हङकङमा बसेर नेपाली साहित्य लेखीरहेकी जुनू राना हङकङ साहित्यिक साझा शृङ्खलाको संयोजकको रुपमा क्रियाशिल हुनुहुन्छ । हाल “रातो नदी” कविता कृतिलाई लिएर चर्चामा रहेकी राना कविता, निबन्ध, नियात्रा, संस्मरण तथा लेखहरूमा कलम चलाउनुहुन्छ। प्रस्तुत छ साताको पाच प्रश्न ।
नेपाली साहित्यमा तपाईंको प्रवेश कसरी भयो र त्यो बेलाको समय कस्तो थियो विशेष महिलाहरुको निम्ति ?
बिबिध सामाजिक र राजनैतिक बिषयले छोए पछि केहि लेख्न थालेँ तर सुरु सुरुमा लेखिका नै बन्छु भन्ने उद्देश्य लिएर लेख्न सुरु गरेको थिइन । तर पछि आफू बाँचिरहेको समाजलाई बुझ्दै जाँदा हाम्रो समाजमा महिलाहरूको अवस्था हिजो पनि र आज पर्यन्त नाजुक लाग्न थालेपछि मैले आफु महिला हुनुको उत्तरदायी भुमिका निभाउनु पर्छ भन्ने लाग्यो तब सक्रियरुपले लेख्न थालें । मेरो लेखन पनि मूलत महिला अस्मिताकै पैरबी हो ।
तपाईलाई मन पर्ने लेखक को हो र किन ?
पुराना लेखकहरु थुप्रै हुनुहुन्छ । वहाँहरुको लेखन शैली र लेखिएका विषय मन पर्छ । पुराना लेखकहरू मध्ये लैनसिंह वाङदेल , भुपी शेरचन, हरिभक्त कटुवाल, पारिजात र नयाँ लेखकहरूमा सुसान्त गुरुङ , राजू स्याङतान, वसन्त बस्नेत , कुमारी लामा, सरिता तिवारी र सिमा आभाष लगायतका लेखक लेखिकाहरू हुन् ।
नेपाली साहित्यको अवस्था र सुधार गर्नुपर्ने पक्षहरु के के छन् ?
नेपाली साहित्यको अवस्था पुर्णरुपमा संतोषजनक अवस्थामा छ भन्नेमा हामी छैनौं । नेपाली साहित्यमा पनि वर्गीकरण छ, जसमा केन्द्रीयता, लैंगिक, जातिगत, क्षेत्रीय विभाजन प्रष्ट देखिन्छ । आफू आवद्व समुहको साहित्यकारलाई बढाईचढाई गर्ने तर अर्को कुनै साहित्यकार छ भने उसको क्षमता र लेखन सराहनाको लायक छ भनेपनि मौन बसिदिने साहित्यकारको संख्या बढिरहेको अवस्था छ जुन अवस्थाले नेपाली साहित्य क्षेत्रलाई अझ विभाजित बनाउने निस्चित छ । साहित्यकार समतामुलक र निरपेक्ष हुनुपर्छ भन्ने वोधले जित्यो भने नेपाली साहित्य र साहित्यकारको उन्नति हुनेमा दुईमत नहोला ।
नेपाली साहित्यमा महिला लेखकहरुको अवस्था के छ ?
मेरो बिचारमा नेपाली महिला लेखिकाहरूको अबस्था जटिल र चुनौतीपूर्ण छ । उनिहरु पुर्णतया लेखनमा मात्र केन्द्रित बनेर लेख्न सक्ने अवसर कमै लेखिकाहरुको मात्र छ भन्न सकिन्छ । र उनिहरुले लेख्ने बिषयहरुले पनि जटिल एवं सहज भन्ने कुराको निमित्त महत्वपूर्ण भुमिका खेल्छ । सदियौंदेखि पुरुष प्रधान रहेको समाजमा गृहिणीको भुमिकाबाट निस्केर साविकको समाजलाई चुनौती दिन कोसिस गर्ने लेखिकाहरु हरेक कोणबाट एक्लाईन सक्ने प्रवल चुनौतीको सामना गर्दै महिला लेखिकाहरुले लेखिरहेका छन् । तसर्थ नेपाली महिलाहरु थुप्रै चुनौतीबिच लेखिरहेका छन र यहि पक्ष महत्वपूर्ण हो ।
पछिल्लो समय तपाईं के मा व्यस्त हुनुहुन्छ ?
रातो नदी कविता सङ्ग्रह पछि अहिले दोश्रो कृति लाहुरेनी सौन्दर्यको प्रकाशन तयारीमा ब्यस्त छु र जुन कृतिमा मैले भिन्न भिन्न समयमा र भिन्दाभिन्दै अनलाइनमा छापिएका मेरा लेख रचनाहरु समेटेर पुस्तकको रुप दिएको छु । र हाल हङकङ साहित्यिक साझा शृङ्खलामा आवद्ध रहेर संयोजकको भुमिकामा छु ।