नेपाली साहित्यमा राजेन्द्र शलभको नामले प्रसिद्व उहाँ मनको कवि र हृदयले कथाकार हुनुहुन्छ। कानूनको बिध्यार्थी तर त्रिभुवन विश्वविद्यालयबाट सहप्राध्यापकको रूपमा अवकाश लिएपछि रंगमञ्च, रेडियो, टेलिभिजन र सिनेमा — लेखन, निर्देशन, निर्माण र होस्टिंगमा सकृय हुनुहुन्छ । उहाँको लेखनले मान्छेको अन्तरआत्माको आवाजलाई बोलेको हुन्छ जो हरेक वाद भन्दा भिन्न र फरक छ , कवितामा भावना बुन्न माहिर उहाँका कविताहरु नेपाली कविताहरु बीच आफ्नो चिनारी लिएर उभिन सफल छन् । कविता माथि भिडियो र नाटकीकरण गर्नु उहाँको अर्को शौख हो । प्रस्तुत छ साताको तीन कविता ।
सोध्न मन थियो
सोध्न मन थियो आमालाई
कति बेला उहाँ
आफ्नो बारेमा सोच्नु हुन्छ ?
बिहा गरेर आएपछि
आजसम्म
खै ! कति भागमा बाँड्नु भयो आफूलाई
श्रीमती, बुहारी, देउरानी, काकी
अनि, कुन्नी कति नाताहरूमा
विभाजित हुनुभयो ।
र, सोची रहनु भयो
ती नाताहरूको खुशी मात्र !
आमा बनेपछि त
झन् उनको आफ्नो कुनै
छुट्टै ईच्छा र चाहना नै भएन
सधैँ अरू कै खुशी बाँच्दा बाँच्दा
साँच्ची कहिले पनि उनलाई
आफ्नो बारेमा सोच्न
फुरसद भएन कि मन नै लागेन ?
अरूका लागि सबैथोक गर्ने
गरेर कहिल्यै नथाक्ने
उनलाई कहिले पनि
आफ्नालागि केही गर्न मन लागेन ?
यी सबै कुरा
एक्लै बसेर सोध्न मन थियो ।
तर आफ्ना बारेमा सोच्दा-सोच्दै
आमालाई सोध्ने फुरसद नै भएन
अहिले फुरसदमा सोध्नलाई
आमा नै हुनुहुन्न ।
आह्वान
आऊ, स्पर्श गर
मेरा प्रत्येक अंगहरूलाई
मलाई निथ्रुक्कै भिजाऊ
धप्धपी बली रहेको मेरो जीऊलाई
तिम्रो अंगालोमा बेरेर
मेरा ओठहरूलाई चूम
मेरा प्रत्येक गोप्य अंगहरूलाई
तिम्रो चुम्बनले शितलता प्रदान गर
म भित्र-भित्रसम्म प्रवाहित होऊ तिमी
खडेरिएको मेरो शरीरमा
तिम्रो रसको लेपन लगाऊ
म अंकुरित हुन चाहन्छु
म उन्मत्त भएर फैलिन चाहन्छु
म जन्माउन चाहन्छु
सृष्टिकर्ता हूंँ म, सृष्टि मै रमाउंँछु
आऊ, मलाई सिंचित गर
तिम्रो आगमन नै
मेरो सिर्जनाको आधार हो ।
आऊ वर्षा ! वर्ष
अंकुरित बनाऊ मलाई
म धरती हूंँ
म सिर्जना मै रमाउंँछु ।
तिमी
जब जब तिमीलाई सम्झेर
म कविता लेख्छु
अरूले सोध्छन् – को हौ तिमी ?
कसरी भनौं म –
बिहानै उठ्दा जुन मुस्कान
मेरा ओठमा फैलिन्छ
या दिक्क भएर म
एक्लै हिंडीरहेको बेला
जुन कुराले मलाई ढाडस दिन्छ
या फेरि,
प्रतिकूल परिस्थितिमा पनि
जुन कुराले मलाई
अघि बढ्ने हौसला दिन्छ
त्यही अदृश्य शक्ति हौ- तिमी ।