काठमाडौं । बृहत नागरिक आन्दोलनले जनताका अधिकार रक्षाबाटै लोकतन्त्र सुरक्षित रहने अवधारणासहितको घोषणापत्र जारी गरेको छ । शुक्रबार काठमाडौंमा टुँडिखेल मार्च पास गर्दै नागरिक आन्दोलनले घोषणापत्र जारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्माओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो प्रकरणविरुद्ध संघर्षका कार्यक्रम गर्दै आएको नागरिक आन्दोलनले जारी गरेको घोषणापत्रमा आदिवासी, जनजाती, महिला, दलित, उत्पीडित समूहको अधिकार स्थापनाबाटै लोकतन्त्र बलियो बन्ने उल्लेख गरिएको छ ।

नागरिक आन्दोलनका तर्फबाट जेवी विश्वकर्माले बाचन गरेर सुनाएको नागरिक आन्दोलनको घोषणापत्रमा संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको र ओली नेतृत्वको सरकारले जनताको मौलिक हकमा, संघीयताको आधारभूत सिद्धान्तमा, समानुपातिक समावेशीको अभ्यासमा, धार्मिक अधिकारको मर्ममा, राज्य संयन्त्रका अवयवहरुमा, संवैधानिक निकायहरुमा, सर्वसाधारणको स्वास्थ्य र शिक्षामा, किसान र श्रमिकका जीविकोपार्जनमा, हुँदाहुँदै जनताको ठूलो बलिदानी, संघर्ष र आन्दोलनहरुबाट प्राप्त व्यवस्थामा नै सर्वसत्तावादी प्रहार गरेको उल्लेख छ ।

जसका कारण मुलुकलाई अन्यौल, मुठभेडतर्फ धकेलेको र नेपाली समाज र राज्यलाई लोकतान्त्रिक बनाउने तथा सामाजिक न्याय स्थापित गर्ने संघर्षमा नागरिक आन्दोलनलाई बृहत्, सशक्त र सफल बनाउन सम्पूर्ण नागरिकहरुले हातेमालो गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिइएको छ ।

घोषणापत्रमा शासकीय पद्दतिमा आमूल परिवर्तन भएपनि संघीयताले आदिवासी–जनजाति आन्दोलन मधेसी, मुस्लिम र थारुका संघर्षलाई कर्णालीसहित भौगोलिक असमानतालाई अपेक्षाकृत सम्बोधन नगरेको उल्लेख छ । संघीयताका नाममा हावी भएको एकात्मक चिन्तन र केन्द्रीकृत शासकीय सोचलाई चिर्न सँगै लडाई लड्न घोषणापत्रमा भनिएको छ ।

नागरिक आन्दोलनको विज्ञप्तिमा भनिएको छ–‘कोरोना विश्वव्याधीको विषम परिस्थितिमा समेत जनताका आधारभूत सरोकारबाट राजनीतिक क्रियाकलापहरु विमुख रहे । दलहरु आन्तरिक कलह र शक्ति मोहमा फसे । संसदीय व्यवस्था, संवैधानिक अभ्यास र लोकतान्त्रिक मूल्य मान्यता संकटमा पारिए । यस्तो गतिरोधले नागरिक स्वतन्त्रता र सामाजिक न्यायको विपक्षमा निरंकुशतालाई बलियो बनाउने पक्का छ ।

त्यसैले आजको संकटग्रस्त राजनीतिलाई अग्रगामी दिशा दिने ऐतिहासिक कार्यभार अहिले नागरिकहरुको काँधमा आएको छ । यो कार्यभार पूरा गर्न आम जनताले समग्र राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित गर्नु अनिवार्य छ । नेपाली समाज र राज्यलाई लोकतान्त्रिक बनाउने तथा सामाजिक न्याय स्थापित गर्ने संघर्षमा नागरिक आन्दोलनलाई बृहत्, सशक्त र सफल बनाउन सम्पूर्ण नागरिकहरुले हातेमालो गरौँ ।’

 

तपाईको प्रतिक्रिया