्ताधारी नीति एवम् दमनका कारणले पहिचानको मुद्धा ओझेलमा थियो । अहिले यो कुरा विस्तारै उठिरहेको छ ।

तपाईका कवितामा सवाल्टर्न विषय पनि भेटिन्छ । “साग बेच्ने केटी” कविताको निकै चर्चा भयो । कविहरूले सवाल्टर्न नै किन लेख्ने ?

– कविहरू स्रष्टा एवम् युगद्रष्टा पनि भएकोले उनीहरू समाजका आममान्छेहरु भन्दा चेतनाको स्तरमा माथि हुन्छन् । त्यसैले उनीहरु समाजका विविध र नकरात्मक कुराहरुको भन्डाफोर गरेर सभ्य समाजको निर्माणको लागि लडिरहेका हुन्छन् । ‘साग बेच्ने केटी’ सीमान्तकृत गरिब महिला शोषणको मुद्दा बोकेको एक सवाल्टर्न कविता हो । सवाल्टर्न नलेखे, समाज मुठ्ठी भर मान्छेहरूको खेलौना हुन्छन् ।

धरानमा रहेर साहित्य साधना गरि रहनु भएको छ । साहित्यमा हिजोको धरान र आजको धरानमा के अन्तर वा समानता छ ?

– हिजो अघिल्लो पुस्ता र नयाँ पुस्ताबीच सुमधुर समन्वय र संवाद थियो । आज गुटबन्दी र असहयोग ज्यादा बढेको छ । कामभन्दा धेरै महत्वाकांक्षा बढेको छ । पठन संस्कृति धिमा छ । आकर्षक साहित्यिक गतिविधिहरू न्यून छन् । अघिल्लो पुस्ताका साहित्यकारहरू प्रायसः साहित्यमा भन्दा अन्य कुराहरुमा व्यस्त छन् । साहित्यकारहरुको आर्थिक असुरक्षा र त्यसले सिर्जना गरेका अप्ठेराहरू भने हिजो र आज पनि त्यस्तै र पिडादायी छन् । कामना गरौँ, कम्तिमा आउँदै गरेको भविष्य त्यस्तो नहोस् !

तपाईको प्रतिक्रिया